
विराटनगर । पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दाको फैसला सर्वोच्च अदालतले फेरि सरेको छ ।
सापकोटाविरुद्ध अपहरण तथा व्यक्ति हत्या सम्बन्धी मुद्दा सर्वोच्चमा छ । सर्वोच्चको संवैधानिक इजलासमा सापकोटाविरुद्धको मुद्दाको निर्णय सुनुवाइका लागि आज पेशी तोकिएको थियो । तर सर्वाेच्चले फैसला सुनाएन ।
‘मुद्दामा अन्य आदेश भनेर सूचित गरिएको छ, के आदेश भएको हो, भोलिसम्म त्यसको पाठ तयार भएपछि मात्रै थाहा होला’, सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले भने ।
यसअघि सापकोटाविरुद्ध मुद्दाको निर्णय सुनाउने मिति पटकपटक तोकिए पनि संवैधानिक इजलासले मिति सार्दै आएको थियो ।
काभ्रेका अर्जुन लामालाई अपहरण गरी हत्या गरेको आरोप सापकोटामाथि छ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासले सापकोटाविरुद्ध मुद्दामा बुधबार अन्य आदेश गरेको थियो ।
संवैधानिक इजालसमा सापकोटाविरुद्ध ३ वटा मुद्दा छन्।
अर्जुनकी पत्नी पूर्णमाया लामा, कनकमणि दीक्षित र सुशील प्याकुरेलसहित ८ जनाले सापकोटाविरुद्ध मुद्दा दायर गरेका थिए । विक्रम संवत २०६२ साल वैशाख १६ गते तत्कालीन माओवादीको अपहरणमा परेका लामाको २ महिनापछि शव फेला परेको थियो।
लामाकी पत्नी पूर्णमायाले आफ्ना श्रीमानको हत्यामा नेता सापकोटा संलग्न रहेको उल्लेख गर्दै विसं २०६९ मंसिर ७ गते जिल्ला अदालत काभ्रेमा मुद्दा दायर गरेकी थिइन् । पुनरावेदन हुँदै मुद्दा सर्वोच्चमा पुगेको हो ।
त्यसअघि २०७२ चैत २२ गते सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको संयुक्त इजलासले मुद्दाको छिनोफानो संवैधानिक इजलासबाट हुने आदेश गरेको थियो ।



















