
विराटनगर । चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले सन् २०२७ सम्म साउदी अरबमै खेल्ने भएका छन् । उनले साउदी अरेबियन क्लब अल–नासरसँग दुई वर्षको सम्झौता गरेका छन् ।
अल–नासर छाडेर रोनाल्डो अन्य क्लबमा जाने चर्चा चलिरहेका बेला पोर्चुगलको राष्ट्रिय टोलीका कप्तानसमेत रहेका रोनाल्डो अल–नासरसँगको सम्झौता दुई वर्ष बढाएका हुन् ।
४० वर्षीय रोनाल्डोको सम्झौता जुन अन्तिममा सकिँदैछ । बिहीबार सामाजिक सञ्जाल मार्फत रोनाल्डोले नयाँ अध्यायको सुरुवात भएको बताएका छन् । ‘एक नयाँ अध्यायको सुरुवात भयो। उही जोश, उही सपना। आयौं मिलेर इतिहास बनाऔं’, उनले स्टाटसमा लेखेका छन् ।
इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड, स्पेनिस रियल म्याड्रिड र इटालियन सिरिए क्लब युभेन्ट्सबाट व्यावसायिक फुटबल खेलिसकेका रोनाल्डोको नेतृत्वमा पोर्चुगलले केही समयअघि यूईएफए नेसन्स लिगको उपाधि जितेको थियो ।
रोनाल्डो सन् २०२३ मा अल–नासरमा आवद्ध भएका थिए । उनले अल–नासरबाट एक सय ११ खेल खेल्दै ९९ गोल गरिसकेका छन् । यस सिजन मात्रै उनले अल–नासरबाट ३० खेल खेल्दै २५ गोल गरेका छन् ।



















