
हाम्रो देशमा बालबालिकाका केही व्यवहारलाई अभिभावक, विद्यालय र शिक्षकबाट समेत समस्याको रुपमा लिने गरिएको र त्यसको प्रतिक्रिया स्वरुप प्रभुत्वशाली अभ्यासको रुपमा फरक फरक डिग्रीको शारीरिक दण्ड दिने गरेको पाइन्छ ।
बालबालिकाहरू झण्डै ३ वर्षसम्म घरमा नै रहने र सो समयमा पूर्ण रुपमा अभिभावकको संरक्षणमा हुने गरेकोले उनीहरूका व्यवहारलाई समस्याको रुपमा लिइदैन तर जब बालबालिका बाहिरी समाजसँगकाे सम्पर्कमा जान्छन्, उनीहरूले फरक खालका व्यवहारहरू देख्छन् र सिक्छन् जुन पारिवारिक वातावरणमा समस्याको रुपमा लिइन्छ । विद्यालय जान थालेपछि व्यवहारहरू लाई त झन् घर र विद्यालय दुवैसँग अलग गर्न नमिल्ने साझा समस्याको रुपमा लिइन्छ । यी समस्याहरू बालअधिकारको दृष्टिबाट महत्वपूर्ण हुन्छन् । यस्ता अवस्थाहरू जुन समस्याको रुपमा लिने गरिन्छ, निम्नानुसार रहेका छन् ।
(क) समयको न्यून परिपालना तथा सरसफाइमा अनियमितता, जस्तैः विद्यालय ढिलो आउनु, बिना पोशाक विद्यालय आउनु ।
(ख) शैक्षिक क्रियाकलापसँग सम्बन्धित, जस्तैः अपूर्ण गृहकार्य, आशा गरिएको भन्दा तल्लो स्तरको शैक्षिक प्रगति, बिना पुस्तक विद्यालय आउनु ।
(ग) विद्यालयले आशा गरे अनुरूपको व्यवहार कक्षाकोठामा प्रदर्शन नहुनुः कक्षामा ध्यान नदिनु, कक्षामा गफ गर्नु, हल्ला गर्नु ।
(घ) हैरानी दिने खालको काम गर्नुः कक्षामा अन्य विद्यार्थीलाई व्याकुल पार्नु, चोर्नु, ढाँट्नु ।
(ङ) आक्रामक व्यवहार जसले अरुलाई चोट वा आघात पुर्याउछन्, जस्तै अरुलाई धमास दिने, साथीहरूलाई हमला गर्ने, चोरी गर्ने ( अरुको अधिकारको हनन ), व्यक्तिगत वा सार्वजनिक सम्पतको जानाजान तोडफोड गर्नु आदि ।
शिक्षक र अभिभावक मित्रहरू तपाई हामीले दिन दिनै यस्ता व्यवहारहरूको सामना गरिरहेका हुनसक्छौ । बालबालिकालाई सही मार्गमा डाेहोर्याउन दण्ड सजाय बाहेकका उपायहरूको खोजीमा हुनुहुन्छ होला । यस्ता व्यवहारहरूको सामना गर्न विद्यालय, सम्बन्धित शिक्षक तथा अभिभावक सबैको महत्वपूर्ण भूमिका रहन्छ । यस्ता समस्याहरूको समाधानको लागि सामाजिक मनोपरामर्शको माध्यमबाट सकारात्मक बानी व्यहोराको विकास गर्न र स्व-अनुशासन सिक्न प्रेरित गर्नु उत्तम हुन्छ ।
विद्यालयले मनोपरामर्शदाताको व्यवस्था गर्ने र मनोपरामर्शदातामा पनि बालबालिकालाई विश्वासमा लिन सक्ने गुण वा क्षमता हुनुपर्छ । मनोपरामर्शदाता बालबालिकाको समस्या पहिचानको लागि निरन्तर बालबालिका, अभिभाबक र शिक्षक समेतको सम्पर्कमा रहिरहनु पर्छ । मनोपरामर्शदाताले समय समयमा र फरक फरक कक्षामा अविभावक र शिक्षकको अनुपस्थितिमा कार्यशाला सञ्चालन गर्नुपर्छ । विद्यालयले बाहिरका समेत मनोपरामर्शदातालाई बेलाबेलामा बालबालिकासँग भेट गराउने र कार्यशाला सञ्चालन गर्ने गर्नुपर्छ ।
