
कैलाली । सशस्त्र प्रहरीले कैलालीको भजनी नगरपालिका–५ कौवाखेडाबाट १ करोड बढीको सुनचाँदी र ६ लाख रूपैयाँभन्दा बढी नगदसहित शनिबार साँझ तीन जनालाई पक्राउ गरेको छ ।
सुर्खेतको चौकुनी गाउँपालिका–१० का ३६ वर्षीय महेन्द्रबहादुर शाही, वीरेन्द्रनगर नगरपालिका–१ का ३१ वर्षीय हर्कबहादुर बिक र पञ्चपुरी नगरपालिका–११ का ३२ वर्षीय महेश सुनार पक्राउ परेका हुन् । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलाली मातहत बोर्डर आउट पोष्ट (बीओपी) पगियापसारको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाको साथबाट भारतबाट नेपालतर्फ आउँदै गर्दा ८० लाख ७९ हजार ५ सय ६१ रुपैयाँ बराबरको ६२० ग्राम सुन, १५ लाख २८ हजार ४ सय ६० रुपैयाँ बराबरको ८ किलो ९ सय १४ ग्राम चाँदी, भारतीय रूपैयाँ ६ लाख ११ हजार ६ सय २५ र चाँदीका लेप लगाएका भाँडाकुडा बरामद भएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको सशस्त्रले जनाएको छ ।



















