राष्ट्रपतिद्वारा ४ अध्यादेश जारी, एउटा भने रोकियो

Share this
793shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ पुस २९, सोमबार १८:३०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेका छन् । उनले सोमबार ४ वटा अध्यादेश जारी गरेका हुन् ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले ५ वटा अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय लिएको थियो । मन्त्रिपरिषद्को सिफारिसका आधारमा पौडेलले सोमबार दिउँसो संविधानको धारा ११४ को उपधारा १ बमोजिम ४ वटा अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयकी प्रवक्ता शैलजा भट्टराई रेग्मीले जानकारी दिइन् ।

सरकारले सिफारिस गरेका ५ मध्ये एउटा अध्यादेश भने राष्ट्रपतिले जारी गरेनन् । भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी नभएको हो । उक्त अध्यादेश अध्ययनको क्रममा रहेकाले जारी नभएको स्रोतले बतायो ।

त्योबाहेक राष्ट्रपति पौडेलले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१, नेपाल कार्यविधि तथा वित्तिय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश–२०८१, नीजिकरण पहिलो संशोधन अध्यादेश–२०८१, आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१ जारी गरेका हुन् । सरकारले ल्याएको अध्यादेशलाई राष्ट्रपतिले जारी गरेपछि त्यसले कानुनी रूप धारण गर्छ ।

पुस २६ गते बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश जारी गर्ने निर्णय गरेको थियो । संवैधानिक व्यवस्था अनुसार अध्यादेश जारी गर्न मन्त्रिपरिषद् बैठकले निर्णय गरेर राष्ट्रपतिलाई सिफारिस गर्नुपर्छ ।

यसरी जारी भएको अध्यादेश संसदको पहिलो बैठकमा पेस हुनेछ । संसदबाट ६ महिनासम्म अध्यादेश पारित नभए स्वत निष्क्रिय हुने संवैधानिक व्यवस्था छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.