
विराटनगर । मोरङको छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउन सुगर र नियन्त्रित औषधिसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङको पथरीशनिश्चरे नगरपालिका–का २८ वर्षीय ललित गुरुङलाई ब्राउन सुगरसहित पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी भीमबहादुर दाहालले जानकारी दिए ।
उनका अनुसार गुरुङले घरमा ब्राउन सुगर बेचबिखन गर्दै गरेको सूचनाका आधारमा घर खानतलासी गर्दा लुकाइछिपाई राखेको अवस्थामा ब्राउन सगुर फेला परेको हो ।
सोमबार साँझ ६ बजेतिर गुरुङको घरबाट ब्राउन सुगर ३ ग्राम ३ सय ५० मिलीग्राम बरामद भएको बताउँदै, एसएसपी दाहालले भने, ‘पक्राउ गरेको गुरुङले घरबाटै लागुऔषध ब्राउन सुगरको कारोबार गर्ने गरेको सूचनाको आधारमा घरमा छापा हानेका हौं ।’
गुरुङलाई इलाका प्रहरी कार्यालय पथरीमा राखेर थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।
त्यस्तै, बुढीगंगा गाउँपालिका–२ गंगा चोकबाट प्रतिबन्धित औषधिसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सुन्दरहरैंचा नगरपालिका–७ का २० वर्षीय रुपेश चौधरीलाई प्रतिबन्धित औषधिसहित पक्राउ गरेको एसएसपी दाहालले बताए ।
बाँसबारीको सिआरभीको टोलीले शंका लागि चेक गर्दा उनको साथबाट एभिल, डाइजेपाम र फेनारगन १७ एम्पुल बरामद भएको थियो । चैधरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, सुनसरीको बराहक्षेत्र नगरपालिका–६ स्थित सप्तकोशी नदीबाट बेवारिसे अवस्थामा लागुऔषध गाँजा प्रहरीले बरामद गरेको छ ।
भदौ २५ गते बिहान १ बजेतिर इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले नदीमा ३ वटा ट्यूवमाथि २ सय ४८ किलोग्राम (८ बोरा) लागुऔषध गाँजा बग्दै गरेको अवस्थामा फेला पारेको हो ।
बरामद भएको गाँजा नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























