संवैधानिक नियुक्ति विवादको फैसला जेठ २८ मा

Share this
723shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १, बिहीबार १९:१४

काठमाडौं । सर्वोच्च अदालतले संवैधानिक निकायका ५२ जना पदाधिकारीको नियुक्ति विवादसँग सम्बन्धित मुद्दामा फैसलाको मिति तोकेको छ ।

मुद्दाको बहस बिहीबारको संवैधानिक इजलासमा सकिएको छ । बहस सकिएपछि जेठ २८ गते निर्णय सुनाउने मिति तोकिएको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले बताए । उनका अनुसार संवैधानिक इजलासले जेठ १६ गतेभित्र बहस नोट पेस गर्न समेत आदेश दिएको छ ।

‘फैसलाअघि बहस नोट पेस गर्ने आदेश भएको छ,’ पाण्डेले भने । प्रधानन्यायाधीश प्रकाशमान सिंह, न्यायाधीशहरू सपना प्रधान मल्ल, डा. मनोजकुमार शर्मा, डा. कुमार चुडाल र नहकुल सुवेदी सम्मिलित संवैधानिक इजलासमा रिटमाथि सुनुवाइ भएको हो ।

२०७७ मंसिर ३० र त्यसपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा अध्यादेश जारी गरी पटक–पटक गरी विभिन्न संवैधानिक निकायमा ५२ जना पदाधिकारी तथा सदस्य नियुक्त भएका थिए ।

प्रतिनिधिसभा विघटन भएका बेला संवैधानिक सुनुवाइ बिना नै संवैधानिक निकायमा नियुक्ति र शपथ गराउनु गैरसंवैधानिक भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओपप्रकाश अर्याललगायतले सर्वोच्चमा रिट दायर गरेका थिए । संवैधानिक निकायका पदाधिकारीको नियुक्ति र शपथ असंवैधानिक रहेको दाबी गर्दै सर्वोच्चमा रिट दायर गरिएको थियो ।

रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र संवैधानिक परिषद्लाई विपक्षी बनाइएको थियो । तर, यो मुद्दाको सुनुवाइ निक्कै लम्बिएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.