
विराटनगर । यसअघि स्थगित गरिएको इण्डियन प्रिमियर लिग (आईपीएल)का खेलहरू आज (शनिबार)देखि सुरु हुँदैछन् ।
भारत–पाकिस्तान तनावका कारण अघिल्लो शुक्रबारबाट आईपीएल रोकिएको थियो । बीसीसीआईको आकस्मिक बैठक बसेर आईपीएल १ साताका लागि स्थगित गर्ने निर्णय भएको थियो । त्यसअघि बिहीबारको खेल चल्दै गर्दा बीचमै आईपीएल रोकियो ।
आईपीएल पुनः सुरु भएपछि पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुने छ । खेल बेलुका ७ः४५ बजेदेखि बेंगलुरुस्थित एम चिन्नास्वामी रंगशालामा सुरु हुने बताइएको छ ।
आईपीएलको प्लेअफ दौडबाट ३ टोली यसअघि नै आउट भइसकेका छन् । अब ७ टिम प्लेअफ होडमा रहँदा तीमध्ये कोलकाता र लखनउको भने सम्भावना सबैभन्दा कम छ ।
शनिबारको खेलमा बेंगलुरु विजयी भए प्लेअफ पुग्ने पहिलो टिम बन्नेछ । कोलकाता बाहिरिने चौथो टिम बन्नेछ । कोलकाता विजयी भएमा प्लेअफको झिनो आशा जीवितै रहनेछ ।
अंकतालिकामा हाल गुजरात टाइटन्स ११ खेलमा १६ अंकसहित शीर्षस्थानमा छ । बेंगलुरु समान खेलमा समान अंकसहित दोस्रोमा छ भने पञ्जाब किङ्स ११ खेलमा १५ अंकसहित तेस्रोमा, मुम्बई १२ खेलमा १४ अंकसहित चौथोमा छ ।
यस्तै, दिल्ली ११ खेलमा १३ अंकसहित पाँचौं, कोलकाता १२ खेलमा ११ अंकसहित छैटौं र लखनउ ११ खेलमा १० अंकसहित सातौं स्थानमा छ । हैदराबाद १२ खेलमा ७ अंकसहित आठौं, राजस्थान १२ खेलमा ६ अंकसहित नवौं र चेन्नई १२ खेलमा ६ अंकसहित १० औं स्थानमा छ ।



















