
काठमाडौं । नेपाल संगीत उद्योग संघले नक्कली कागजात बनाएर नेपालीलाई विदेश पठाएको आशंका गरिएको छ ।
नक्कली कागजातका आधारमा विदेश पठाउने गरेको सूचनाका आधारमा प्रहरीले संघको कार्यालयमा बुधबार छापा हानेको छ । अनामनगरस्थित संघको कार्यालयमा नेपाल प्रहरीको मानव बेचबिखन ब्यूरोले छापा मारेको हो ।
छापा हानेर प्रहरीले कार्यालयभित्र रहेका कम्प्युटर र कागजात नियन्त्रणमा लिएको छ । नक्कली कागजात बनाएर नेपालीलाई विदेश पठाउने गरेको सूचनाका आधारमा छापा हानिएको ब्यूरोका एसएसपी ओम रानाले बताए ।
उनका अनुसार अनुसन्धानका लागि कम्प्युटर र कागजात बरामद गरिएको हो । उद्योग संघका पदाधिकारीकै रोहबरमा कार्यालयमा छापा हानिएको एसएसपी राना बताउँछन् । वास्तविकता थप अनुसन्धानपछि पत्ता लाग्ने उनको भनाइ छ ।

























