
काठमाडौं । रौतहटको गौर नगरपालिका–१ स्थित कानुपट्टी सीमा क्षेत्रबाट ९ एमएमका २७ थान गोली बरामद गरिएको छ।
सशस्त्र प्रहरी बल नेपालका सीमा सुरक्षा गुल्म हेड क्वाटर गौर र भन्सार सुरक्षा गार्ड गौरबाट खटिएको संयुक्त गस्ती टोलीले मंगलबार सीमा क्षेत्रमा गस्ती गर्ने क्रममा गोली बरामद गरेको हो।
गस्ती टोलीले कानुपट्टी सीमा क्षेत्रमा बेवारिसे अवस्थामा रहेको सेतो प्लास्टिकको झोलाभित्र ९ एमएमका गोलीजस्तो देखिने २७ थान वस्तु फेला पारेको जनाएको छ।
बरामद गोली कसले, कुन प्रयोजनका लागि र कसरी उक्त स्थानमा छाडेको भन्ने खुलेको छैन। घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने सशस्त्र प्रहरीले जनाएको छ।

























