सीडीओलाई पूर्वमुख्यमन्त्री केदार कार्कीको फोन : ‘माटोमा कमिसन खाने, बाढी पस्दा चैं नआउने ?’ (भिडियोसहित)

Share this
723shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ आश्विन १३, आइतबार १९:५७

विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेपाली कांगेसका नेता केदार कार्कीले मोरङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) प्रेमप्रसाद भट्टराईमाथि गम्भीर आरोप लगाएका छन् ।

माटोमा कमिसन खाएको र बस्तीमा बाढी पस्दा चैं नआएको आरोप उनले लगाएका हुन् । कार्की आफ्नो अपरिपक्व गतिविधि, व्यवहार, गलत हर्कत र अभिव्यक्तिका कारण पटक–पटक विवाद एवं चर्चामा आउने गरेका छन् । तर, उनी आफ्नो शैली र व्यवहार सुधार्नेतर्फ ध्यान दिँदैनन् ।

कांग्रेसका प्रदेशसभा सदस्यसमेत रहेका कार्कीलाई मुख्यमन्त्री बन्नका लागि चालेको अराजनीतिक एवं अपरिपक्व कदमदेखि प्रदेश सरकारविरुद्ध अनशन बस्नेजस्ता गतिविधिले झन् विवादित बनाएको छ ।

स्वार्थ समूह, विवादित छवि र अपराधिक पृष्ठभूमि भएका व्यक्तिहरुलाई कार्यकर्ताका रूपमा च्यापेर हिँड्ने कार्की सीडीओमाथि लगाएको अप्रमाणित आरोपका कारण फेरि विवादमा मुछिएका छन् । उनको चौतर्फी आलोचना एवं विरोध भइरहेको छ । हैसियत बिर्सिएर गैरराजनीतिक एवं अराजक गतिविधि गरिरहेको आरोप लागेको छ ।

कांग्रेसका प्रदेशसभा सदस्यसमेत रहेका कार्कीलाई मुख्यमन्त्री बन्नका लागि चालेको अराजनीतिक एवं अपरिपक्व कदमदेखि प्रदेश सरकारविरुद्ध अनशन बस्नेजस्ता गतिविधिले झन् विवादित बनाएको छ । उनले अनशनका क्रममा राखेका केही माग जायज नै थिए । तर, सरकारबाट मागको प्रभावकारी सम्बोधन नै नभइकन अनशन तोड्ने हतारो देखाए ।

कार्कीले ४२ दिनको शिशुबाट अनशन तोडेको प्रचार गरियो । तर, आफ्नो ‘प्रचार’ गर्ने नाममा केही थाहा नपाउने अवोध शिशुलाई रातको समयमा भिडभाडमा ल्याउन हुँदैन थियो भनेर बिचार पुर्याएनन् । सामान्य ‘स्वास्थ्य प्रोटोकल’लाई समेत ध्यान नदिइकन आफ्नो स्वार्थका लागि रातको समयमा बच्चालाई भिडभाडमा ल्याउनु गलत भएको बाल अधिकारकर्मी बताउँछन् ।

सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईलाई कुटपिट गर्ने धम्की दिएको आरोप पनि कार्कीमाथि लाग्यो । उनका कतिपय गतिविधिमा आफ्नै पार्टी र नेताहरूले पनि साथ दिएको पाइँदैन ।

पछिल्लो एउटा घटनामा पनि उनको अपरिपक्वता र अराजकता प्रकट भएको छ । उनले जिल्लाका प्रशासकलाई कमिसन खाने गरेको भनेर सिधै आरोपित गरेका हुन् ।

कतिपय प्रक्रियामा भने बाध्यतावश समर्थन गरेर जानुपरेको नेताहरूले नै बताउने गरेका छन् । नेताहरुका अनुसार कार्कीको अपरिपक्व र अराजनीतिक व्यवहारका कारण बेलाबखत पार्टी नै अप्ठेरोमा पर्ने गरेको छ ।

पछिल्लो एउटा घटनामा पनि उनको अपरिपक्वता र अराजकता प्रकट भएको छ । उनले जिल्लाका प्रशासकलाई कमिसन खाने गरेको भनेर सिधै आरोपित गरेका हुन् । टेलिफोन संवादका क्रममा उनी अस्वभाविक र हेपाहा शैलीमा प्रस्तुत भएको भिडियोमा देख्न सकिन्छ ।

