अंग्रेजी भाषा अपरिहार्यजस्तै भइसक्यो : मुख्यमन्त्री

Share this
794shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक २४, शनिबार १८:४८

झापा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अंग्रेजी भाषा अति नै अपरिहार्य भइसकेको बताएका छन् ।

झापाको दमकमा नेपाल इंग्लिश ल्याङ्वेज टिचर एसोसिएसनको कोशी प्रदेशस्तरीय सम्मेलनको शनिबार उद्घाटन गर्दै उनले अंग्रेजी भाषाको ज्ञान अनिवार्यजस्तै भएको बताउँदै सबै सामुदायिक विद्यालयहरु अंग्रेजी माध्यमको बनाउन स्थानीय तहहरुलाई सुझाव दिएका छन् । ‘विश्व नै सानो गाउँजस्तै भएको अवस्थामा अवसरको खोजी गर्न र जीविकोपार्जन गर्न पनि अहिले अंग्रेजी भाषा आवश्यक छ,’ कार्कीले भने, ‘स्थानीय तहले सबै विद्यालयलाई अंग्रेजी माध्यममा लैजानुपर्छ ।’

उनले शिक्षाको गुणस्तर सुधार गर्न आवश्यक रहेको पनि बताए । ‘प्रदेश शिक्षा नीति बनाएर अहिले भइरहेका विद्यालय, स्कुल, कलेजहरुको भौतिक पूर्वाधार र गुणस्तर बढाउन सहयोग गर्ने हाम्रो योजना छ । हामी यसमा लागिरहेका छौं ,’ मुख्यमन्त्री कार्कीले भने ।

विद्यालय मर्ज गर्दा भौतिक पूर्वाधार थप गर्न सहयोग गर्ने नीति रहेको बताउँदै उनले अर्को वर्षबाट यो विषयमा नीति नै बनाउने जानकारी दिए । शैक्षिक गुणस्तर बढाउनतर्फ भने स्थानीय तहका जनप्रतिनिधिहरुले ध्यान दिन नसकेको उनको भनाइ छ । सबै कुरालाई ध्यान दिएर शिक्षाको सुधार गर्ने प्रतिबद्धता कार्कीले जनाएका छन् ।

उनले पहाडी र हिमाली क्षेत्रका विद्यालयहरुलाई बलियो बनाएर गुणस्तरीय शिक्षा दिनेगरी नीति तथा कार्यक्रममा समेटिएको बताए । सम्मेलन आइतबारसम्म चल्ने छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.