
विराटनगर । तराई–मधेशसहित देशका विभिन्न स्थानमा आइतबार छठ पर्व धुमधामका साथ मनाइएको छ । छठ पर्वको मुख्य दिन व्रतालुहरूले नदी, पोखरी, तलाउ तथा जलाशयका किनारमा सजाइएका घाटमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरेका छन् ।

छठको अवसरमा विभिन्न जलाशयका किनारमा आकर्षक रूपमा घाट सजाइएको थियो । रंगीचंगी बत्ती, फूलमाला र पूजाका सामग्रीले सिँगारिएका घाटमा बिहानैदेखि श्रद्धालुहरूको चहलपहल बढेको थियो । साँझपख व्रतालु, परिवारका सदस्य तथा आफन्तजनको ठूलो उपस्थिति रहेको घाटमा भक्तिमय वातावरण बनेको थियो । सूर्यास्तसँगै व्रतालुहरूले परम्परागत विधिअनुसार सूर्यदेवलाई अर्घ अर्पण गर्दै छठी माताको पूजाआराधना गरेका थिए ।

छठका अवसरमा व्रतालुहरूले बाँसका ढाकी र नाङ्लोमा ठेकुवा, भुसुवा, फलफूल, उखु, नरिवललगायत प्रसाद तथा पूजाका सामग्री सजाएर घाटमा लगेका थिए । परम्परागत छठ गीत, भजन र भक्तिमय संगीतले घाटको वातावरण थप उल्लासमय बनेको थियो । परिवारका सदस्यहरू एकै ठाउँमा भेला भएर पूजा आराधनामा सहभागी हुँदा पारिवारिक एकता र आत्मीयताको दृश्यसमेत देखिएको थियो ।

सूर्यदेवलाई अर्घ अर्पण गर्दै व्रतालुहरूले परिवारको सुख, शान्ति, समृद्धि, सन्तानको दीर्घायु तथा सुस्वास्थ्यको कामना गरेका छन् । छठ पर्वमा सूर्यको उपासना गर्दा मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको छ ।

कात्तिक शुक्ल चतुर्थीदेखि सुरु भएको छठ पर्वको पहिलो दिन नहाय–खाय र दोस्रो दिन खरना विधि गरिएको थियो । खरनाका दिन दिनभर उपवास बसेका व्रतालुले साँझ चामल, दूध र सक्खरबाट तयार पारिएको खीर प्रसादका रूपमा ग्रहण गरेका थिए । त्यसपछि सुरु भएको निर्जला व्रत मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि पनि जारी रहनेछ ।

छठ पर्वको अन्तिम विधि सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेपछि पूरा हुनेछ । त्यसपछि व्रतालुहरूले पारण गरी व्रत समापन गर्नेछन् ।

तराई–मधेशमा विशेष महत्त्व र उल्लासका साथ मनाइने छठ पछिल्लो समय काठमाडौं उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रका विभिन्न स्थानमा पनि विस्तार हुँदै गएको छ । धार्मिक आस्था र विश्वाससँग जोडिएको यस पर्वले जातीय, भाषिक तथा सांस्कृतिक विविधताबीच सामाजिक सद्भाव, आपसी एकता र सहअस्तित्वको सन्देशसमेत प्रवाह गर्दै आएको छ ।

यसैबीच, छठको अवसरमा विराटनगरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कोशी प्रदेशसभा सदस्य भीम पराजुली, नेकपा (एमाले)का युवा नेता मुकेश बुढाथोकी लगायत दण्ड प्रणाम यात्रा गरेर घाटसम्म पुगेका थिए । उनीहरुले घाटमा पुगेर पूजाआराधना गरे । पराजुलीले यात्रालाई २९ वर्षदेखि निरन्तरता दिइरहेका छन् । बुढाथोकीको भने पहिलो यात्रा हो ।




