हामीले हाम्रा बालबालिकालाई आफुले त शारीरिक दण्ड दिन सक्दैनौ, हामीलाई हाम्रा बालबालिकालाई बिभिन्न बहानामा शारीरिक दण्ड दिन स्वीकृती दिने अधिकार पनि छैन । हामीले त केवल मानव अधिकार मैत्री र बाल मैत्री वातावरणको सिर्जना गर्न सहयोग गर्ने मात्र हो । देख्दा सामान्य लागे पनि प्रभाबकारी रुपमा कार्यान्वयन गर्ने हो भने तल उल्लेखित विकल्पहरु बालमैत्री र मानव अधिकार मैत्री शारीरिक दण्डका भरपर्दा विकल्पहरु हुन सक्छन् ।
• बालबालिकाले सुधार गरेका कुरालाई प्रशंसा गर्दै मौखिक रुपमा महत्व दिने ।
• हरेक बालबालिकाको सकारात्मक र सम्मानयोग्य व्यवहार प्रति अभिरुचि राख्ने ।
• सकारात्मक व्यवहारको प्रवर्धन र हौसला प्रदान गर्ने बिभिन्न तरीकाहरु अबलम्बन गर्ने ।
• एउटा बच्चाको उपलब्धिलाई अर्को बच्चासँग कहिल्यै तुलना नगर्ने तर बच्चाको पुर्व उपलब्धीलाई भने निर्देश गर्ने ।
• कुनै विषयमा आफूले कुनै प्रतिक्रिया दिनु भन्दा पहिले बालबालिकालाई नै प्रस्ट पार्ने मौका दिने ।
• कुनै पनि कुरामा सचेत गराउनु पुर्व सावधानीका साथ सञ्च्याउने मौका दिने।
• आक्रामक वा अरुलाई चोट पु-याउने कार्यलाई सावधानी पुर्वक अरु बालबालिकाको सुरक्षा गर्दै सक्रियतापुर्वक उनीहरुको कुरा सुन्दै शान्त भएर सो अवस्थाको सामना गर्ने ।
• मनोपरामर्शदाता तथा अन्य परामर्शदाताको सहयोगमा गलत धारणा परिवर्तन गर्न प्रयास गर्ने ।
• उत्तरदायित्व, इमानदारिता, रुची जस्ता मुल्यवान व्यवहार प्रदर्शन गर्दा बालबालिकालाई पुरस्कृत गर्ने ।
• कुनै काम पुरा गर्न पूर्ण रुपमा असमर्थ भएको भए पनि राम्रा प्रयासहरुको भने पहिचान गर्ने ।
• बालबालिकाले जिम्मा लिएको काम समयमा नै पुरा नगरे पनि थप समय उपलव्ध गराउने तथा थप सुचना वा जानकारी दिने ।
• बालबालिकाको आशातित व्यवहार र परिणामको बारेमा बालबालिकासँग नै सहमति गर्ने ।
• मार्गनिर्देश र नियमहरु बनाउदा बालबालिकाको सहमतिमा बनाउने ।
बालबालिकामा सकारात्मक सोचको विकास गर्दै दैनिक केही समय बालबालिकासँग खर्चने गर्नुपर्छ । बालबालिकालाई बच्चा र केही थाहा नभएका जस्ता नठानी आफू जस्तै परिपक्व ठान्ने र बालमनोविज्ञान बुझेर व्यवहार गरेमा पनि बाल विज्याइ र दण्ड दिनुपर्ने अवस्थाको न्युनीकरण हुन्छ । तसर्थ निम्नानुसारको उपायद्वारा पनि बालबालिकालाइ प्रभावमा पार्न सकिन्छ र शारीरिक दण्ड दिनुपर्ने स्थितिको सिर्जना हुदैन ।
• तपाईले के आशा गर्नुभएको हो ? स्पष्ट निर्देशन दिनुहोस्, जस्तै राम्रो बन ! को सट्टा शान्त होउ !,
• तिमि ….. गर ! भन्ने कथनको सट्टा म…. चाहन्छु ! को प्रयोग गर्नुहोस् ।
