बेलबारीमा बेहोस हुनेगरी शिक्षकले कुटे विद्यार्थी, एमालेको दबाबमा घटना सामसुम पारिँदै

Share this
733shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ १९, बुधबार १३:४२

विराटनगर । मोरङको बेलबारी नगरपालिका–३ मा रहेको श्री भगवती माध्यमिक विद्यालयका शिक्षकले बेहोस हुनेगरी विद्यार्थीलाई कुटपिट गरेका छन् ।

बेलबारी–३ घर भएका शिक्षक चित्रबहादुर कोइरालाको कुटाइबाट कक्षा ९ मा अध्ययनरत १४ वर्षीया शर्मीला तामाङ बेहोस भएकी हुन् । होहल्ला गरेको र नपढेको भनेर कोइरालाले मंगलबार अपरान्ह ४ः१५ बजेतिर छात्रालाई कक्षा कोठाभित्रै कुटेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हातले ढाडमा हिर्काउँदा छात्रा बेहोस भएकी थिइन् । कुटपिटबाट बेहोस भएकी तामाङलाई उपचारका लागि बेलबारीकै सुविधा मेडिकलमा भर्ना गरिएको थियो ।

त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइयो । छात्रालाई बाहिरी चोटपटक भने देखिएको छैन । अहिले अवस्था सामान्य रहेको विद्यालयले जनाएको छ ।

कोइरालालाई मंगलबार साँझ नै नियन्त्रणमा लिए्को प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको सइ नेतृत्वको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो । यद्यपि, छात्राका अभिभावकले कोइरालाविरुद्ध जाहेरी दिएका छैनन् ।

विद्यालयका प्रधानाध्यापक नारायण आचार्यले पढाउने क्रममा होहल्ला गरेपछि शिक्षक कोइरालाले विद्यार्थी कुटेको स्वीकार गरे । ‘अन्तिम कक्षा चलिरहेको थियो । त्यही बेला होहल्ला गरेपछि गालामा ‘प्याट्ट’ कुट्नु भएछ,’ उनले भने, ‘त्यसपछि छात्रा एकछिन बेहोस भइछन् । पहिलेदेखि नै बिरामी पनि रहिछन् ।’

कुटाइका कारण छात्रा एकछिन बेहोस भएको र उपचारपछि अवस्था सामान्य भएसँगै घर फिर्ता गरिएको प्रअ आचार्यले बताए । शिक्षकको कुटाइबाट बेहोस भएकी छात्रा बुधबार विद्यालय आएकी छैनन् । ‘अभिभावकको जिम्मा लगाइसकेका थियौं । तर, आज पढ्न आएकी छैनन्,’ आचार्यले भने ।

शिक्षकको कुटाइले छात्रा बेहोस भएको यति गम्भीर घटनालाई भने सत्तारुढ नेकपा (एमाले)को दबाबमा सामसुम पारिँदै छ । शिक्षक कोइराला एमालेबाट बेलबारीको मेयरमा निर्वाचित भएका मेयर दिलप्रसाद राई (डीपी)का छिमेकी पनि हुन् । कोइराला आफैं पनि एमालेमा सक्रिय छन् ।

बालिका (छात्रा)को घर बेलबारी–३ खोरिया टोलमा पर्छ । उनका अभिभावकको पारिवारिक आर्थिक अवस्था कमजोर छ । केही पर्दा बोलिदिने कोही छैनन् । त्यही मौका छोपेर घटनालाई भित्रभित्रै दबाउन खोजिएको स्थानीयको बुझाइ छ ।

बेलबारीका मेयर राईदेखि एमालेका नेताको दबाब र सत्ताको बलमा शिक्षकलाई उन्मुक्ति दिन खोजिएको आरोप लागेको छ ।

