
विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० मा रहेको बाल प्रतिभा बोर्डिङ स्कुलका शिक्षकले बालिकालाई निर्घात कुटपिट गरेको घटना बाहिर आएको छ ।
कक्षा ६ मा अध्ययनरत सुन्दरहरैँचा–९ घर भएकी ११ वर्षीया बालिकालाई शिक्षक विजय राईले असोज ४ गते शुक्रबार कुटपिट गरेका हुन् । संखुवासभाको चिचिला गाउँपालिका–२ घर भएका राई सुन्दरहरैँचा–१२ मा बस्दै आएका छन् । उनी गणीत विषयका शिक्षक हुन् ।
लेखाइ गल्ती भएको र नपढेको भन्दै शिक्षक राईले कुटपिट गर्दा बालिका घाइते भएकी छन् । उनको विराट चोकस्थित सुकुना सामुदायिक अस्पतालमा उपचार गराइएको थियो । घटनालाई भने चौतर्फी दबाब दिएर सामसुम पारिएको छ ।
शिक्षकले चोटपटक लाग्ने गरी कुटपिट गरेर बालिकालाई घाइते बनाएको भन्दै कारबाहीको माग राखेर अभिभावक इलाका प्रहरी कार्यालय बेलबारी पुगेका थिए । तर, शिक्षकविरुद्ध उजुरी दिन पाएनन् । सबैको दबाबका कारण कुटपिटमा संलग्न शिक्षकविरुद्ध प्रहरीमा जाहेरी दिन नपाएको बालिकाका बुवाले बताए ।
उनका अनुसार शिक्षकले अन्धाधुन्ध पाइपले कुटपिट गरेका हुन् । ‘कुटपिटबाट छोरीको शरीरका विभिन्न भागमा चोटपटक लागेको छ । कुटाइ पनि खपिसक्नु हैन,’ उनले भने, ‘पछाडिको भागमा चैं धेरै नै चोटपटक छ । छोरी अहिलेसम्म राम्ररी उठ्न र हिँडडुल गर्न सकिरहेकी छैनन् ।’
उनका अनुसार घटनापछि निद्रामा पनि बालिका डराउने र तर्सिने गरिरहेकी छन् । पीडा सहन नसकेर छोरी रुने र विद्यालय जान नमान्ने गरेको उनको भनाइ छ । ‘दुखाइका कारण कति रोइन–रोइन ? भन्ने थाहा भएन । हामीले थाहा पाउँदा शौचालयसमेत जान सक्ने अवस्था थिएन,’ उनी भन्छन्, ‘अमानवीय तरिकाले कुटपिट गरिएको छ । चोटपटक हेर्दा शरीर नै सिरिङ्ग हुन्छ ।’
उनका अनुसार शिक्षकले निक्कै बेरसम्म एकोहोरो ढंगले कुटपिट गरेको छोरी र साथीहरुले बताएका छन् । आफू कुटपिटमा संलग्न शिक्षकलाई मुद्दा हाल्नुपर्छ भन्ने पक्षमा भएपनि अरुले दबाब दिएका कारण सम्भव नभएको उनको गुनासो छ ।
‘गाउँघरमा मिल्नुपर्छ । मुद्दा मामिला गर्नु हुँदैन भनेर दबाब दिए,’ उनले भने, ‘त्यसपछि आगामी दिनमा घटना नगराउने भनी कागज गरेर छाडियो । छोरीको अवस्था हेर्दा चैं आफ्नै आँसु थामिदैन ।’ घटनाका बारेमा इलाका प्रहरी कार्यालयमा बेलबारीमा छलफल र मिलापत्र भएको बालिकाका बाबुको भनाइ छ ।
उनका अनुसार शिक्षक राईले स्कुलमा अरु बालबच्चालाई पनि कुटपिट गर्ने गरेको पाइएको छ । ‘मेरी छोरीसहित ३ जनालाई कुटपिट गरेका रहेछन् । तर, अरुलाई देखिने गरी चोट लागेन । मेरी छोरीलाई चैं मरणासन्न हुने गरी कुटेछन्,’ उनले भने, ‘भदौ १७ गते पनि विद्यार्थीलाई कुटपिट गरेको पाइयो । स्कुलमा शिक्षकको अत्याचार धेरै रहेछ । अबोध बालबालिकामाथि बारम्बार कुटपिट हुँदो रहेछ ।’
इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर कृष्णबहादुर खत्रीले विद्यार्थीलाई शिक्षकले कुटपिट गरेको कुरा आएको बताए । ‘घटनाका बारेमा प्रहरी जानकार छ । तर, पीडित पक्षले नै जाहेरी नदिएकाले कारबाहीको प्रक्रिया अघि बढाउन सकिएन,’ उनले भने ।
बाल प्रतिभा बोर्डिङ स्कुलका प्रिन्सिपल गणेशप्रसाद दाहालले भने घटना सामान्य भएको बताए । ‘शिक्षकले विद्यार्थीलाई कुटपिट गरेको भएपनि अभिभावकसँग कुरा मिलिसक्यो । अबदेखि त्यस्तो गल्ती नगर्ने सहमति भएको छ,’ उनले भने, ‘लेख्नुपर्ने र बुझ्नुपर्ने गरिको घटना भएको हैन । हामीसँग अभिभावकहरु हातेमालो गरेर जानु भएकाले अहिले सबै सामान्य भइसकेको छ ।’
कुटपिट धेरै नै भएको भन्दै अभिभावकले गुनासो गरेपछि २ पक्षलाई राखेर छलफल गरिएको बताउँदै दाहालले अन्यथा सोच्न आवश्यक नभएको जिकिर गरे । ‘विद्यार्थी कुट्ने शिक्षकलाई कारबाही चैं केही गरिएन,’ उनले भने, ‘अबदेखि उहाँ (शिक्षक)ले नै म पढाउन आउँदिन भन्नु भएको छ ।’
मोबाइल ‘अफ’ रहेका कारण शिक्षक राईसँग भने सम्पर्क हुन सकेन । घटनापछि उनी सम्पर्कमा नरहेको स्कुलले जनाएको छ ।



















