
विराटनगर । विराटनगरको एभरेस्ट बोर्डिङ स्कुलले एसईई परीक्षा उत्तीर्ण गरेका आफ्नो विद्यार्थीहरूलाई सम्मान गरेको छ ।
स्कुलले मंगलबार विराटनगरमा एक कार्यक्रमका बीच विद्यार्थी र अभिभावकलाई सम्मान गरेको हो । यस वर्ष स्कुलबाट १ सय ७१ जना विद्यार्थीले एसईईको परीक्षा दिएका थिए ।
एसईई दिएका मध्ये प्रेम खतिवडा र कृति गोयलले ४ जीपीए ल्याएका छन् ।
यी मध्ये १ सय ३३ जनाले ३.६१ देखि ४.० जीपीए र ३८ जनाले ३.२१ देखि ३.६० जीपीए ल्याएर परीक्षा उत्तीर्ण भएका स्कुलले जनाएको छ ।
कार्यक्रममा बोल्दै स्कुलका प्रिन्सिपल टीकाराम पुरीले शिक्षक, विद्यार्थी र अभिभावहरूले गरेको मेहनतले नतिजा उत्कृष्ट आउन सफल भएको बताए ।
उनले भने, ‘हाम्रो विद्यालयले प्रत्येक वर्ष एसईईमा उत्कृष्ट नतिजा ल्याउँदै आएको छ । सबै पक्षको मेहनतकै कारण नतिजा राम्रो आउन सकेको हो । एभरेस्ट एक स्थापित ब्रान्ड हो ।’
प्रिन्सिपल पुरीले भने, ‘अभिभावकहरूको आफ्ना छोराछोरीप्रति ठुलो आशा र भरोसा हुन्छ । यो अभिनन्दन त्यही आशा र भरोसाको सम्मान स्वरूप हो ।’

