प्रसंग भारी वर्षापछि शनिबार आएको भलबाढीको सन्दर्भसँग जोडिन्छ । विराटनगरमा बाढी पसेको बस्तीमा पुगेर उनले मोरङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) प्रेमप्रसाद भट्टराईसँग फोन संवाद गरेका थिए ।

संवाद यस्तो छ–

पूर्वमुख्यमन्त्री केदार कार्कीले सीडीओलाई फोन गर्छन, उठ्दैन ।

अनि भन्छन्, ‘यो बेलामा काटेर फोन नै उठाउँदैन ।’

दोस्रोपटकमा सीडीओले फोन उठाउँछन् । अनि छोटो कुराकानी हुन्छ–

हेलो सिडियो साब नमस्कार, म केदार कार्की हजुर ।

सीडीओ– नमस्कार हजुर ।

कार्की– कता हुनुहुन्छ ?

सीडीओ – विराटनगरै छु ।

कार्की– ए, विराटनगर नै हुनुहुन्छ ? म अहिले यहाँ विराटनगर–१२ सम्पन्न बस्तीमा छु, बाँध फुटेको छ । खबर आएको २ घण्टा भयो । तपाईंको अफिसबाट यहाँ आइपुग्नलाई धेरै छैन । २–३ किलोमिटर होला ।

उताबाट केही कुरा भनेको सुनिन्छ….तर, बुझिदैन

कार्की– यहाँ नाउ पनि आएको छैन । नाउको नाम लिएर आउने मान्छे पनि छैन । नगर प्रहरीको इन्स्पेक्टर साब र म छु । यहाँ कम्तीमा पनि अस्थायी बाँध बाँधियो भने यहाँका घरहरू बच्छ । बाँध फुटेको छ । खाली तपाईंहरूको काम भनेको बस्ती, खोला छेउको माटो काट्नेसँग पैसा लिने मात्र भयो । उनीहरूलाई कारबाही गर्नु भएन । यो अवस्था निम्त्याउने तपाईंहरू नै हो । अरु कुरा होइन । मैले पटक–पटक तपाईंहरुलाई खबर गर्दा पनि मान्छे पक्रिने भन्दा, माटो काट्ने मान्छे रोक्ने भन्दा, स्काभेटर लगेर खोलाको छेउमा माटो काट्दा पनि तपाईंले रोक्नु भएन । त्योसँग कमिसन खानुभयो । आज यो बाढीमा ल्याएको मान्छेको जिम्मेवारी चाहिँ तपाईंले लिनुपर्छ । अहिलेसम्म नआउने ?

उताबाट केही भनेको वा नभनेको प्रष्ट सुनिँदैन ।

सीडीओ भट्टराईसँग पूर्वमुख्यमन्त्री कार्कीले गरेको टेलिफोन संवाद सामाजिक सञ्जालमा छलपस्ट छ । संवादका क्रममा लगाइएको अप्रमाणित आरोप, संवादको शैली र उनले अपनाएको तौरतरिकालाई लिएर अनेक टीकाटिप्पणी भइरहेको छ । कार्की आलोचनाको पात्र बनेका छन् ।

केदार कार्की सीडीओ भट्टराईसँग आक्रोसित हुनुपर्ने कारण भने अर्कै छ । निषेधित क्षेत्रमा अनशन बसेपछि उनलाई स्थानीय प्रशासनले हटाएको थियो ।

१ जना प्रशासकले माटोमा कमिसन खाइरहँदा पूर्वमुख्यमन्त्री भएका व्यक्ति चैं के हेरेर बसिरहेका छन् र त्यसलाई रोक्न किन पहल गरेनन् ? भन्ने प्रश्न उठेको छ । यदि माटो काट्नेसँग पैसा नै लिएको हो भने सीडीओलाई कारबाहीका लागि उनले आवाज उठाए त ? भन्ने विषय पेचिलो बनेर गएको छ ।

उनी सीडीओ भट्टराईसँग आक्रोसित हुनुपर्ने कारण भने अर्कै छ । किनभने उनले प्रदेश सरकारविरुद्ध अनशन सुरु गर्ने भनेको प्रदेशसभा भवन आसपासको क्षेत्रमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्यो । निषेधाज्ञा उल्लंघन गरेर अनशन बसे । तर, निषेधित क्षेत्रमा अनशन बसेपछि उनलाई स्थानीय प्रशासनले हटायो ।