• नकारात्मक वा न…. आदेशहरु (नगर, नखाउ, नचल, ननाँच आदि) को प्रयोग नगर्नुहोस् ।
• बालबालिकालाई आफ्ना स्पष्ट सिमा आफै तोक्न स्वतन्त्र छोडिदिनुहोस् ।
• मजबुत वा पक्का र शान्त स्वभाव प्रदर्शन गर्नुहोस् – रिसाएको जस्तो स्वर/लयको प्रयोग नगर्नुहोस्।
• कुनै पनि समयमा नकारात्मक अर्थ लाग्ने तारा, चिन्ह वा अङ्क प्वाइन्टको प्रयोग उनीहरुको कपीमा नदिनुहोस् ।
• बालबालिकाले दुर्व्यवहार दोहो-याइरहेमा १०-१५ मिनेटको समय लिएर/दिएर भए पनि सहमतिमा पुग्ने प्रयास गर्नुहोस् ।
• विद्धार्थी र शिक्षकको सम्बन्ध सुमधुर बनाउदै बालबालिकालाई केन्द्रबिन्दुमा राखी बालमैत्रि वातावरणको सिर्जना गर्नुहोस् ।
बालबालिका तपाईको सहयोग चाहन्छन् दण्ड होईन
बालबालिकाको स्वभाव वातावरणीय बहुगुणी तत्त्वहरू जस्तै अबिभावकिय व्यवहार, घर र विद्यालयको अनुशासनको पद्धति, घरायसी तनाव ( घरेलु हिंसा, वैवाहिक असङ्गति ) सँग अन्तरक्रिया गर्दछन् ।
धेरै बालबालिकाहरू विद्यालयको चाहना अनुसारको शैक्षिक, सामाजिक र अन्तर वैयक्तिक सम्बन्धमा प्रगति गर्न तयार भएका हुदैनन् । त्यसैले बालबालिकामा निहित व्यवहारहरू समयमा नै बुझ्ने प्रयास गरिएन भने भावनात्मक समस्याको रुपमा असभ्य व्यवहारमा समेत परिणत हुन सक्छ । भिन्न भिन्न परिवेशबाट आएका बालबालिकालाई मनोसामाजिक सीपहरू सिक्ने अवसर पनि प्रदान गर्नु पर्छ । यसरी बालबालिकाका समस्यायुक्त व्यवहारलाई वयस्क मानिसले बिभिन्न मनो-सामाजिक र जैविक तत्त्वहरूको अन्तरक्रियाका उपजको रुपमा हेर्ने गरियो भने बालबालिका सहयोग चाहन्छन्, दण्ड होइन भन्ने बुझ्न सजिलो हुन्छ ।
शिक्षाको अधिकारका बाधा र जेनेरल कम्मेन्ट १ (२००१)
विद्यालय जान थालेको लामो समयसम्म पनि निरक्षर नै रहने र कुनै योग्यता हासिल नगरी विद्यालय छोड्नुपर्ने जस्ता समस्याहरू रहेका छन् त्यसै कारण बालबालिका निरन्तर पढाइ लेखाइमा सहभागि भइरहन नसक्ने भइ विद्यालय जान मन गर्दैनन् । तर अभिभावकले दण्ड जस्तो अस्त्रको प्रयोग गर्दछन् जुन शिक्षा प्राप्तिको लागि बाधा बन्न जान्छ । संयुक्त राष्ट्र संघको बाल अधिकार समितिले बालबालिकालाई शिक्षा प्राप्तिका लागि निम्नानुसार बाधक तत्त्वप्रति ध्यान दिएको छः शुल्क तथा सम्बन्धित खर्च, पारिवारिक गरिब र अप्रयाप्त सामाजिक सुरक्षा योजना ( स्वास्थ्य बिमा समेत ), पर्याप्त सरसफाइ लगायत सुविधाको अभाब , निरन्तर क्रुर , अमानवीय तथा अपमानजनक व्यवहार, विद्यालय भित्र हुने यौन दुर्व्यवहार ( विद्यार्थीका र शिक्षकका समेत) निर्मूल गर्ने प्रभावकारी उपायको कमी, बालशिक्षणका निस्प्रभावी तरिकाहरू, विद्यार्थीलाई सिकाइप्रति उत्प्रेरित गर्न नसक्नु र कमजोर बालबालिकालाई बलियाले तर्साउने, धम्क्याउने जस्ता क्रियाकलापहरू ।
