
विराटनगर । विराटनगरस्थित बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाहरुबाट सहयोग जुट्ने क्रम जारी रहेको छ ।
बुधबार विराटनगरस्थित लक्ष्मी सनराइज बैंकले सडक सौन्दर्यकरणका लागि २ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । महानगरपालिका मेयर नागेश कोइरालालाई बैंकका प्रदेश प्रमुख बर्बरिक पोखरेल र विराटनगर शाखाका प्रमुख सुदीप नरसिंह रायमाझीले २ लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।
महानगरले विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजना अगाडि बढाएको छ ।
सो परियोजना सम्पन्न गर्न ५५ लाख रुपैयाँ लागत अनुमान गरिएको छ । हालसम्म २६ लाख ५० हजार रुपैयाँ प्राप्त भइसकेको महानगरका तर्फबाट सौन्दर्यकरण परियोजनाका लागि सहजीकरण गरिरहेका पुनमकुमार दाहालले जानकारी दिए ।
लक्ष्मी सनराइजसहित १४ वटा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट २६ लाख ५० रुपैयाँ परियोजनाको खातामा जम्मा भइसकेको छ ।
बरगाछी–रानी सडकखण्डमा रहेका ४६ वटा डिभाइडरमध्ये ३३ वटामा सौन्दर्यकरणको काम सकिएको छ ।

























