
विराटनगर । संखुवासभाको मुढेशनिश्चरे माइती भएकी अस्मिता पौडेलले कक्षा ९ मा पढ्दै गर्दा धनकुटाको पाख्रिबास नगरपालिका–५ घर भएका अर्जुन कार्कीसँग प्रेम विवाह गरिन् ।
अहिले २१ वर्ष मात्रै पुगेकी उनी बिहे गर्दा १५ वर्षकी थिइन् । अर्जुन अहिले ३१ वर्षका भए । अर्जुनसँग २०७५ साल फागुन ९ गते भागेर बालविवाह गरेकी अस्मिताबाट २ छोरीको जायजन्म भयो । छरछिमेकी र आफन्तका अनुसार पति (श्रीमान) अर्जुन एवं पत्नी (श्रीमती) अस्मिताबीचको सम्बन्ध नराम्रो थिएन ।
अस्मिताका माइती पक्षले पनि सम्बन्धमा खटपट भएको सुनेका थिएनन् । पत्नी र २ नाबालिका छोरीसहित अर्जुन गत वैशाखदेखि मोरङको सुन्दरहरैँचा नगरपालिका–७ मा बस्दै आएका थिए । नजिकै नयाँ घर पनि बनाउँदै थिए ।

अर्जुन कार्कीले मोरङको सुन्दरहरैँचा–७ मा बनाउँदै गरेको नयाँ घर ।
उनको इटहरी–भोजपुर चल्ने आफ्नै ट्याक्सी छ । ट्याक्सी आफैं चलाउँछन् । गाडी लिएर भोजपुर गएका उनी ३ दिनपछि भदौ १४ गते फर्किए । निर्माणाधीन घरमा पानी नलगाएको विषयलाई लिएर पत्नीसँग साँझ विवाद भयो ।
आमाले लिएर गएका तिनै अवोध नाबालिकाहरु भदौ १५ गते दिउँसो सुन्दरहरैँचा–७ का नारायण न्यौपानेको केराबारीमा मृत फेला परे । घटनास्थलमा पुगेर अर्जुनले आफ्नै छोरीहरु हुन् भनी सनाखत गरिदिए । तर, अस्मिता फेला परिनन् ।
पतिसँग विवाद भएपछि छोरीहरु १ वर्षीया आइङ्का र ३ वर्षीया अर्पणा कार्कीलाई लिएर अस्मिता हिँडिन् । तर, फर्किएर आइनन् । नानीहरु अब त कहिल्यै फर्किनेवाला छैनन् । त्यसअघि पनि विवाद हुँदा छोरीहरु लिएर हिँड्ने र पछि फर्किएर आउने गरेको अर्जुनले प्रहरीलाई बताएका छन् ।

अर्जुन कार्कीको परिवार डेरा बस्दै आएको घर ।
आफन्त र छरछिमेकीको सहयोग लिएर अर्जुनले पत्नी र नाबालिका छोरीहरुको रातभर खोजी गरे । फेला नपरेपछि भदौ १५ गते बिहानका राति ३ बजेतिर गछियामा रहेको प्रहरी चौकीमा पुगेर उनले घटनाको जानकारी गराए । प्रहरीले पनि खोजीमा सहयोग गर्यो ।
आमाले लिएर गएका तिनै अवोध नाबालिकाहरु भोलिपल्ट अर्थात भदौ १५ गते दिउँसो सुन्दरहरैँचा–७ का नारायण न्यौपानेको केरा बगानमा मृत फेला परे । घटनास्थलमा पुगेर अर्जुनले आफ्नै छोरीहरु हुन् भनी सनाखत गरिदिए । तर, अस्मिता भने फेला परिनन् ।
प्रहरीले उनलाई झापाको बिर्तामोड नगरपालिका–५ पूर्व–पश्चिम लोकमार्गनजिक एभरेष्ट बैंक अगाडि हिँडिरहेका बेला गत बुधबार बिहान फेला पार्यो । शारीरिक अवस्था एकदमै नाजुक रहेको र सडकमा भौतारिएर हिँडिरहेको विक्षिप्त अवस्थामा अस्मिता भेटिएकी थिइन् । नियन्त्रणमा लिएर सोधपुछ गर्दा विष खुवाएर २ नाबालिका छोरीहरुको हत्या आफैंले गरेको स्वीकार गरिन् ।

