
विराटनगर । ईश्वर साना किसान कृषि सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारण सभाले सञ्चालक समितिको अध्यक्षमा पुनः धर्मलाल सिंह कोइरीलाई सर्वसम्मत चयन गरेको छ ।
समितिको उपाध्यक्षमा संगीता काफ्ले चयन भएकी छन् । सञ्चालक समितिमा लालबहादुर अधिकारी, दीपा पौडेल, चन्द्रप्रसाद बन्जरा, निर्मला सापकोटा, हरिनाथ सिंह, सन्तोषी सोरेन, रेखा कुमारी निरौला, कालुराम राजवंशी र राजेश कुमार भगत चयन भएका छन् ।
मोरङको कटहरी गाउँपालिका–४ को कुशवाहा सामुदायिक भवनमा सम्पन्न साधारण सभाबाट लेखा सुपरिवेक्षण समितिको संयोजकमा भोलानाथ कटुवाल सर्वसम्मत चयन भएका छन् । सदस्यमा धनप्रसाद ढकाल र शोभा दाहाल चयन भएका छन् ।
बचत तथा ऋण सहकारीबाट साना किसान कृषि सहकारी अभियानमा रुपान्तरण भएको सहकारीले किसान भएको क्षेत्रमा गएर आफ्नो साधारण सभा सम्पन्न गरेको हो । प्रबन्धक निर्देशक बलबहादुर घिमिरेका अनुसार २०६९ साल जेठ २ गते दर्ता भइ बचत तथा ऋणको रूपमा विराटनगर र कटहरी कार्यक्षेत्र बनाई आफ्नो कारोबार सुरु गरेको सहकारीले २०८० असोज ८ गते उद्देश्य परिवर्तन गरी साना किसान कृषि सहकारी अभियानमा रुपान्तरण भएर काम सुरु गरेको हो ।

साधारण सभाका प्रमुख अतिथि नेपाल कृषि सहकारी केन्द्रीय संघका सञ्चालक तथा कोशी प्रदेश कृषि सहकारी संघ लिमिटेडका अध्यक्ष खगेन्द्रराज भण्डारी थिए । उनले सहकारी संस्था आफै स्वनियममा चल्ने संस्था रहेको बताए । उनले सहकारीले आफ्नो नीति, विधि विधान र कार्यक्रम आफै बनाउने उनको भनाइ छ ।
सहकारीका सञ्चालक समिति र सहकारीका कर्मचारीले आफ्नो भूमिका मात्र बुझेर इमान्दारिताका साथ काम गर्दा सहकारीमा समस्या नआउने बताउँदै भण्डारीले पछिल्लो समयमा बचत तथा ऋणमा बढी समस्या देखिएको उल्लेख गरे । अध्यक्ष भण्डारीले साना किसान कृषि सहकारीले आफ्ना सबै सदस्यको आय बढाउने र उनीहरुलाई उत्पादनसँग जोड्ने उद्देश्य रहेकोमा जोड दिए ।
जिल्ला कृषि सहकारी संघ लिमिटेड मोरङका अध्यक्ष रवीन्द्र आचार्यले साना किसान कृषि सहकारी अभियानले गरेको काम नेपाल सरकारले पनि अनुसरण गरेको बताए । साना किसान कृषि सहकारीले किसानहरुसँग प्रत्यक्ष जोडिने र उनीहरुको हितमा काम गर्ने उनले बताए ।
साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय इटहरीका प्रमुख सुभाष गौतमले संस्थाले सदस्यको आर्थिक वृद्धिदर बढाउनेदेखि नेतृत्व विकासमा समेत काम गर्ने गरेको बताए ।
साधारण सभामा सहकारीका अध्यक्ष कोइरीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कोषाध्यक्ष कालुराम राजवंशीले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक भोलानाथ कटुवालले प्रस्तुत गरेका थिए ।
आर्थिक प्रतिवेदनका अनुसार सहकारीको शेयर पुँजी १ करोड ८० लाख ३१ हजार ३ सय रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७९/०८० मा सहकारीको शेयर पूँजी १ करोड ६८ लाख ३७ हजार २ सय रुपैयाँ रहेको थियो ।
सहकारीले आर्थिक वर्ष २०८०/०८१ मा ७.०९ प्रतिशतले शेयर रकम वृद्धि गरेको छ । सहकारीको निक्षेप २६ करोड ६१ लाख ४९ हजार २ सय १९ रुपैयाँ २३ पैसा थियो । सदस्यहरुले बचत कारोबार गरी हाल संस्थामा निक्षेप मौज्दात ७ करोड ७५ लाख ८७ हजार ३ सय २१ रूपैयाँ ४१ पैसा रहेको छ।
सहकारीले १३ करोड ८ लाख ३१ हजार १ सय ४२ रुपैयाँ ४२ पैसा ऋण लगानी गरेको प्रतिवेदनमा उल्लेख छ । सहकारीमा १ हजार ७ सय ९७ जना सेयर सदस्य रहेका छन् भने सहकारीले ९२ वटा समूह गठन गरिसकेको छ ।
सहकारीको जगेडा कोषमा ४९ लाख ६१ हजार ८ सय १ रुपैयाँ ७२ पैसा छ । प्रतिवेदनका अनुसार सहकारीले १ करोड ३९ लाख ८२ हजार ६ सय ३० रुपैयाँ ब्याज आम्दानी गरेकोमा ५४ लाख ३ हजार ८५ रुपैयाँ ८९ पैसा विभिन्न बचतमा ब्याज खर्च गरेको छ ।
विभिन्न सम्मान
सहकारीले साधारण सभाको अवसरमा विभिन्न सम्मान गरेको छ । ७० वर्ष उमेर समूहका २३ जना ज्येष्ठ माता पितालाई सम्मान गरेको हो । सहकारीले सेयर सदस्यको मातापितालाई सम्मान गरेको छ । त्यस्तै, ७० वर्ष उमेर पुरा भएका ३ जना सेयर सदस्यलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा रामेश्वर सिंह कोइरी, भगवती दाहाल र गोविन्दबहादुर पौडेल छन् ।

सहकारीले सेयर सदस्यका छोराछोरीमध्ये एसईई परीक्षामा सबैभन्दा बढी नम्बर ल्याउने अमनकुमार साह र अनुष्का निरौलालाई सम्मान गरेको छ । सेयर सदस्यका छोराछोरीमध्ये १० जोड २ परीक्षामा सबैभन्दा बढी अंक ल्याउने आसुतोष लुइँटेल र सभ्यता घिमिरेलाई सम्मान गरेको छ । उनीहरुलाई १५ सय नगदसहित प्रमाण पत्र र डायरी सहित सम्मान गरिएको हो ।
त्यसैगरी, बाल बचतकर्ता रोशिक घिमिरे र नितिन राजवंशीलाई सम्मान गरिएको छ । एकल महिला उचन्तीकुमारी साहलाई सम्मान गरिएको छ । सक्रिय सदस्य राजपति सिंह र लगनशील कर्मचारीको रुपमा ऋण प्रमुख कैलाश कोइरालालाई सम्मान गरिएको छ ।



















