
काठमाडौँ । नेपाल बीमा प्राधिकरणले विद्यालय तहको पाठ्यपुस्तकमा बीमा शिक्षा समावेश गर्ने प्रक्रिया अगाडि बढाएको छ। प्राधिकरणले ललितपुरको कुपण्डोलस्थित आफ्नै कार्यालयमा पाठ्यक्रम विकास केन्द्र, राष्ट्रिय परीक्षा बोर्ड र शैक्षिक विज्ञहरूसँग अन्तरक्रिया गरी यस विषयमा ठोस छलफल गरेको हो। विद्यालय तहको अनिवार्य विषय ‘सामाजिक अध्ययन’ को पाठ्यक्रम परिमार्जन गर्दा बीमाका विषयवस्तुलाई प्राथमिकताका साथ समेट्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो।
प्राधिकरणका अध्यक्ष जनकराज शर्माले विद्यालय तहदेखि नै बीमाको महत्त्व बुझाउन आवश्यक रहेको बताउँदै यसलाई मानव जीवनको अभिन्न अङ्गका रूपमा विकास गर्नुपर्नेमा जोड दिए। सानैदेखि बीमाबारे जागरूक गराउन सके जीवन र सम्पत्तिको वित्तीय सुरक्षण हुनुका साथै मुलुकको आर्थिक विकासमा समेत टेवा पुग्ने उनको भनाइ छ।
पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेलले पाठ्यक्रम परिमार्जनको क्रममा बीमा शिक्षालाई सन्तुलित रूपमा समावेश गरिने र आगामी २०८४ सालको शैक्षिक सत्रदेखि देशभर लागू गरिने जानकारी दिए।
अन्तरक्रियामा कक्षा ४ देखि १२ सम्मको सामाजिक अध्ययन विषयमा बीमाका कुन-कुन पक्ष समावेश गर्न सकिन्छ भन्नेबारे विस्तृत मन्थन भएको थियो। प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले प्रस्तावित पाठ्यक्रम र शिक्षक निर्देशिकाका लागि आवश्यक विषयवस्तु पहिचान गरी केन्द्रलाई सुझाव उपलब्ध गराउने बताए। यस पहलले विद्यार्थीहरूमा वित्तीय साक्षरता बढ्ने र भविष्यमा बीमाको पहुँच विस्तारमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

