यसका अतिरिक्त प्राय विद्यालयहरूले पनि बालबालिकाको काम र परिवारको हेरचाह गर्ने दायित्वको आवश्यकतालाई शिक्षासँग तादाम्यता मिलाउने गरि लचकता नअपनाएको पाइन्छ । शिक्षाको मुख्य उद्देश्य नै सामाजिकिकरण हो सो बिना शिक्षासँग सम्बद्ध लगानी नै खेर जान्छ । बाल अधिकार समितिले जेनेरल कम्मेन्ट न. १ (२००१) मार्फत शिक्षाको लक्ष्य प्रति आफ्नो ध्यान पु-याउदै बाल केन्द्रित शिक्षण बिधि, बाल मैत्रि वातावरण, बाल शसक्तिकरणमा जोड दिदै सहभागितामुलक र सहयोगात्मक शिक्षण पद्धतीको महत्वमा अडान लिएको छ जुन कुराको प्रयोग कक्षा शिक्षणमा लागु गरेमा शारीरिक दण्ड दिनु पर्ने अवस्था नै आँउदैन ।
विद्यालय तहको पाठ्यक्रम सम्बन्धित निकायले निर्माणको समयमा नै सक्रिय सहभागिता हुने, आधारभूत स्वतन्त्रता र मानव अधिकारको सम्मान गर्ने, नागरिक भएकोमा गौरब गर्ने र स्वतन्त्र समाजमा उत्तरदायि भएर भूमिका निर्वाह गर्ने जिम्मेवार व्यक्तिको तयारी गर्ने कुराको मध्यनजर गरि विकास गर्नुपर्ने कुरामा समेत जोड दिएको पाइन्छ । त्यसैगरी बालबालिकाको सर्बाङ्गिण विकास गर्न र विद्यालयमा टिकाई राख्न, सिक्ने क्षमतामा विचार पु-याउन, सहपाठीसँग काम गर्न उत्प्रेरीत र सशक्तिकरण गर्ने, अन्वेषणात्मक तथा प्रयोगात्मक शिक्षण सिकाईमा ध्यान दिने खालको शिक्षण सिकाई वातावरणको तय गर्न सम्बन्धित राष्ट्रलाई अनुरोध गरेको छ ।
त्यसरी नै बालबालिकाको आरामको अधिकार, फुर्सदको अधिकार, खेलकुद, मनोरञ्जन र अन्य कला कौशल पर्दर्शन गर्ने क्रियाकलापहरू उनीहरुको परिचयको खोजी, सस्कृतिको अन्वेषण, नयाँ कला सम्बन्धी सिप प्रदर्शन र सम्बन्धको सिर्जना गर्नका लागि आधारभूत कुराहरु हुन् । हरेक बालबालिकाले आफ्नो परिचय स्थापित गर्न चाहन्छ भन्ने कुरालाई शिक्षक र अभिभावकले केन्द्रमा राख्नुपर्ने हुन्छ । फुर्सद, मनोरञ्जन र कलाले बालबालिकालाई अतुलनिय बोध गराउँछ जुन कुरा मानविय सम्मानको लागि, चरम व्यक्तित्व विकास, वाक स्वतन्त्रता, र सहभागिता र गोप्यताको लागि समेत नभई नहुने हुन्छ ।
उपसंहार
बालबालिकालाई दिइने शारीरिक दण्ड गैर कानूनी हो । बालबालिकाको शारीरिक मानसिक विकास, परिपक्वता, सामाजिकिकरण, आशातित शैक्षिक प्रगति हुदै सर्वाङ्गिण विकासको लागि शारीरिक दण्ड बाधक छ । तसर्थ हामीले दण्ड दिनु पर्ने अवस्थाको सिर्जना नै नगर्नु र अवस्था आईपरेमा पनि त्यसलाई अन्य कुरातिर मोडि मनोरञ्जन गराउनु, रमाइलो पार्नु वा सिर्जनात्मक क्रियाकलापतिर लैजानु बाल अधिकारको दृष्टिकोणबाट समेत लाभदायि हुन्छ ।
राष्ट्रिय मानव अधिकार आयाेगका सहसचिव नवराज सापकोटाकाे लेख शिक्षक मासिकबाट साभार गरिएकाे हाे । स .



















