
जलेश्वर । महोत्तरीको जलेश्वर नगरपालिका– २ मालिवडाबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको १५ लाखभन्दा बढी भारतीय रूपैयाँसहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
नेपालमा प्रतिबन्धित रहेको ५ सय दरका भारतीय नोट पनि सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल गुल्म जलेश्वरबाट खटिएको इन्सपेक्टर गान्धरकुमार चौलागाईं नेतृत्वको टोलीले मालिवडा बसपार्क क्षेत्रबाट अवैध रकमसहित २ जनालाई पक्राउ गरेको हो ।
भारतबाट नेपाल प्रवेश गरेको बीआर ३१ एके ८८०७ नम्बरको अल्टो कारलाई आइतबार सशस्त्रले नियन्त्रणमा लिएर चेकजाँच गरेको थियो । कारको डिकीबाट अवैध भारतीय रूपैयाँ बरामद भएसँगै सशस्त्रले भारत हाजिपुरका ३४ वर्षीय ललन कुमार र २६ वर्षीय मोहन कुमारलाई पक्राउ गरेको छ । कारबाट १५ लाख २४ हजार ९ सय भारतीय रूपैयाँ बरामद भएको सशस्त्रले जनाएको छ ।
सशस्त्रका अनुसार कारभित्र रहेको हरियो झोलाबाट ५ सय, २ सय र १ सय दरका नोट बरामद भएका छन् । स्रोत नखुलेको अवैध भारतीय रकमसहित पक्राउ परेका २ जना र कारलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको महोत्तरीका सशस्त्र प्रहरी प्रमुख एसपी विनोद केसीले जानकारी दिए ।



















