
काठमाडौं । जेनजी आन्दोलनका क्रममा राष्ट्रपतिको सुरक्षामा कमजोरी गरेको भन्दै विभागीय कारबाहीका लागि सिफारिस भएका नेपाली सेनाका सहायक रथी मनोज बैदवारलाई उपरथीमा बढुवा गर्ने प्रक्रिया अघि बढाइएको छ । जंगी अड्डाले उनलाई बढुवा सिफारिस गर्ने प्रयोजनका लागि सूचना प्रकाशन गरेको छ ।
बैदवार २०८२ भदौमा भएको जेनजी आन्दोलनका बेला राष्ट्रपतिको सुरक्षाको जिम्मेवारीमा थिए । भदौ २४ गते प्रदर्शनकारीहरू शीतल निवास प्रवेश गरी राष्ट्रपति कार्यालय र निवासमा आगजनी गर्दा उनी सुरक्षा कमान्डको जिम्मेवारीमा रहेको बताइएको छ । उक्त घटनापछि सेनाले राष्ट्रपतिलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको थियो ।
आन्दोलनका क्रममा राष्ट्रपति कार्यालयको सुरक्षा प्रभावकारी बनाउन नसकेको निष्कर्षसहित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोग र राष्ट्रिय मानव अधिकार आयोगले बैदवारमाथि विभागीय कारबाही गर्न सिफारिस गरेका थिए । तर, दुवै निकायको सिफारिसका बाबजुद उनीमाथि अहिलेसम्म कारबाही भएको छैन । बरु जंगी अड्डाले उनलाई उपरथीमा बढुवा गर्ने प्रक्रिया अघि बढाएको हो ।
सैनिक ऐन, २०६३ को परिच्छेद ४ को दफा २१ र सैनिक सेवा नियमावली, २०६९ अनुसार बढुवा प्रक्रिया अघि बढाइएको सेनाका एक उच्च अधिकृतले बताए । प्रकाशित सूचनाप्रति चित्त नबुझ्नेले सैनिक सचिव विभागमा उजुरी दिन सक्नेछन् । उजुरीमाथि निर्णय भएपछि जंगी अड्डाले बढुवाका लागि रक्षा मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा सिफारिस गर्ने व्यवस्था छ ।
यसैबीच, नेपाली सेनामा रिक्त हुन लागेका रथी पदमा पनि बढुवा प्रक्रिया अघि बढेको छ । रथी गणेश श्रेष्ठ अवकाशमा जान लागेपछि उनको स्थानमा उपरथी अनुपजंग थापालाई बढुवा सिफारिस गरिएको छ । बढुवासम्बन्धी आवश्यक प्रक्रिया पूरा गरी उनको नाम रक्षा मन्त्रालय पठाइसकिएको सैनिक स्रोतको भनाइ छ ।
श्रेष्ठ मंसिर पहिलो साता सेवाबाट अवकाश हुँदैछन् । त्यसैगरी मंसिर तेस्रो साता रथी प्रदीपजंग केसी पनि अवकाशमा जाँदैछन् । केसीको स्थानमा उपरथी मधुकर कार्कीलाई बढुवा गर्नसमेत सूचना प्रकाशन गरिएको छ ।
उच्च सैनिक अधिकारीहरू अवकाशअघि नै बिदामा बस्ने प्रचलन रहेकाले रिक्त हुन लागेका पदमा समयमै बढुवा प्रक्रिया अघि बढाइएको सेनाका एक उच्च अधिकृतले बताए ।

























