विराटनगर । सुपर काबेली ‘ए’ जलविद्युतको लाइन राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ ।
ताप्लेजुङको सिरिजंगा गाउँपालिका–८ मा रहेको सुपर काबेली ‘ए’जलजलविद्युतको परीक्षण कार्य सफल भएको छ ।
शनिबारसम्मा यहाँबाट उत्पादित १३.५ मेगावाट क्षमताको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने सुपर काबेली ‘ए’जलविद्युत् आयोजनाले जनाएको छ ।
मंसिर ९ गतेबाट सुरु भएको प्रसारण लाइनको परीक्षण कार्य सफल भइसकेको आयोजनाका जनसम्पर्क अधिकृत मेघनाथ ढुंगानाले जानकारी दिए ।
उनका अनुसार नेपाल विद्युत् प्राधिकरणका प्राविधिकमार्फत अन्तिम चेकजाँच गरेर राष्ट्रिय प्रसारण लाइनमा जोडिने प्रक्रियमा रहेको छ ।
विद्युत् गृह रहेको रातेखोलादेखि ३१ किलोमिटर लामो प्रसारण लाइनमार्फत उक्त विद्युत् पाँचथरको अमरपुरस्थित दुबीचौरमा रहेको नेपाल विद्युत् प्राधिकरणको १३२ केभिए विद्युत् प्रसारण लाइनसम्म सफल भएको छ ।
यहाँ निर्माण भएको विद्युत् प्रसारण लाइनमार्फत केन्द्रीय प्रसारण लाइनमा समाहित गर्ने स्थल दुबीचौरसम्म परीक्षण सफल भएको, उनले बताए ।
विद्युत् प्राधिकरणका प्राविधिकहरुको टोली अन्तिम परीक्षण गरिरहेको हुँदा शनिबारसम्ममा सुपर काबेलीमा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा समाहित भइसक्ने छ ।
प्रतिमेगावाट १९ करोड ५० लाख रुपैयाँ लागत अनुमान रहेको सुपर काबेली ‘ए’को कूल लागत करिब २ अर्ब ६३ करोड २५ लाख रहेको आयोजनाले जनाएको छ ।

























