मनमोहन पोलिटेक्निकका विद्यार्थीले बनाए ‘स्मार्ट फार्म’ र सोलार ‘पोडवे’

Share this
711shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक २५, मंगलबार ११:५८

विराटनगर । कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालय अन्तर्गतको मनमोहन पोलिटेक्निकका विद्यार्थीहरूले कृषि कार्यका लागि एकै मेसिनबाट धेरै काम गर्न सकिने ‘स्मार्ट फार्म’ उपकरणसहित विभिन्न मेसिन र प्रणालीहरूको निर्माण गरेका छन् ।

पोलिटेक्निकको तीनवर्षे डिप्लोमा तहमा अध्ययनरत अन्तिम वर्षका विद्यार्थीहरूले कृषि तथा सहरी व्यवस्थापनलाई लक्षित गरी यी उपकरणहरू प्रदर्शन गरेका हुन् । इलेक्ट्रिकल इन्जिनियरिङतर्फका विद्यार्थीहरूको समूहले निर्माण गरेको यो उपकरण रिमोटबाटै सञ्चालन गर्न सकिन्छ। यस मेसिनबाट धान काट्ने, दाइँ गर्ने, मल हाल्ने, पानी व्यवस्थापन गर्ने, छर्ने र जोत्ने लगायतका कामहरू एउटै मेसिनबाट गर्न सकिन्छ। विद्यार्थीहरूले आइतबार यसको डेमो सञ्चालन गरी प्रदर्शन गरेका थिए ।

इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङतर्फका विद्यार्थीहरूले स्मार्ट सिटीका लागि सोलारबाट चल्ने ‘पोडवे’ समेत निर्माण गरेका छन्। यो समूहले विषादी छर्ने मेसिन पनि बनाएको छ। उनीहरूले पनि आइतबार उत्कृष्ट सोलार पोडवेको डेमो सञ्चालन गरेका थिए।

आईटी विभागका विद्यार्थीहरूले रक्तदातालाई सहयोग पुर्‍याउने ब्लड डोनेसन पोर्टल, कर्मचारीको कार्य व्यवस्थापन प्रणाली, दर्ता चलाउने प्रणाली र अनलाइनमार्फत व्यापार गर्न सकिने सजिलो मार्ट लगायतका सफ्टवेयरहरू प्रदर्शन गरेका थिए । मेकानिकलतर्फका विद्यार्थीहरूले घुमफिर गर्ने ‘होचो अनलोड बोगी’, अटोमेटिक वासिङ मेसिन र अटोमेटिक राइस प्लान्टरजस्ता उपकरणहरूको डेमो प्रदर्शन गरे ।

सिभिलतर्फका विद्यार्थीहरूले भूकम्प प्रतिरोधी पुरानो मोडलको घर, आधुनिक धर्मशाला, मल्टिपर्पज कम्प्लेक्स र व्यापारिक मल लगायतका ७ वटा डेमो प्रदर्शन गरेका थिए । मनमोहन पोलिटेक्निकमा डिप्लोमा तहमा पास आउट भएर जाने विद्यार्थीहरूले हरेक वर्ष आफूहरूले बनाएका विभिन्न उपकरणहरूको प्रदर्शन गर्दै आएका छन् । तर, विद्यार्थीहरूले बनाएका यी उपकरणहरूको व्यावसायिक प्रयोग मा निजी र सरकारी क्षेत्रबाट चासो नदेखाउँदा ती सबै परियोजनाहरू गोदाममा थन्किने गरेको पोलिटेक्निकका प्राचार्य सुदिप अधिकारीले बताए ।

विद्यार्थीहरूले बनाएका उपकरणहरू अवलोकन गर्न विश्वविद्यालयका उपकुलपति डा. सुवाषश्री पोखरेल, उद्योग सङ्गठन मोरङका अध्यक्ष नन्दकिशोर राठी, कार्यकारी महानिर्देशक चुडामणि भट्टराई, कृषि उद्यममा सक्रिय उद्योगी सोमप्रसाद अधिकारी, धरानका कम्प्युटर विभाग प्रमुख मनोज गुरागाईँ, प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका कर्मचारी र बुढीगंगा गाउँपालिकाका जनप्रतिनिधिसहित सभासद तथा संरक्षण अधिकृतहरू पुगेका थिए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.