कोशी ब्यारेजबाट वन्यजन्तुको चोरी सिकारीमा संलग्न पूर्वडीआईजीसहित १० जना पक्राउ

Share this
696shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ १३, बिहीबार ११:२५

विराटनगर । वन्यजन्तुको अवैध चोरी सिकारी गर्दै गरेको अवस्थामा नेपाल प्रहरीका पूर्वडीआईजीसहित १० जना सप्तकोशी नदी किनार क्षेत्रबाट पक्राउ परेका छन् ।

वन्यजन्तुको अवैध चोरी सिकारीमा संलग्न पूर्वडीआईजी र बहालवाला प्रहरी कोशी ब्यारेजनजिकैबाट पक्राउ परे पनि प्रहरीले घटनाको आधिकारिक पुष्टि गरिसकेको छैन । नेपाल प्रहरीका पूर्वडीआईजी सुनसरीको इटहरी उपमहानगरपालिका–२ घर भएका ६१ वर्षीय ज्ञानविक्रम शाह, बहालवाला सइ विराटनगर महानगरपालिका–३ का ४४ वर्षीय सञ्जय न्यौपानेलगायतलाई प्रहरीले बुधबार राति पक्राउ गरेको हो ।

पक्राउ पर्ने अन्यमा सप्तरीको तिरहुत गाउँपालिका–१ का ५१ वर्षीय लक्ष्मण मण्डल, हुनमाननगर कंकालिनी नगरपालिका–१ का ५० वर्षीय लक्ष्मण मण्डल, हुनमाननगर कंकालिनी–२ का ५१ वर्षीय जनार्दन राउत, हुनमाननगर कंकालिनी–३ का ५१ वर्षीय शंकरप्रसाद यादव, हुनमाननगर कंकालिनी–५ का २३ वर्षीय ओमशंकर प्रसैला, हुनमाननगर कंकालिनी–८ का ३७ वर्षीय आकाश यादव, राजविराज नगरपालिका–७ का २५ वर्षीय रविन दास र सुनसरीको इटहरी उपमहानगरपालिका–२० का ३३ वर्षीय प्रदीप लिम्बू रहेका छन् ।

उनीहरुलाई सप्तरीको हनुमाननगर कंकालिनीको भारदह क्षेत्रबाट पक्राउ गरिएको प्रहरी स्रोतले बतायो । स्रोतका अनुसार पक्राउ परेकाहरुले प्वाइन्ट २–२ क्यालिबर राइफल लिएर वन्यजन्तुको अवैध सिकार गरिरहेका थिए ।

उनीहरुको साथबाट राइफल १, म्याग्जिन २, गोली १५ राउण्ड, बाइनाकुलर ३, ट्राइपोर्ट १ फलामको हथौडा १, खुर्पा १, प्रदेश ३–०१–०२२ च ६८५५ नम्बरको स्कोरपिओ गाडी, को २ त ६९ नम्बरको ट्याक्टर र एउटा मृत बँदेल बरामद भएको छ । गोली हानेर मारेको अवस्थामा बँदेल फेला परेको प्रहरी स्रोतले बतायो ।

स्रोतका अनुसार पूर्वडीआईजी शाह पहिल्यैदेखि वन्यजन्तुको सिकार खेल्न सौखिन थिए । प्रहरी सेवाबाट अवकाश पाइसकेपछि उनी व्यापार–व्यवसायमा पनि लागेका थिए ।

विवादित व्यवसायी भीम पौडेलसँग साझेदारमा रहेर फनपार्कलगायत चलाउने गरेको बताइएको छ । उनीहरुले इटहरी–२ तालतलैयानजिकै ‘इपिल्याण्ड एन्ड वाटरपार्क’ सञ्चालन गरिरहेका छन् ।

मधेस प्रदेशका प्रहरी प्रमुख डीआईजी यज्ञविनोद पोखरेलले यस विषयमा अनुसन्धान भइरहेको बताए । ‘धान खान आएको बँदेललाई गाउँलेले मारेको भन्ने कुरा पनि छ,’ उनले भने, ‘कुरो के हो भनेर हामी बुझ्दै छौं ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.