प्रहरीले पनि शिक्षक कोइरालालाई छाडिदिइसकेको छ । पीडित पक्षबाट जाहेरी नपरेका कारण आवश्यक परेका बेला उपस्थित हुने गरी छाडिएको प्रहरी स्रोतले बतायो । ‘कुटपिटको घटना प्रहरीले हेर्दैन । यो व्यक्तिवादी देवानी मुद्दा हो,’ प्रहरी स्रोतले भन्यो, ‘कुनै हिसाबको जाहेरी पनि परेन । त्यत्तिकै राखिरहन नमिल्ने भएकाले बोलाएका बेला उपस्थित हुने सर्तमा छाडिएको हो ।’

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले भने घटनाका विषयमा थप बुझ्ने काम भइरहेको बताए । बेलबारीका मेयर राईदेखि एमालेका नेताको दबाब र सत्ताको बलमा शिक्षकलाई उन्मुक्ति दिन खोजिएको आरोप लागेको छ । विद्यार्थी बेहोस भएर उपचाररत रहेकै अवस्थामा पीडकलाई प्रहरीले छाडिदिनुले पनि घटना दबाउन सबै पक्षको मिलेमतो रहेको प्रष्ट हुने विद्यालयका अर्का शिक्षकले बताए ।

पीडित बालिकाका काका कूलबहादुर तामाङले सबैले दबाब दिएपछि आफूहरुको केही नलागेको बताए । ‘टाउको र जिउमा ‘मास्टर’ले कुटेर बेहोस बनाएका रहेछन् । प्रहरीले पक्राउ पनि गरेको थियो,’ उनले भने, ‘तर, यो सानो कुरा हो र नानीलाई केही भएको छैनभन्दै सबैले दबाब दिएपछि हामीले मात्रै केही गर्न सकेनौं । सबै पक्ष छलफल गरेर मिल्नुपर्छ भनी दिउँसो ४ बजे स्कुलमा बोलाएका छन् ।’

बेलबारीमा उपचार गराउँदा पनि होस नआएपछि भतिजीलाई थप उपचारका लागि विराटनगर लैजानु परेको तामाङले बताए । ‘अस्पतालबाट डिस्चार्ज त गरेर ल्याइयो । तर, अहिले पनि घाँटी दुखेर उठ्न सकिरहेकी छैन,’ उनले भने, ‘घाँटी उठाउनै भएको छैन । मिलापत्र गर्नका लागि स्कुलमा मिटिङ राखेका छन् ।’

मेयर राईले घटनाका बारेमा आफूलाई जानकारी रहेको बताए । ‘घटनाको जानकारी भएपनि सबै कुरा मलाई थाहा छैन । तर, मैले नै बेलबारीबाट थप उपचारका लागि विराटनगर लैजानु भनेको हुँ,’ उनी भन्छन्, ‘विद्यालयकै शिक्षक, विद्यार्थी र अभिभावकको सहमतिमै शिक्षकलाई प्रहरीले छाडिदिएको भन्ने सुनेको छु । घटना मिलाउन मैले कुनै दबाब दिएको छैन ।’

विद्यालयका प्रअ आचार्यले घटनाका विषयमा पीडित विद्यार्थीका अभिभावक र शिक्षकलाई राखेर मौखिक सहमति गराउने तयारी भइरहेको बताए ।

घटना भएपछि पक्राउ गरिएको नभइकन शिक्षक कोइरालालाई सुरक्षाका दृष्टिकोणले प्रहरीले लिएर गएको राईको भनाइ छ । घटनाका विषयमा छलफल गर्न विद्यालयले दिउँसो ४ बजे सर्वपक्षीय छलफल राखेको कुरा सुन्नमा आएको उनले बताए ।

विद्यालयका प्रअ आचार्यले घटनाका विषयमा पीडित विद्यार्थीका अभिभावक र शिक्षकलाई राखेर मौखिक सहमति गराउने तयारी भइरहेको बताए । विद्यालयको शैक्षिक वातावरणलाई सहज बनाउन पनि सहमति आवश्यक देखिएको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.