आफ्नो अनशनमा बाधक बनेको भनेर उनी सीडीओ भट्टराईसँग क्रुद्ध बनेका थिए । अहिले बाढी र डुबानको बहाना बनाएर त्यही रिस कार्कीले फेरेको बुझ्न कठिन नभएको विश्लेषकहरु बताउँछन् । तर, रिस फेर्ने नाममा प्रशासकमाथि अप्रमाणित आरोप लगाएर ‘स्टन्टबाजी’ गर्न खोज्नु पूर्वमुख्यमन्त्रीको मुर्खता भएको उनीहरुको भनाइ छ ।

सीडीओ भट्टराई भने आफूले माटो काट्नेसँग कमिसन नलिएको र कमिसन खाएको कुनै प्रमाण भए कारबाही भोग्न तयार रहेको बताउँछन् । भन्छन्, ‘उहाँ (कार्की) मसँग किन आक्रोसित हुनु भयो ? भनेर बुझ्न सकेको छैन । पूर्वमुख्यमन्त्रीजस्तो मान्छेले अनुत्तरदायी आरोप लगाउनु ठीक हैन ।’

भट्टराईका अनुसार बाढी, डुबान र पहिरोले देशैभरि वितण्डा मच्चाउँदा विराटनगरमा भने कम क्षति गरेको छ । पूर्वमुख्यमन्त्रीले भनेको विराटनगर–१२ मा बाढी र डुबानका कारण सर्वसाधारण विस्थापित नभएको उनले बताए ।

‘बाँध भत्काएर केसलिया खोलाको बाढी पस्दा विराटनगर–६ मा चैं २५ परिवार समस्यामा परेका थिए । मोरङको रतुवामाई–६ स्थित रतुवा खोलामा केही जोखिम देखिएकाले स्थानीयको सहयोगमा नेपाल र सशस्त्र प्रहरीको सक्रियतामा अस्थायी बाँध बाँधियो,’ उनले भने, ‘मोरङमा १ सयभन्दा बढी परिवार प्रभावित भएका थिए । डुबान कम हुँदै गएपछि उनीहरु आआफ्नो घरमा फर्किसके ।’

सीडीओले माटोमा कमिसन खाएको प्रमाण छ त ? भनेर पूर्वमुख्यमन्त्री कार्कीसँग मुलुकी खबरले बुझ्ने प्रयास गरेको थियो । तर, उनी सम्पर्कमै आउन चाहेनन् । पटक–पटक गरेको फोन उठाएनन् ।

जोखिममा परेर उद्धार गरिएका बाढीपीडितलाई राहत दिने तयारी भइरहेको भट्टराईको भनाइ छ । थोरै भएपनि राहत दिनेगरी छलफल भइरहेको उनले बताए ।

सीडीओले माटोमा कमिसन खाएको प्रमाण छ त ? भनेर पूर्वमुख्यमन्त्री कार्कीसँग मुलुकी खबरले बुझ्ने प्रयास गरेको थियो । तर, उनी सम्पर्कमै आउन चाहेनन् । पटक–पटक गरेको फोन उठाएनन् ।

पूर्वप्रशासक केदार न्यौपाने गलत आरोप लगाएर पूर्वमुख्यमन्त्रीले कर्मचारीलाई हतोत्साही बनाउन खोजेको बताउँछन् । ‘आफ्नो प्रतिष्ठा आफैंले कायम गर्ने हो । अर्काले गरिदिने हैन,’ उनी भन्छन्, ‘विपद्मा कर्मचारी, नेता र जनप्रतिनिधि मिलेर काम गर्नुपर्छ । तर, यहाँ त प्रशासकलाई आरोप लगाएर आफू ‘हाइलाइट’ हुन खोजेको देखियो ।’

न्यौपानेले प्रशासकसँग कुरा गर्ने पूर्वमुख्यमन्त्रीको शैली अत्यन्तै गलत भएको बताए । ‘सभ्य र सालिन हिसाबले कुरा गर्न सकिन्थ्यो । हुन त मान्छेका आफ्नै बानी र व्यवहार हुन्छन्,’ उनले भने, ‘जिम्मेवार मान्छेले त्यति तल्लो स्तरको कुरा नगरेको भए हुन्थ्यो । आफ्नो इज्जत र गरिमा आफैंले कायम गर्नुपर्ने कुरा बिर्सिएजस्तो छ ।’

केदार कार्की मुख्यमन्त्रीजस्तो पदधारण गरिसकेको व्यक्ति हो । तर, जिल्लाको प्रशासनिक संयन्त्रसँग कुन शैलीमा बोल्ने र कसरी कुरा गर्नेभन्ने समेत छुट्याउन सक्नु भएनछ

