
सुनसरी । शीतलहरको प्रभाव तीव्र बन्दै गएपछि जनजीवन प्रभावित भएको छ । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा असर पर्न सक्ने देखिएपछि सुनसरीका विद्यालय बुधबारदेखि ३ दिनका लागि बन्द गरिएको छ ।
सुनसरीका सबै स्थानीय तहले सामुदायिक तथा संस्थागत विद्यालयहरूमा पुस १८ गतेसम्म पठनपाठन स्थगित गर्ने निर्णय गरेका हुन् । स्थानीय तहहरूका अनुसार विद्यालय बिदा सञ्चित वार्षिक बिदाबाट कट्टा हुने गरी दिइएको हो ।
इटहरी उपमहानगरपालिकाले चिसोका कारण विद्यार्थीहरूमा रुघाखोकी, ज्वरो तथा अन्य स्वास्थ्य समस्या देखिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको जनाएको छ । उपमहानगरको शिक्षा शाखाका प्रमुख रमेशकुमार साहले चिसो मौसममा साना बालबालिका सबैभन्दा बढी जोखिममा पर्ने भएकाले उनीहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर यस्तो निर्णय गरिएको बताए ।
इटहरीसँगै इनरुवा नगरपालिका, दुहबी नगरपालिका, रामधुनी नगरपालिका, कोशी गाउँपालिका, हरिनगर गाउँपालिकालगायत सुनसरीका सबै स्थानीय तहले पनि समान निर्णय कार्यान्वयनमा ल्याएका छन् । चिसो अझै केही दिन कायम रहने मौसम पूर्वानुमान रहेकाले सावधानीका रूपमा विद्यालय बन्द गरिएको स्थानीय तहहरूको भनाइ छ ।
स्थानीय तहहरूले अभिभावकहरूलाई आफ्ना बालबालिकालाई घरमै न्यानो वातावरणमा राख्न, तातो लुगा लगाइदिन र चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् । साथै, अत्यावश्यक कामबाहेक बिहान एवं रातिको समयमा बाहिर ननिस्कन र स्वास्थ्यमा समस्या देखिए नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ ।



















