राजनीतिक स्वार्थपूर्तिमा तल्लीन ‘प्रचण्ड’ : आन्दोलन नरोक्न शिक्षकलाई उक्साउँदै, विद्यार्थीको भविष्यप्रति छैन चिन्ता

Share this
698shares
मुलुकी खबर
किशोर बुढाथोकी
clock२०८२ बैशाख ९, मंगलबार १६:४३

विराटनगर। शिक्षकको लामो समयदेखिको आन्दोलनका कारण मुलुकको शैक्षिक क्षेत्र तहसनहस बन्दै गएको छ । विद्यालय भर्ना अभियान प्रभावित बनेको छ ।

सरकारी शैक्षिक संस्थाहरु ठप्प छन् । सरकारी शिक्षकको आन्दोलनको फाइदा निजी शैक्षिक संस्थाले उठाउन थालेका छन् । कतिपय अभिभावकहरुले आफ्ना सन्तानलाई सरकारीबाट निकालेर निजीतिर सार्न थालिसके ।

शिक्षकहरु विद्यालय शिक्षा विधेयक पास गर्नुपर्ने लगायतका आफ्ना माग लिएर ३ सातादेखि काठमाडौंको सडकमा छन् । सरकारले माग पूरा गर्ने आश्वासन दिए पनि उनीहरुको आन्दोलन रोकिने छाँटकाँट देखिएको छैन । पटक–पटक सरकारसँग वार्ता गरे पनि सफल हुन सकेको छैन ।

आफ्ना माग राखेर आन्दोलन गर्न पाउने अधिकारको दुरुपयोग गर्दै शैक्षिक क्षेत्र नै तहसनहस हुनेगरी शिक्षकले गरिरहेको आन्दोलनको चौतर्फी विरोध हुन थालेको छ । अभिभावकहरु आफ्ना सन्तानको भविष्यलाई लिएर चिन्तित बनेका छन् ।

तर, शिक्षकका उचित मागको सम्बोधन गर्न सरकारलाई दबाब दिनुपर्ने र आन्दोलनरत शिक्षकलाई कार्यक्षेत्र फर्किएर काममा लाग्न अभिप्रेरित गर्नुपर्ने प्रतिपक्षी दलका नेता भने आन्दोलन नरोक्न शिक्षकलाई अपिल गरिरहेका छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्दोलनलाई निरन्तरता दिन शिक्षकहरूलाई अपिल गरेका हुन् ।

शिक्षकलाई आन्दोलन नरोक्न अपिल गरेका उनमा विद्यार्थीको भविष्यप्रति भने कुनै चिन्ता नदेखिएको अभिभावक बताउँछन् । उनीहरुका अनुसार विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न आह्वान गर्नुपर्ने प्रचण्ड विद्यालय बन्द गरेर आन्दोलनमा होमिएका शिक्षकको सारथि बन्ने प्रयास गरिरहेका छन् ।

शिक्षकको आन्दोलनका कारण मुलुकको शैक्षिक क्षेत्रमा देखिएको संकटमा भने प्रचण्डको एकरति पनि चिन्ता नदेखिएको अभिभावकहरुको भनाइ छ । नेपाल कम्युनिस्ट पार्टीको ७७ औं स्थापना दिवसका अवसरमा मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले चैत २० गतेदेखि आन्दोलनरत शिक्षकलाई थप उक्साउने काम गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले शिक्षकहरूले पटक–पटक वार्ता गरेर पनि असफल भएको भन्दै यो पटक धैर्यतापूर्वक आन्दोलन जारी राख्न अपिल गरेका हुन् । शिक्षकहरुले पटक–पटक आन्दोलन र सम्झौता गर्दा पनि धोका भएको उनको टिप्पणी थियो ।

