
काठमाडौं । जलवायु परिवर्तनबाट बढी प्रभावित मुलुकले भोगिरहेका समस्या र त्यसको क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउने विषयलाई प्राथमिकताका साथ उठाउँदै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फर्किएका छन् ।
टर्किएमा आयोजित संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१)मा सहभागी भएर उनी आइतबार नेपाल फर्किएका हुन् । सम्मेलनका क्रममा अर्थमन्त्री वाग्लेले जलवायु वित्त, विपद्पछिको आर्थिक पुनरुत्थान र जलवायु जोखिम न्यूनीकरणका विषयमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका छन् । उनले ४४ वटा अतिकम विकसित राष्ट्रका तर्फबाट जलवायु वित्तसम्बन्धी सातौँ द्विवार्षिक मन्त्रीस्तरीय संवादलाई सम्बोधन गरेका थिए ।
नेपालको जलवायु एजेन्डालाई अन्तर्राष्ट्रिय तहमा थप प्रभावकारी बनाउन वाग्लेले ‘जलवायु मुद्दाका लागि अर्थमन्त्रीहरूको गठबन्धन’मा नेपालको सहभागिता पनि सुनिश्चित गराएका छन् । सात वर्षअघि स्थापना भएको उक्त गठबन्धनमा नेपाल १०५औँ सदस्य बनेको हो । सोही अवसरमा उनले ‘उत्थानशीलताका लागि वित्त’ सम्बन्धी नीतिगत अवधारणा छलफलका लागि प्रस्तुत गरेका थिए ।
अर्थमन्त्रीको सचिवालयका अनुसार जलवायु संकटपछि ऋणमोचनको विश्वव्यापी अभियान अघि बढाउँदै आएकी बार्बेडसकी प्रधानमन्त्री मिया मोट्ली र जी–२० को अध्यक्षता गर्न लागेको बेलायतका विदेशमन्त्री एड मिलीब्यान्डसँग पनि वाग्लेको छलफल भएको थियो । छलफलमा विशेष अन्तर्राष्ट्रिय प्याकेज निर्माण तथा सहकार्यका लागि प्रतिबद्धता प्राप्त भएको सचिवालयले जनाएको छ ।
नेपालले सम्मेलनमा उठाएका मुद्दालाई अन्तर्राष्ट्रिय समर्थन जुटाउने उद्देश्यले पाँच जना प्रभावशाली जलवायु दूतसँग समेत अर्थमन्त्रीले छलफल गरेका थिए । बेलायतकी रेचेल काइट, अष्ट्रेलियाका विल नानकर्भिस, स्वीडेनका माटियास फ्रुमेरी, जमाइकाका डेल वेबर र संयुक्त राष्ट्रसंघीय महासचिवका दूत सेल्विन हार्टसँग उनले नेपालको जलवायु प्राथमिकताबारे कुराकानी गरेका थिए ।
त्यसैगरी, हरित जलवायु कोषको उच्च नेतृत्वसँग नेपालको भावी जलवायु कार्यक्रम र सम्भावित सहयोगका विषयमा छलफल भएको सचिवालयले जनाएको छ । जेनेभास्थित विश्व मौसम विज्ञान संगठनसँग सम्बन्धित जलवायु मापन कोषको कार्यक्रमलाई पनि उनले विशेष रूपमा सम्बोधन गरेका थिए ।
जलवायु परिवर्तन र अर्थशास्त्रका क्षेत्रमा अन्तर्राष्ट्रिय ख्याति कमाएका प्राध्यापक योहान रक्स्त्रम तथा प्राध्यापक निकलस स्टर्नसँग पनि अर्थमन्त्री वाग्लेले भेट गरेका थिए ।
सम्मेलनका क्रममा उनले न्युयोर्क टाइम्सलाई अन्तर्वार्ता दिनुका साथै सन् २०२६ का लागि टाइम पत्रिकाले छनोट गरेका जलवायु क्षेत्रका विश्वका १०० प्रभावशाली व्यक्तित्वहरूको सम्मानमा आयोजित कार्यक्रममा समेत सहभागिता जनाएका थिए । नेपालको जलवायु सरोकारलाई अन्तर्राष्ट्रिय बहसमा स्थापित गर्ने उद्देश्यले विभिन्न उच्चस्तरीय भेटघाट र छलफलमा सहभागी भएर उनी फर्किएको सचिवालयले जनाएको छ ।

























