
विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका–७ कल्याण चोकबाट लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)का कारोबारीलाई प्रहरीले घरेलु हतियार तरबारसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा २८ वर्षीय ललित गुरुङ रहेका छन् । लागुऔषधको कारोबार गरिरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको टोलीले सोमबार साँझ ६ बजेतिर गुरुङलाई पक्राउ गरेको हो ।
गुरुङको घर खातलासी गर्दा एउटा तरबारसहित खैरो हेरोइनजस्तो देखिने पदार्थ ३ ग्राम ३ सय ५० मिलिग्राम, डिटिजल तराजु, ८ हजार १ सय २० रूपैयाँ नगद बरामद भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालले बताए । उनका अनुसार पक्राउ परेका गुरुङविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने तयारी छ ।
त्यस्तै, मोरङको बूढीगंगा गाउँपालिका–२ गंगा चोकबाट लागुऔषधसहित १ जना पक्राउ परेका छन् । पैदल हिँडिरहेका बेला सुन्दरहरैँचा नगरपालिका–७ का अन्दाजी २० वर्षीय रूपेश चौधरीलाई साँझ ७ बजेतिर पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुवै खुट्टाको तिघ्रामा कालो कपडाले बेरेर लुकाइछिपाइ ल्याउँदै गरेको एभिल ५ एम्पुल, डाइजेपाम ५ एम्पुल र फेनारगन ७ एम्पुल फेला परेको थियो । चौधरीलाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको छ ।

