अब धोका नहुने गरी आन्दोलनलाई निष्कर्षमा पुर्याउनुपर्ने उनले बताए । प्रचण्डले एमालेकै नेतृ विद्या भट्टराईले शिक्षामन्त्रीबाट राजीनामा दिएको विषयले सरकार गैरजिम्मेवार रहेको प्रष्ट हुने बताए ।

‘अझ हिजो अर्को एउटा घटना घट्यो । एमालेकै शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिनुभयो । यसबाट पनि सरकार कति धेरै गैरजिम्मेवार छ भन्ने कुराको नयाँ प्रमाण प्रस्तुत भएको छ,’ प्रचण्डले भने, ‘यो सरकार आफ्नै बोझ थाम्नसक्ने वाला छैन । आफ्नै बोझमा दबिएर यो सकिन्छ । हामी चाहन्छौं कि सरकारले अझै पनि बुद्धि पुर्याओस् ।’

प्रचण्डले शिक्षकहरूले गरेको माग नयाँ नभएको भन्दै सम्झौता अनुसार अघि बढ्नका लागि प्रधानमन्त्री केपी शर्मा ओली नकारात्मक भएको जिकिर गरे । ‘शिक्षकहरूले माग गरेको कुरा कुनै नयाँ हैन । हिजो सरकारले गरेको सहमति कार्यान्वयन गर भनेको भन्दाबाहेक केही छैन,’ प्रचण्डले भने, ‘हिजो जे सम्झौता भएको थियो । त्यो सम्झौता अनुसार ऐन बनाइदेउ भनेको मात्रै हो । तर, त्यसमा प्रधानमन्त्री असाध्यै नकारात्मक भइदिएपछि के हुन्छ ?’

तर, सरोकारवालाहरु शिक्षकको माग पूरा होस् भन्ने चाहना प्रचण्डमा नरहेको बताउँछन् । ‘शिक्षकको माग पूरा होस् भन्ने चाहना राख्ने भए हिजो आफैं प्रधानमन्त्री भएका बेला शिक्षा ऐन जारी गर्ने थिए । त्यतिबेला ऐन प्रचण्डले नै रोकेका हुन्,’ अभिभावक संघ कोशी प्रदेशका अध्यक्ष देवी पन्थी भन्छन्, ‘अहिले शिक्षकलाई उक्साएर आफ्नो राजनीतिक स्वार्थपूर्तिमा प्रचण्ड तल्लीन भइरहेको देखिन्छ । प्रचण्ड दोहोरो भूमिका निर्वाह गर्न माहिर छन् ।’

जसरी पनि असहयोग गरेर सरकारलाई असफल बनाउन प्रचण्डले अहिले आन्दोलनरत शिक्षकलाई उकास्ने काम गरिरहेको पन्थी बताउँछन् । ‘शिक्षकका आफ्ना मागहरु जायज होलान् । तर, कक्षा कोठा छाडेर विद्यार्थी तथा अभिभावकको भविष्य अन्धकार हुनेगरी व्यक्तिगत लाभका निम्ति लामो समयदेखि सडकमा रहनु ठीक हैन । शिक्षकले यो कुरा बुझ्न जरुरी छ,’ उनले भने, ‘विद्यालय भर्ना अभियान, कक्षा १२ को परीक्षा र एसईईको उत्तरपुस्तिका परीक्षण गर्नुपर्ने अत्यन्तै कठिन परिस्थितिमा शैक्षिक गतिविधि ठप्प पारी लामो समयदेखि सडकमा गएर कराउनु गलत हो । यो त राष्ट्र डुबाउने कामभन्दा अरु हुनै सक्दैन ।’

