
विराटनगर । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड विराटनगरको निर्वाचन सहितको २६ औँ साधारणसभा शनिबार विराटनगरमा सम्पन्न भएको छ ।
सहकारीका अध्यक्ष जीवन काफ्लेको अध्यक्षता तथा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाको प्रमुख आतिथ्यतामा भएको साधारणसभाले अध्यक्षद्धारा प्रस्तुत सहकारीको वार्षिक प्रतिवेदनलाई पारित गरेको छ । प्रतिवेदनमा उल्लेख भएअनुसार सहकारीले ४९ करोड ६८ लाख ९३ हजार ६ सय ३६ रुपैयाँ ५७ पैसाको कारोबार गरेको छ ।
सहकारीको शेयर रकम ६ करोड ६९ लाख ४२ हजार ८ सय रुपैयाँ रहेको छ । बचत ३४ करोड ९४ लाख ६८ हजार ३ सय ७० रुपैयाँ ९४ पैसा छ ।
सहकारीको जगेडा कोषमा १ करोड ९१ लख ५५ हजार १ सय ५९ रुपैयाँ ८ पैसा पुगेको छ । सहकारीको कूल कोष ४ करोड ८७ लाख ८९ हजार १८ रुपैयाँ ४२ पैसा रहेको छ ।
सहकारीले ४ करोड ८२ लाख ४ हजार ५ सय ८६ रुपैयाँ ५६ पैसा आम्दानी गरेकोमा ४ करोड १८ लाख ५२ हजार ७ सय ४१ रुपैयाँ ९३ पैसा खर्च गरेर ६३ लाख ५१ हजार ८ सय ४४ रुपैयाँ ६३ पैसा खुद नाफा कमाएको छ । सहकारीमा १ हजार ८ सय ४७ जना शेयर सदस्य रहेका छन् ।
विभिन्न पुरस्कार वितरण
साधारणसभाको अवसरमा सहकारीले विभिन्न विधाका पुरस्कारहरु पनि वितरण गरेको थियो । सहकारीले किशोरी खतिवडा स्मृति पुरस्कार अक्षयकोषबाट साहित्यकार भवानी खतिवडालाई सम्मान गरेको छ ।
त्यसैगरी, स्व. दधिराम दाहाल स्मृति अक्षयकोषबाट कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरलाई प्रदान गर्ने घोषणा गरेको छ । उत्कृष्ट अंक साथ ‘प्लस टु’ उतीर्ण गर्ने विज्ञान र अन्य संकायका ३ जना शेयर सदस्यका छोराछोरीलाई पुरस्कृत गरेको छ ।

विद्यावारिधी गर्ने १, स्नातकोत्तर उपाधि हासिल गर्ने १३ जना र स्नातक उपाधि हासिल गर्ने ८ जना शेयर सदस्य तथा शेयर सदस्यका छोराछोरीलाई सम्मान गरिएको छ । सहकारीले स्व. डमरुबल्लभ बसन्तकुमारी चापागाईं स्मृति पुरस्कार, मायादेवी हरिमाया न्यौपाने स्मृति पुरस्कार र गणेशचेतन राई स्मृति पुरस्कारबाट आर्थिक वर्ष ०७९/०८० सालको एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने सदस्यका सन्तानमध्येबाट ७ जनालाई पुरस्कृत गरेको छ ।
अध्यक्षमा पुनः काफ्ले
राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था विराटनगरको अध्यक्षतामा पुनः जीवन काफ्ले सर्वसम्मत चयन भएका छन् । संस्थाले ११ सदस्यीय नयाँ कार्यसमिति र ३ सदस्यीय लेखा समिति सर्वसम्मत चयन गरेको हो ।
संस्थाको उपाध्यक्षमा तुलसीनारायण अधिकारी, सचिवमा ओमराज सुवेदी, कोषाध्यक्षमा फणीन्द्रनाथ अधिकारी र सदस्यहरुमा तुलसीप्रसाद खतिवडा, प्रदीपकुमार पाण्ड, कमला दाहाल, रोहित पौडेल, जयप्रसाद काफ्ले, केदारप्रसाद चौधरी र यादवदेवी सुवेदी चयन भएका छन् ।

सहकारीको लेखा सुपरिवेक्षण समितिको संयोजक अन्तिमकुमार आचार्य तथा सदस्यहरुमा चोमेशकुमार पोखरेल र रोशनकुमार पोखरेल चयन भएका छन् । नयाँ कार्यसमितिको कार्यकाल ४ वर्षको रहने छ ।



















