मल र उन्नत जातको बिउ समयमै उपलब्ध गराउन माग

Share this
654shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर १०, सोमबार २०:०९

विराटनगर । उखुको न्यूनतम मूल्य तोकेर समयमै मल र उन्नत जातको उखुको बिउ उपलब्ध गराउन उखु किसानहरुले माग गरेका छन् ।

विराटनगरमा सोमबार नेपाल फार्मस एड्भाइजरी काउन्सिल काठमाडौंले आयोजना गरेको कार्यक्रममा कृषकहरुले समयमै उखुको मूल्य तोक्नुका साथै मल र बिउ उपलब्ध गराउनु पर्ने माग गरेका हुन् ।

उखु खेती प्रवर्धनका लागि कृषकहरुको सिपमूलक र आय अभिवृद्धि कार्यक्रम बोल्दै उखु कृषकहरुले उखुको न्युनतम मूल्य सरकारले नतोक्दा उखु किसान मारमा परेको गुनासो गरेका छन् ।

उखु मिलले समयमा उखु काट्न पुर्जी नदिँदा समस्या भएको, उखु लगाउन मल र उन्नत जातको बिउ र किटनाशक औषधिको अभाव रहेको किसानहरुले बताए ।

कार्यक्रमा बोल्दै सुनसरी बर्जु गाउँपालिका–५ का हरिकृष्ण यादवले उखुको न्यूनतम मूल्य सरकारले नतोक्दा उखु किसान मारमा परेको गुनासो गरे । उनले उखु काट्न समयमा उखु मिलले पुर्जी नदिने, उखु लगाउन मल र उन्नत जातको बिउ र किटनाशक औषधिको अभाव रहेको बताए ।

मोरङको सुनबर्सी नगरपालिका–७ का कृषक रामकुमार सिंह गनगाईंले उखु लगाउनै समस्या रहेको, लगाएको उखु बेच्नै समस्या रहेको गुनासो गर्दै राज्यले कृषकका लागि ठोस नीति ल्याउनु पर्नेमा जोड दिए ।

दि नेपाल डिस्ट्रिलरिजका प्रमुख प्रशासकीयअधिकृत जनकराज रेग्मीले उखुबाट उत्पादित विभिन्न किसिमका कच्चा पदार्थ भारतबाट ल्याउनु पर्ने बाध्यात्मक अवस्था रहेकोले नेपाली करोडौं रुपैयाँ बाहिर गएकाले आगामी दिनहरुमा नेपालकै उखु किसानहरुले उत्पादन गरेको अर्गानिक कच्चा पदार्थको प्रयोग गर्ने उद्देश्यले कार्यक्रम गरेको बताए ।

कार्यक्रममा बोल्दै नेपाल सरकारका पूर्व कृषि सचिव डाक्टर योगेन्द्रकुमार कार्कीले उखु उत्पादक कृषक, उखु मिल र सरकार मिलेर उखुको समस्याको समाधान खोज्नु पर्ने, न्यूनतम मूल्य तोक्नु पर्ने, उन्नत जातको बिउ सरकारले उपलब्ध गराउनु पर्ने, उद्योगीले उखु किनेनन् भने सरकारले उचित मूल्यमा उखु खरिद गर्नुपर्ने बताए ।

सो अवसरमा बोल्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी सरकारले आर्थिक वर्ष २०८२ /०८३ को नीति बनाउँदा उखु प्रवर्धनका लागि काम गर्ने बताए ।
कार्यक्रममा झापा, मोरङ र सुनसरीका ४० जना उखु किसानको सहभागिता रहेको थियो । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का बाली वैज्ञानिक डाक्टर दिलराज यादवले उखुको प्रमुख रोग र किराको व्यवस्थापन, उखुका उत्कृष्ट जातहरु तथा उन्नत उत्पादन प्रविधिका विषयमा कार्यपत्र प्रस्तुत गरे ।

अर्का वैज्ञानिक जगतबन्धु अर्यालले खुट्टी बालीको महत्व तथा उन्नत व्यवस्थापन र मलखादको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.