अभिभावक संघ मोरङ अध्यक्ष खगेन्द्र भट्टराई र कोशी प्रदेश अध्ययक्ष देवी पन्थी ।

शिक्षकको आन्दोलनले विद्यार्थी र अभिभावकको भविष्य नै अस्तव्यस्त बनाइदिएको पन्थीको भनाइ छ । ‘हरेकजसो घरबाट विद्यार्थी पढ्न जान्छन् । तर, पढाउन छाडेर शिक्षक आन्दोलनमा जाँदा विद्यार्थीको भविष्यप्रति चिन्ता थपियो,’ प्रश्न गर्दै उनले भने, ‘सरकारसँग आफ्ना माग उचित ढंगले राख्नुपर्ने शिक्षकले अभिभावक र विद्यार्थीलाई धक्का दिनेगरी आन्दोलन गरिरहेको देखिन्छ । यो आन्दोलनको समय हैन भन्ने चैं किन नबुझेको ?’

पन्थीले अभिभावक संघका तर्फबाट आन्दोनलको स्वरुप परिवर्तन गरेर कक्षा कोठामा फिर्ता हुन शिक्षकलाई अनुरोधसमेत गरेका छन् । ‘शिक्षा क्षेत्रलाई राजनीतिबाट मुक्त गर्न, विद्यालयलाई शान्ति क्षेत्रका रुपमा कायम राख्न र आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह गर्छौं,’ उनले भने । आन्दोलनका अनेक रूप हुने भएकाले सडक संघर्ष मात्रै आन्दोलन हो भनेर ठान्नु नाजायज भएको पन्थीको टिप्पणी छ ।

सरकारी शिक्षा प्रणालीलाई तहसनहस बनाउने गरी आन्दोलन भइरहेकाले अब शिक्षकका विरुद्ध अभिभावकहरु उत्रिनुपर्ने बेला आएको उनले बताए । ‘अभिभावक सडकमा आउने अवस्था नबनोस् भन्ने चाहन्छौं । शिक्षकले आन्दोलन रोकेनन् र विद्यालय बन्द गरिरहे भने अभिभावक सडकमा आउँछन् । प्रतिकारमा उत्रन्छन्,’ पन्थी भन्छन् ।

अभिभावक सडकमा आएर आन्दोलनमा उत्रिएपछि सरकारले अहिलेका शिक्षकको विकल्प दिनुपर्ने दिन पनि आउनसक्ने चेतावनी उनले दिएका छन् । ‘धनीका छोराछोरी निजी स्कुलतिर गए । गरिबका छोराछोरीले त सरकारी विद्यालय छाड्नसक्ने अवस्था हुँदैन । अब तत्काल आन्दोलनको स्वरुप परिवर्तन भएन भने प्रतिकारमा उत्रन्छौं । विद्यार्थी र अभिभावककलाई सतप्रतिशत मारमा पारेर शिक्षकले आफू सतप्रतिशत नाफामा जान खोज्नु न्यायिक कुरा भएन,’ उनले भने ।

प्रचण्डले आन्दोलन जारी राख्नु भनेर शिक्षकका पक्षमा नबोलेको उनको बुझाइ छ । ‘सरकारलाई गलाउने र आफू फाइदा लिने रणनीतिमा प्रचण्ड छन् । सरकारबाट हट्नु परेको पीडा छँदैछ । त्यही भएर सरकारलाई गलाएर राजनीतिक फाइदा लिन सकिन्छ कि भन्ने मनसायले शिक्षकको आन्दोलनलाई समर्थन गरेजस्तो गरेका हुन् । आन्दोलनलाई समर्थन गर्ने प्रचण्डले विद्यार्थी र अभिभावकको भविष्यप्रति किन सोच्दैनन् ?,’ पन्थीले प्रश्न गरे ।

अभिभावक संघ मोरङका अध्यक्ष खगेन्द्र भट्टराई पनि प्रचण्डले आफ्नो राजनीतिक स्वार्थपूर्तिका लागि शिक्षकलाई आन्दोलन नरोक्नु भनेको बताउँछन् । ‘प्रचण्ड प्रधानमन्त्री भएकै बेलामा शिक्षा विधेयक पास हुनुपर्ने थियो । यो विधेयक सुरुमा पास हुन नदिने रणनीति माओवादीले बनाएको हो । त्यतिबेला माओवादीकै देवेन्द्र पौडेल शिक्षामन्त्री थिए । आफ्ना पालामा नगर्ने, अनि अहिले स्वार्थपूर्तिका लागि आन्दोलन नरोक्नु भन्ने ?,’ भट्टराईले प्रश्न गरे ।

