
विराटनगर । संविधान दिवसका अवसरमा विराटनगरस्थित अरनिको उच्च माविले वादविवाद प्रतियोगिता आयोजना गरेको छ ।
कविसा पोखरेलले ‘बढ्दो वैदेशिक पलायनः रहर कि बाध्यता’ शीर्षकमा आयोजना गरेको प्रतियोगितामा २७ जना प्रतिस्पर्धीलाई पन्छाउँदै प्रथम भएकी थिइन् । समीर कटुवाल द्वितीय, आव्या घिमिरे तृतीय र शिक्षा यादवले सान्त्वना स्थान प्राप्त गरे ।
विषयवस्तुको ज्ञान, तार्किक क्षमता, प्रस्तुतीकरण, भाषाशैली, समय पालनलगायतलाई मुख्य आधार मानेर पुरस्कृतहरूको नाम छनौट गरिएको थियो ।
कवि मीनकुमार नवोदित, विद्यालयका शिक्षकद्वय टंकनाथ कोइराला र शिवकुमार लम्साल निर्णायक समिति रहेका थिए ।
विद्यार्थीमा रहेको प्रतिभा र तार्किक क्षमता वृद्धि गराउने उद्देश्यले वादविवाद प्रतियोगिता आयोजना गरिएको प्रिन्सिपल राजेश कार्कीले जानकारी दिए ।
विजेताहरुलाई प्रिन्सिपल कार्कीसहित निर्देशक भरतराज दाहाल, निलम अधिकारी, कार्यक्रम संयोजक विमल भट्टराईलगायतले पुरस्कार प्रदान गरे ।

























