
विराटनगर । उद्योगी, व्यापारी र राष्ट्रिय अनुसन्धान विभाग कोशी प्रदेश प्रमुखबीच अवैध व्यापार र चोरी तस्करी नियन्त्रणका विषयमा छलफल भएको छ ।
मोरङ उद्योग व्यापार संघले राष्ट्रिय अनुसन्धान विभाग कोशी प्रदेश प्रमुख डीआईजी इन्द्र लामासँग छलफल गरेको हो । खुला सीमा क्षेत्रबाट हुने अवैध व्यापार, चोरी तस्करीलगायत विभिन्न आपराधिक गतिविधिका विषयमा २ पक्ष छलफल भएको संघका अध्यक्ष अनुपम राठीले जानकारी दिए ।
उनकाअनुसार अवैध व्यापार तथा चोरी पैठारी नियन्त्रण, स्वदेशी बजार संरक्षणार्थ करको दर न्यूनीकरण गर्न पहल, अपराध रहित व्यवसायिक वातावरण निर्माण गर्ने, सांस्कृतिक विकृति नियन्त्रण गर्न, लागुऔषध नियन्त्रण गर्न, कृषि क्षेत्रका सम्भावित अवसरहरुको पहिचान गरी व्यवसायीकरण गर्न पहल गर्ने जस्ता विषयमा छलफल भएको छ ।
यस्ता कानुनविपरीत हुने गतिविधि रोक्न राष्ट्रिय अनुसन्धान विभागले भूमिका खेल्न आग्रह गरेको अध्यक्ष राठीले बताए । छलफलमा संघका पदाधिकारीलगायत विभिन्न समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।



















