कटहरीको कृषि एक्स्पो सकियो, करिब १ लाख सहभागी

Share this
800shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ ३०, आइतबार १८:५४

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले मोरङको कटहरीमा आयोजना गरेको कृषि एक्स्पो आइतबार सम्पन्न भएको छ ।

कृषि एक्स्पो पहिलोपटक आयोजना गरिएको हो । भदौ २७ गतेदेखि सञ्चालन भएको एक्स्पोमा १ सय ३० वटा स्टल थिए । ४ दिनसम्म आयोजना गरिएको एक्स्पो सफल भएको नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले जानकारी दिए । उनका अनुसार करिब १ लाख जनाले एक्स्पोको अवलोकन गरेका छन् ।

एक्स्पोमा कोशी र मधेश प्रदेशका कृषक, कृषि कलेज, विभिन्न स्कुल तथा कलेजका विद्यार्थी, कृषक, कृषि विज्ञलगायत सहभागी भएका थिए । कृषि ज्ञान केन्द्र, स्थानीय तह तथा उद्योग वाणिज्य संघहरुबाट सिफारिसमा मात्रै ८ सय जना कृषक सहभागी भएको राउतले बताए । जिल्ला बाहिरबाट आएका कृषक तथा विद्यार्थीलाई निःशुल्क खानबस्नको व्यवस्था मिलाइएको थियो ।

एक्स्पोमा कृषि बजार प्रणाली र मूल्य श्रृंखला, ‘कस्टम हायरिङ’को प्रयोग, पशुपंक्षी कृषि विज्ञानका विषयमा प्रस्तुतिकरण भएको थियो । उनका अनुसार विज्ञहरु बीच ‘प्यानल’ छलफल पनि भएको थियो ।

भारतीय विज्ञ डा. कन्चन भौमिक, कृसेन्दु सिन्हा र डा. सुभाशिष बलले कृषिमा ‘एजोला तथा ब्लुग्रीन एल्गी’को उत्पादन र प्रयोग एवं जैविक मल तथा विषादी बनाउने र यसको प्रयोग विधिका विषयमा कृषकहरुलाई जानकारी गराएका थिए । एक्स्पोमा कृषि मेसिनरी, कषि उपज, भेटनरीलगायत साना किसानहरुका उत्पादनदेखि हिमाली र पहाडी जिल्लाका उत्पादनको १ सय ३० वटा स्टल राखिएको राउतले बताए ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.