नेपाल सरकारका पूर्वसचिव न्यौपाने भन्छन्, ‘जसको जे छ, त्यति नै मूल्यांकन हुने हो । केही नजानेकाले त मर्यादा राखेर कुरा गर्छन् । मुख्यमन्त्री भइसकेका व्यक्तिले तथानाम बोल्नु गलत हो । त्यसले आफैंलाई नोक्सान पुर्याउँछ । प्रतिष्ठा कति रहेछ ? भनेर देखाउँछ ।’

राजनीतिक विश्लेषक गिरिश भट्टराई केदार कार्की दलको सामान्य कार्यकर्ता र सांसद मात्रै नभएको बताउँछन् । ‘उहाँ मुख्यमन्त्रीजस्तो पदधारण गरिसकेको व्यक्ति हो । तर, जिल्लाको प्रशासनिक संयन्त्रसँग कुन शैलीमा बोल्ने र कसरी कुरा गर्नेभन्ने समेत छुट्याउन सक्नु भएनछ,’ उनी भन्छन्, ‘यस्तो रवाफले राजनीतिक भविष्य नै संकटमा पर्छ । उहाँको शैलीले कस्तो राजनीतिक पाठ सिक्दैछौं र सिकाउँदैछौं भन्ने प्रश्न खडा भएको छ ।’

जिल्लामा बसेर सबैतिर संयन्त्र परिचालन गर्ने जिम्मेवारी सीडीओको हुने उल्लेख गर्दै उनले एउटा पूर्वमुख्यमन्त्रीले प्रशासकमाथि देखाएको शैली अत्यन्तै गैरजिम्मेवार भएको बताए । ‘सीडीओले टोलटोल एवं घरघरमा उद्धार र राहतका लागि जाने हैन । संयन्त्रलाई प्रभावकारी हिसाबले परिचालन गर्ने हो,’ राजनीतिशास्त्रका प्राध्यापक भट्टराई भन्छन्, ‘सीडीओको दायरा नै नबुझेजस्तो शैलीमा पूर्वमुख्यमन्त्री प्रस्तुत हुनु भयो । उहाँमा राजनीतिक र व्यवहारिक परिपक्वता देखिएन ।’

अर्कोतर्फ कार्कीले टोलको समान्य नेताजस्तो शैलीमा प्रस्तुत हुनु नै दुःखद् भएको उनले बताए । ‘उहाँको राजनीतिक संस्कार र शैलीमाथि प्रश्न उठ्यो । यस्ता गैरजिम्मेवार व्यवहारप्रति उहाँ जोडिएको पार्टी जवाफदेही बन्न सक्नुपर्छ,’ उनी भन्छन्, ‘गलत हर्कतले भावी पुस्तामाथि सही शिक्षा दिन सक्दैन । राजनीतिक नेतृत्वप्रति वितृष्ण बढाउँछ ।’

यस्तो शैलीले समाजलाई अराजकतातिर लैजान्छ । समाज अनुशासित हुँदैन । आफू प्रचारमा रमाउने नाममा जस्तोसुकै र अराजनीतिक हर्कत देखाउनु लाजमर्दो विषय हो ।

आफ्नो निर्वाचन क्षेत्रमा उभिएर जनतालाई खुसी पार्ने नाममा सरकारका संयन्त्रलाई जथाभावी र गालीगलौजको शैलीमा आरोप लगाउनु बेठीक हुने भट्टराईको भनाइ छ । यदि त्यो आरोप पुष्टि गर्न सक्नु भएन भने भोलिका दिनमा कार्कीमाथि नै प्रश्न तेर्सिने उनले बताए ।

‘प्रतिष्ठा भएको व्यक्तिले यस्ता मिथ्या कुरा गर्न भएन । आफूलाई परिवर्तन गर्दा उहाँको व्यक्तिगत र भावी राजनीतिलाई नै फाइदा पुग्छ,’ राजनीतिक विश्लेषक भट्टराई भन्छन्, ‘यस्तो शैलीले समाजलाई अराजकतातिर लैजान्छ । समाज अनुशासित हुँदैन ।’ आफू प्रचारमा रमाउने नाममा जस्तोसुकै र अराजनीतिक हर्कत देखाउनु लाजमर्दो विषय भएको भट्टराईको बुझाइ छ ।
यस्तो छ भिडियो ।

भिडियो स्रोत : वीरेन्द्रकुमार साहको टिकटकबाट

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×