नाबालिका छोरीहरुको हत्या स्वीकार गरेकी अस्मिता पौडेल (कार्की) ।
प्रहरीले पनि विष खुवाएर कलिला नानीहरुको हत्या आमा अस्मिताले नै गरेको निष्कर्ष निकालेको छ । नानीहरु लिएर हिँडेको केहीबेरमा आफूले विष खाएको र उनीहरुलाई पनि खुवाएको बताउँदै अस्मिताले भनेकी थिइन्, ‘पतिले दिएको ‘टर्चर’ सहन नसकेपछि दुवै छोरीलाई लिएर हिँडे । विष पनि लगेकी थिएँ । छोरीहरुलाई मात्रै छाडेर एक्लै मर्न मन लागेन । सुरुमा मैले खाएँ । छात्ती पोल्न थालेपछि अब चैं मर्छु होला भनेर छोरीहरुलाई समेत खुवाएँ । उनीहरु मरे । तर, म चैं मरिन ।’
पतिले धेरै पहिलेदेखि तनाव दिँदै आएकाले अति भएपछि आफू पनि मर्ने र छोरीहरुलाई समेत मार्ने योजना अनुरुप घटना गराएको उनको जिकिर थियो । अस्मिताले आफ्नै सन्तानमाथि यत्रो अकर्म (कुकर्म) किन गरिन् भनेर सर्वत्र चासो र चिन्ता बढ्यो ।
पतिसँग रिस उठ्दा विष खुवाएर छोरीहरुको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । नानीहरुको शव फेला परेको स्थानमा कीटनाशक औषधिको बट्टा फेला परेको थियो ।
मानसिक समस्याका कारण अकल्पनीय र दर्दनाक घटना गरेको हुनसक्ने अनुमान प्रहरीले गरेको थियो । तर, स्वास्थ्य परीक्षण गराउँदा उनलाई मानसिक समस्या नरहेको पत्ता लाग्यो । विगतमा पनि मानसिक समस्याको औषधि सेवन गरेको देखिएन । अस्मिताको उपचार र स्वास्थ्य परीक्षण विराटनगरको कोशी अस्पतालमा गराइएको थियो ।
अर्को कुरा स्वास्थ्य परीक्षण गराउँदा उनले विष सेवन गरेको वा नगरेको भनेर यकिन हुन सकेन । ‘कसैले विष सेवन गर्दा त्यसको असर ७२ घण्टा (३ दिन)भित्रमा देखिँदो रहेछ । तर, अस्मिता फेला पर्दा ५ दिन बितिसकेको थियो,’ मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले भने, ‘अस्पताल लगेर परीक्षण गराउँदा विष सेवन गरेको वा नगरेको भनेर छुट्टिएन । थोरै सेवन गरेकाले पनि शरीरमा असर नपरेको हुनसक्छ ।’
स्वास्थ्य परीक्षणबाट पनि यकिन हुन नसकेपछि विष सेवनका विषयमा अस्मिताकै बयानमा भर पर्नुपर्ने अवस्था आएको प्रहरी स्रोतले बतायो । इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले यस घटनाको थप अनुसन्धान गरिरहेको छ ।
विस्तृत अनुसन्धानबाट थप विषय पत्ता लाग्ने एसपी कार्कीको भनाइ छ । उनका अनुसार पतिसँग रिस उठ्दा विष खुवाएर छोरीहरुको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । नानीहरुको शव फेला परेको स्थानमा कीटनाशक औषधिको बट्टा पनि भेटिएको थियो ।
त्यही आधारमा अस्मिताले नाबालिका छोरीहरुलाई विष खुवाएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । दुवै शवको पोस्टमार्टम धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थियो । यद्यपि, पोस्टमार्टम रिपोर्ट प्राप्त भइनसकेको प्रहरीले जनाएको छ । विषका कारण नाबालिकाहरुको ज्यान गएको हो कि हैन भनेर रिपोर्टबाट मात्रै प्रष्ट हुने एसपी कार्की बताउँछन् ।

नाबालिका छोरीहरुको हत्यामा संलग्न अस्मितालाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिँदै ।
‘आमाको मानसिक अवस्था ठीक छ । स्वास्थ्य परीक्षण गराउँदा मानसिक समस्या देखिन । आमाले विष सेवन गरेको वा नगरेको भनेर छुट्टिएन,’ उनले भने, ‘कल्पना नै गर्न नसकिने र सुन्दै शरीर सिरिङ्ग हुने घटना आमाबाट कसरी सम्भव भयो भनेर खोजी गर्दै छौं । अस्मिताविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ । यो घटना पति–पत्नी बीचको विवादसँग जोडिएको देखिन्छ ।’
अस्मिताका मामा उत्तरकुमार खड्काले घटनापछि परिवार र आफन्त शोकमा डुबेको बताए । ‘यो घटनापछि केही सोच्नै सकिरहेका छैनौं । कसरी यस्तो हुन पुग्ने भनेर अचम्ममा परेका छौं । भान्जीले यस्तो अपराध गर्लिन् भन्ने कल्पनासमेत थिएन,’ शिक्षकसमेत रहेका उनले भने, ‘सबै तनावमा छौं । सहनलाई गाह्रो परिरहेको छ । परिवार र आफन्तमा बज्रपात परेको छ ।’
उत्तरकुमारकी काइँली दिदीकी माहिली छोरी हुन्, अस्मिता । ‘भान्जीले स्कुल पढ्दापढ्दै बिहे गरेकी हुन् । त्यतिबेला उनी नाबालकै थिइन् । ९ कक्षामा पढ्थिन्,’ उनले भने, ‘सानै उमेरमा आफैंले बिहे गरेपनि माइतीतिर सम्बन्ध राम्रो थियो । नियमित आउजाउ भइरहन्थ्यो । भान्जी र ज्वाईं (अर्जुन)बीचमा नराम्रो सुनेका थिएनौं ।’
माइती आउँदा पनि ज्वाईंले नराम्रो गरेको र ‘टर्चर’ दिएको कुरा भान्जीले नसुनाएको उत्तरकुमारको भनाइ छ । ‘ज्वाईंले नराम्रो नै गर्ने भए त माइतीमा सुनाउनुपर्ने हो, हामीलाई भन्नुपर्ने हो । दुवै जना मिलेर राम्रैसँग गरिखाँदै गरेको सुनेको थिएँ,’ उत्तरकुमार भन्छन्, ‘छरछिमेकीले पनि सम्बन्ध राम्रै रहेको सुनाउँछन् । भान्जीमा यसअघि मानसिक समस्या पनि थिएन ।’
माइती जाँदा पनि तनावका कुरा गरेको थाहा नभएको उनले बताए । भने, ‘आजसम्म हामीलाई नराम्रो थाहा भएन । तर, अचानक यत्रो अपराध कसरी भयो भनेर हामी नै आश्चर्यमा परिरहेका छौं । प्रहरीले अनुसन्धान गरेर सबै पत्ता लगाउला ।’

























