अधिवक्ता रुद्रप्रसाद पोखरेल ।काठमाडौं । न्यायाधीश राजकुमार कोइरालासँग २ करोड रूपैयाँ घुसको मोलमोलाइ गरेको आरोप लागेका अधिवक्ता एवं नेपाल बार एसोसिएसनका तत्कालीन कोषाध्यक्ष रुद्रप्रसाद पोखरेललाई नसिहत दिइएको छ ।
महान्यायाधिवक्ताको अध्यक्षतामा रहने नेपाल कानुन व्यवसायी परिषद्ले पोखरेललाई नसिहत दिने निर्णय गरेको हो । परिषद्को अनुशासन समितिको आइतबार बसेको बैठकले उक्त निर्णय गरेको परिषद्का सचिव श्रीराम खनालले जानकारी दिए ।
पोखरेललाई नसिहत दिने निर्णय भएको विषय भने परिषद्ले मंगलबार मात्रै सार्वजनिक गरेको छ । ‘परिषद् अन्तर्गतको अनुशासन समितिको मिति २०८१/०७/२५ गते बसेको बैठकले अधिवक्ता रुद्रप्रसाद पोखेल (प्र.प.नं.५४५६) लाई कानुन व्यवसायीको आचारसहिता, २०५१ को नियम ३(१) (क) (ङ) र (छ) बमोजिमको कसुरमा नेपाल कानून व्यवसायी परिषद् ऐन, २०५० को दफा ११ को उपदफा (३) को देहाय खण्ड (क) बमोजिम नसिहतको सजाय गर्ने निर्णय भएकोले जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ परिषद्ले जारी गरेको सूचनामा भनिएको छ ।
यस्तो थियो घटना
एक जना व्यापारीको मुद्दा मिलाउन जिल्ला अदालत काठमाडौंका तत्कालीन न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच २ करोड रुपैयाँ घुस लेनदेनका लागि मोलमोलाइ भएको अडियो २०७९ असारमा सार्वजनिक हुँदा न्यायवृत्तमा तरंग फैलिएको थियो । बारका तत्कालीन कोषाध्यक्ष पोखरेलले सर्वसाधारणको ८ अर्ब रुपैयाँ ठगी गर्ने व्यापारी इच्छाराज तामाङलाई धरौटीमा छाडिदिए न्यायाधीश कोइरालालाई २ करोड रुपैयाँ दिने वाचा गरेको अडियो सार्वजनिक भएको थियो ।
सिभिल सहकारी बचत तथा ऋण सहकारीमा जम्मा गरेको सर्वसाधारणको रकम पूर्वसांसदसमेत रहेका तामाङले हिनामिना गरेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरेर मुद्दा दायर गरेको थियो । त्यही मुद्दामा तामाङलाई धरौटीमा छाड्नका लागि भन्दै अधिवक्ता पोखरेलले न्यायाधीशसँग घुसको मोलमोलाइ गरेका हुन् ।
न्यायाधीश कोइरालामाथि छानबिन गर्न न्याय परिषद्ले तीन सदस्यीय जाँचबुझ समिति बनाएको थियो । सचेत गराएर उनलाई काममा फर्काइसकिएको बताइन्छ ।
पोखरेललाई नेपाल कानुन व्यवसायी परिषद्ले ७ दिने स्पष्टीकरण सोधेर कारबाही प्रक्रिया थालेको थियो । कानुन व्यवसायीको आचारसंहिता उल्लंघन गरेकोमा छानबिन एवं कारबाही गर्ने अधिकारी परिषद्लाई हुन्छ । घुस प्रकरणको अडियो सार्वजनिक भएको करिब अढाई वर्षपछि पोखरेललाई कारबाही गरिएको सार्वजनिक भएको छ ।


























