
विराटनगर । उद्योग–व्यवसाय क्षेत्रमा लागू रहेका अत्याधिक बीमा शुल्क दर सुधारको माग गर्दै मोरङ उद्योग व्यापार संघले ज्ञापनपत्र बुझाएको छ ।
बिहीबार मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीको नेतृत्वमा गएको टोलीले नेपाल बीमा प्राधिकरण, कोशी प्रदेशका प्रमुख विनोदकुमार पोखरेल र मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईलाई अत्याधिक बीमा शुल्क दर तथा बीमाका अन्यायपूर्ण नीति सुधारको मागसहित ज्ञापन पत्र बुझाएको हो ।
संघका अध्यक्ष अनुपम राठीले भारतलगायत अन्य मुलुकको तुलनामा नेपालको बीमा दर ५० प्रतिशतदेखि २०० प्रतिशतसम्म बढी रहेको गुनासो गरे । आवश्क र अनावश्यक सबै जोखिम अनिवार्य समावेश गर्नु पर्ने अन्यायिक नीति रहेका कारण संशोधन गर्नुपर्ने उनको माग छ । संघले जोखिमको वर्गिकरण वैज्ञानिक रुपमा गर्न पनि माग गरेको छ ।
बीमा शुल्क गणना गर्ने कार्यविधि प्रष्ट नरहेको, बीमाकर्ता स्वयंले बीमा शुल्क गणना गर्न सक्ने व्यवस्था नरहेको, बीमा गराउँदाको कमिशन दरका कारण नेपाली उत्पादन र उपभोग्य वस्तुहरुको मुल्य उच्च भएको उनले बताए । बीमा नीतिका कारण
उपभोक्तादेखि अर्थतन्त्रसम्म अनपेक्षित भार परिरहेको उनको गुनासो छ ।
बीमा प्रिमियम दर भारत तथा अन्य मुलुकको भन्दा न्यून गर्नुपर्ने संघको माग छ । त्यस्तै नेपालको भौगोलिक, आर्थिक, सामाजिक, राजनैतिकलगायतका परिवेशलाई ध्यानमा राखेर अपेक्षित जोखिमपूर्ण अवस्थाहरुको मात्र ऐच्छिक रुपले बीमा गर्न मिल्ने व्यवस्था गर्न पनि माग गरेको छ ।


