माओवादीका देवेन्द्र पौडेल शिक्षामन्त्री र प्रचण्ड प्रधानमन्त्री भएकै बेला सामुदायिक विद्यालयलाई शैक्षिक हिसाबले अगाडि बढ्न नदिने रणनीति अपनाइएको उनले बताए । ‘प्रचण्ड र पौडेलको मिलेमतोमा नेपालको सामुदायिक विद्यालयमा पठनपाठनलाई निरुत्साहित गर्ने र निजी विद्यालयलाई प्रोत्साहित गर्ने भित्री रणनीति बनेको थियो । नत्र शिक्षा विधेयक प्रचण्ड प्रधानमन्त्री र देवेन्द्र पौडेल शिक्षामन्त्री भएकै बेला आउनुपर्ने हो,’ अध्यक्ष भट्टराई भन्छन् ।

उनका अनुसार शिक्षा विधेयकको ‘ड्राफ्ट’ प्रचण्डकै पालामा भएको थियो । ‘अहिलेसम्ममा समस्या समाधान भइसक्नुपर्ने थियो । उनीहरुले जानीजानी विधेयक पास गराएनन् । अहिले शैक्षिक संकट उत्पन्न हुँदा आन्दोलनकारी शिक्षकका पक्षमा बोल्छन् । विद्यार्थी र अभिभावक मारमा परेको विषयमा उनीहरुको मुखबाट कुनै शब्द निस्किँदैन,’ उनले भने ।

अभिभावक संघका कोशी प्रदेश अध्यक्ष पन्थीले प्रचण्डका पालामा संसदमा लगेर विधेयक फिर्ता हुनु दुर्भाग्यपूर्ण भएको बताए । ‘अहिलेसम्म विधेयक पास नहुनुको मुख्य दोषी प्रचण्ड हुन् । प्रधानमन्त्री केपी शर्मा ओली पनि उत्तिकै जिम्मेवार छन्,’ उनले भने । पन्थीले देवेन्द्र पौडेल अहिलेसम्मकै सबैभन्दा निरंकुश र अदूरदर्शी शिक्षामन्त्री भएको टिप्पणी पनि गरे ।

उनले शिक्षकका माग जायज हुन भने आफू प्रधानमन्त्री भएका बेला प्रचण्डले किन सम्बोधन गरेनन् भनेर प्रश्न उठिरहेको स्मरण गराए । ‘अहिलेका प्रधानमन्त्री ओलीले पनि आफू प्रतिपक्षमा हुँदा शिक्षकका माग जायज हो भनेका थिए । तर, शिक्षकहरु ३ सातादेखि सडकमा हुँदा पनि आफू प्रधानमन्त्री भएका बेला मागको सम्बोधन गर्न किन चासो दिँदैनन् ?,’ प्रश्न गर्दै पन्थीले भने, ‘मुलुकको शिक्षा क्षेत्रलाई ध्वस्त बनाउने काम प्रचण्ड र ओली दुवैले गरेका हुन् । यो हामीले प्रत्यक्ष देखिरहेका र भोगिरहेका छौं ।’

नेपाली जनतालाई शिक्षाबाट अँध्यारोमा राखेर दाश बनाउने मनसाय प्रचण्ड र ओलीमा देखिएको पन्थीको टिप्पणी छ । उनले आन्दोलनको स्वरूप परिवर्तन गरेर शिक्षकहरु कक्षा कोठामा नफर्किए परिणाम राम्रो नहुने चेतावनी दिएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.