
विराटनगर । कोशी प्रदेश सरकारले राष्ट्रिय शिक्षा दिवस नै बिर्सिएको छ। संघीय सरकारले अनिवार्य निःशुल्क शिक्षा ऐन–०७५ जारी भएको दिन असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवस मनाउने घोषणा गरेको थियो ।
बुधबारको दिवसमा प्रदेश सरकारले कुनै कार्यक्रम नै गरेन। शिक्षा दिवसको दिन प्रदेश सरकारका मन्त्री भने प्रदेशसभामा मुख्यमन्त्री हिक्मतकुमार कार्कीको विश्वासको मत लिने बैठकमा सहभागी थिए । सामाजिक विकास मन्त्रालयको शैक्षिक योजना तथा अनुसन्धान शाखा प्रमुख यादवप्रसाद दुलालले बुधबार शिक्षा दिवसमा प्रदेश सरकारले कुनै कार्यक्रम नगरेको बताए । उनका अनुसार शिक्षा दिवसभन्दा केही दिनअघि विद्यालयहरुलाई शिक्षा दिवस मनाउन आग्रह गरिएको बताए ।
सामाजिक विकासमन्त्री पाँचकर्ण राई बुधबार शिक्षासँग सम्बन्धित कुनै कार्यक्रममा गएनन् । उनी मुख्यमन्त्रीको विश्वासको मत लिनका लागि बोलाएको प्रदेशभा बैठकमा सहभागी भएको उनका स्वकीय सचिव कमल पुरीले जानकारी दिए । मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले शिक्षा सम्बन्धी कुनै कार्यक्रममा मुख्यमन्त्री सहभागी नभएको बताए ।
निजी तथा संस्थागत विद्यालय अर्गनाइजेशन प्याब्सनका पूर्वकेन्द्रीय अध्यक्ष टीकाराम पुरी कोशी प्रदेश सरकारले शिक्षा क्षेत्रलाई अपमान गरेको बताउँछन् । ‘यो त शिक्षण संस्था शिक्षक, कर्मचारी र विद्यार्थीमाथिको अपमान हो,’ उनी भन्छन्, ‘प्रदेश सरकारले शिक्षा दिवसलाई वास्ता नगर्नु कोशी प्रदेशका शिक्षण संस्था र शिक्षामाथिको अपमान हो ।’
नेपालमा शिक्षा दिवस मनाउने मिति परिवर्तन भइरहँदा प्रभावकारी कार्यक्रम हुन नसकेको सामाजिक विकास मन्त्रालयको शैक्षिक योजना तथा अनुसन्धान शाखा प्रमुख दुलालले बताए । उनका अनुसार यसअघि तत्कालीन मुख्यमन्त्री शेरधन राईको उपस्थितिमा १ पटक (२०७६) सालमा शिक्षा दिवस मनाइएको थियो ।
सरकारले २०३१ सालदेखि १२ फागुनमा राष्ट्रिय शिक्षा दिवस मनाउन सुरु गरेको थियो । २०६२–०६३ जनआन्दोलनपछि १२ फागुनमा शिक्षा दिवस मनाइएन । २०६४ सालमा तत्कालीन सरकारले राष्ट्रिय शिक्षा दिवस र अन्तर्राष्ट्रिय साक्षरता दिवस एकै दिन मनाउने निर्णय गरेको थियो ।
सोही अनुसार २०६४ सालदेखि २०७६ सालसम्म ८ सेप्टेम्बरको दिन राष्ट्रिय शिक्षा दिवस मनाइयो । २०७७ सालमा ८ सेप्टेम्बरमा हुँदै आएको शिक्षा दिवस स्थगित भयो ।
नयाँ मिति तय नहुँदा २०७७, ०७८ र ०७९ मा शिक्षा दिवस मनाइएको थिएन । गत वर्षबाट भने असोज २ गते शिक्षा दिवस मनाउन थालिएको थियो ।

























