क्याम्पस तोडफोड र आगजनीमा राजनैतिक संरक्षण : प्रहरीले पक्रिने, नेताले छुटाउने

Share this
739shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २, शनिबार २०:१९

विराटनगर । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को अराजक झुन्डलाई कारबाही गर्न मोरङ प्रहरीले खुट्टा कमाएको छ ।

त्यति मात्रै हैन, विद्यार्थी संगठनका नाममा आपराधिक गतिविधि गर्ने समूहलाई प्रहरीले नै संरक्षण गरिरहेको छ । प्रहरीबाट संरक्षण मिलेकै कारण विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा विद्यार्थी संगठनका नाममा बारम्बार आक्रमण, तोडफोड र आगजनीका घटना भइरहेका छन् ।

राजनीतिक संरक्षण र हस्तक्षेपका कारण सरकारी सम्पत्ति तोडफोड र आगजनी गर्नेले उन्मुक्ति पाइरहेका हुन् । संगठनभित्रको आन्तरिक विवाद मिलाउन नसकेको नेविसंघ सार्वजनिक सम्पत्ति तोडफोड र आगजनीमा भने अग्रसर देखिएको छ । नेविसंघकै नाममा क्याम्पस परिसरमा बन्चरो नचाएर आक्रमण गरिँदा पनि प्रहरीले कारबाहीको दायरामा ल्याउन सकेको छैन ।

सत्तारुढ दलआबद्ध विद्यार्थीले सीमा नाघेर आपराधिक हर्कत गरिरहँदा प्रहरी प्रशासन निरीह देखिएका छन् । अराजक झुन्डलाई कानुनी कारबाहीको दायरामा ल्याउन नसक्दा क्याम्पसमा सुरक्षा चिन्ता बढेको छ । कारबाही नहुँदा मनोबल बढेर त्यही समूहले पुनः अर्को घटना गराउने सम्भावनासमेत रहेको क्याम्पस स्रोतले बतायो ।

विद्यार्थीका नाममा कुनै घटना हुनेवित्तिकै त्यसमा संलग्नलाई प्रहरीले पक्राउ गर्ने गरेको छ । तर, प्रहरीले पक्राउ गरेर कार्यालयमा पुर्याउन नपाइकन छुटाउनका लागि कांग्रेसका नेताहरु लर्को लागेर पुग्छन् । मुद्दा नचलाउन प्रहरीलाई दबाब दिन्छन् । नेताको दबाबकै कारण प्रहरीले पनि कारबाही अघि बढाउन सकिरहेको छैन ।

हुन त आपराधिक गतिविधि गर्नेलाई राजनीतिक दबाबका भरमा प्रहरीले बारम्बार उन्मुक्ति दिइरहेको छ । प्रहरीले उन्मुक्ति दिएकै कारण विद्यार्थी संगठनका नाममा दादागिरी र गुण्डागर्दी बढ्दो छ । कानुनविपरीतका गतिविधि नियन्त्रणमा लिनुपर्ने प्रहरी राजनैतिक दबाबसामु निरीह देखिँदा दण्डहीनताले प्रश्रय पाइरहेको छ । आपराधिक गतिविधिमा संलग्नलाई प्रहरीले पक्रिने र नेताले छुटाउने क्रम चलिरहेको छ ।

विराटनगरको महेन्द्र मोरङ क्याम्पसको स्ववियु निर्वाचन कार्यालयअगाडि तोडफोड गरेपछि प्रहरीले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)का सभापति जसवन्त पौडेलसहित ६ जनालाई शुक्रबार पक्राउ गर्यो । दिउँसो क्याम्पस परिसरबाट पक्राउ परेकाहरु बेलुका छुटे ।

विराटनगरको डिग्री क्याम्पसमा लगाएको ताला तोडफोड गरेपछि विराटनगर–२ का १९ वर्षीय तिलक पोखरेल र राज पोखरेलसहित ६ जनालाई शुक्रबार नै प्रहरीले पक्राउ गर्यो । कांग्रेस नेताहरुले दबाब दिएपछि प्रहरीले उनीहरुलाई छाड्यो । कानुनी कारबाहीको प्रक्रिया अघि बढाउनै सकेन । दुवै घटनामा पक्राउ परेकाहरु नेविसंघका कार्यकर्ता थिए ।

स्ववियु निर्वाचनको विषयलाई लिएर फागुन २८ गते पनि क्याम्पसमा आगजनी र तोडफोड भयो । घटनामा संलग्न भएको आरोपमा नेविसंघ केन्द्रीय सदस्य तथा स्ववियु सभापतिका उम्मेदवार योगराज दाहालसहित ४ जना पक्राउ परे । पक्राउ परेकाहरु लगत्तै छुटे ।

दाहालसहित ४ जनालाई कांग्रेसको डाक्टर शेखर कोइराला समूह अर्थात संस्थापनइतर पक्षका नेताले छुटाएका थिए । संस्थापन पक्षका नेताहरुले दबाब दिएपछि पौडेलसहित १२ जनालाई प्रहरीले छाड्यो ।

गत फागुन १५ गते नेविसंघ मोरङ जिल्ला सभापति सरोज पोखरेललाई महेन्द्र मोरङ क्याम्पसभित्र स्ववियु सभापति जसवन्त पौडेलसहितको समूहले निर्घात कुटपिट गर्याे । पोखरेललाई कुटपिट गर्दा बन्चरो नचाएका पौडेलविरुद्ध प्रहरीले जाहेरी नै लिएन । उल्टै न्यायको मागसहित जाहेरी लिएर पुगेका विद्यार्थीलाई प्रहरीले समातेर केही समय नियन्त्रणमा राख्यो ।

विद्यार्थीका नाममा आगजनी र तोडफोड गर्नेहरुलाई प्रहरीले कारबाही नगर्दा झन् उच्छृङ्खल गतिविधि भइरहेका छन् । विद्यार्थीले अराजनीतिक गतिविधि गर्दा क्याम्पसमा रहेका राज्यको सम्पत्तिमा क्षति पुगेको छ । तोडफोड गर्ने विद्यार्थीले कारबाहीबाट उन्मुक्ति पाउँदा विद्यार्थी राजनीतिका नाममा गुण्डागर्दी बढ्दो छ ।

प्रहरी भने कानुन मात्रै नहेरी व्यावहारिक पक्ष पनि हेर्नुपर्ने बताउँछ । ‘हामीले पक्राउ गर्यो भने छुटाउनका लागि नेताहरु आइहाल्छन् । नेताले संरक्षण गरेपछि मनोबल बढ्ने भइहाल्यो,’ प्रहरीका एक अधिकृत भन्छन्, ‘फर्किएर फेरि उच्छृङ्खल गतिविधि गर्छन् । आंतक मच्चाएर क्याम्पसको शैक्षिक वातावरण नै धुमिल बनाउने र सरकारी सम्पत्तिमा क्षति पुर्याउनेलाई जोगाउन नेताहरु खुलेआम लाग्नु आश्चर्यको विषय हो ।’

मोरङ प्रहरीका प्रवक्ता डीएसपी देवप्रकाश जोशी पक्राउ गरिएका विद्यार्थीलाई प्रतिबद्धता गराएर मात्रै छाडिएको बताउँछन् । प्रहरीको नियन्त्रणमा रहेका विद्यार्थीहरुलाई छुटाउन नेताहरुको दबाब आउने उनले स्वीकार गरे ।

कानुनी पक्ष मात्रै हेरेर नहुने बताउँदै जोशीले निर्वाचन गराउनका लागि व्यावहारिक पक्ष पनि हेरेर समस्या समाधान गरी विद्यार्थीलाई छाडिएको दाबी गरे । कानुनी कारबाही नहुँदा मनोबल बढेको देखिएको उनी स्वीकार गर्छन् ।

‘निर्वाचनलाई नै असर गर्नसक्ने विषयलाई हामीले पनि हेर्नुपर्ने हुन्छ । विद्यार्थीलाई अराजक क्रियाकलापमा संलग्न नहुने भनेर ‘कमिटमेन्ट’ गराएर ‘सोलुसन’ खोजिएको हो । गलत कुरालाई प्रश्रय दिनुपर्छ भन्ने पक्षमा प्रहरी छैन,’ उनले भने । निर्वाचन शान्तिपूर्ण गर्नुपर्ने व्यावहारिक पक्षलाई हेरेर प्रहरीले काम गरिरहेको डीएसपी जोशीले बताए ।

कांग्रेस मोरङका उपसभापति भक्तिनाथ माझी गलत गर्ने विद्यार्थीलाई नेताले संरक्षण गर्ने कुरा सत्य भएको बताउँछन् । उच्छृङ्खल गतिविधि गर्नेलाई नेताले संरक्षण गर्न नहुने बताउँदै उनले भने, ‘पछिल्लो परिस्थिति त्यस्तै बनिरहेको छ ।’

विद्यार्थीको गलत क्रियाकलापलाई नियन्त्रण गर्न पनि ध्यान दिनुपर्ने माझी बताउँछन् । ‘विद्यार्थीलाई ‘सपोर्ट’ गर्नु नेताहरुको कर्तव्य हो । गर्नु पनि पर्छ,’ उनले भने, ‘तर, उच्छृङ्खल हुँदा नियन्त्रण गर्नुपर्ने नेताहरुले नै हो । गलत कार्य नियन्त्रण गर्नेतर्फ प्रयास गरेको देखिँदैन ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.