
विराटनगर । विराटनगर महानगरपालिका– ७ हरियाली टोलका आनन्दी कामतले लामो समय अरुको सीटी सफारी भाडामा चलाए ।
दैनिक ६ सय रुपैयाँ भाडामा सफारी कुदाउने कामतले बुधबार नयाँ रिक्सा पाएका छन् । जीवन विकास लघुवित्त वित्तीय संस्थाले नयाँ सफारी उपलब्ध गराएको हो । ‘१५ वर्षजति अरुको चलाए । आज आफ्नै भयो,’ सिटी सफारी पाएपछि कामतले भने, ‘२ वर्ष किस्ता तिरेपछि त आफ्नै भइहाल्छ ।’
विराटनगरका गोपाल बर्देवाले ५ वर्ष सीटी सफारी भाडामा कुदाए । जीवन विकास लघुवित्त वित्तीय संस्थाको आर्थिक सहयोगमा नयाँ सफारी पाएपछि उनको आफ्नै सफारी कुदाउने धोको पूरा भएको छ । जीवन विकासले सहज किस्तामा सफारी उपलब्ध गराएपछि सजिलो भएको उनले बताए ।
विराटनगर– १२ का बाबु मण्डल मजदुरी गर्थे । आफ्नै काम गर्ने उनको चाहना पूरा भएको छ । जीवन विकासले बुधबार आनन्दी, गोपाल र बाबुसहित ९ जनालाई यात्रु बोक्ने र १ जनालाई मालसामान बोक्ने सफारी उपलब्ध गराएको छ ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले सफारी हस्तान्तरण गरेका हुन् । सफारी प्राप्त गर्ने परिवारको आर्थिक अवस्था विस्तारै सुधार हुने उनले बताए ।
‘तपाईंहरूको आर्थिक अवस्था सुधार हुन्छ । आम्दानी बढ्यो भने बालबालिकाको पढाइ र घरको अवस्था सबै सुधार हुन्छ,’ उनले भने, ‘हिजोसम्म अरुको चलाउनुहुन्थ्यो । आजबाट आफ्नो काम गर्नुहुन्छ । आफ्नो सफारीको मालिक आजदेखि बन्नुभयो ।’
जीवन विकासले गरिबी, बेरोजगारी र वातावरण संरक्षणको क्षेत्रमा काम गरिरहेको बताउँदै उनले सिटी सफारी प्रयोगले यी तीनवटै समस्याको समाधानमा सहयोग पुग्ने जनाए । बजार क्षेत्रमासफारी भाडामा कुदाउँदा चालकले दैनिक ६–७ सय रुपैयाँ मालिकलाई तिर्ने गरेका छन् ।
जीवन विकासबाट लिएको सफारीको २ वर्षसम्म दैनिक ४ सय ५३ रुपैयाँ किस्ता तिरे सफारी चालककै हुने जीवन विकासको उद्यमशीलता विकास विभाग प्रमुख मनोज शर्माले बताए । उनका अनुसार सदस्यले दैनिक ७ सय रुपैयाँ जम्मा गर्नेछन् । सो रकमबाट ४ सय ५३ रुपैयाँ किस्तामा जम्मा हुनेछ । बाँकी रकम उनीहरुकै बचतमा जम्मा हुनेछ ।
सफारी हस्तान्तरणका लागि गणपति पीजी सप्लायर्सले सहजीकरण गरेको थियो । २४ जिल्लामा १ सय ६० वटा शाखा कार्यालयमार्फत विपन्न परिवारलाई घरदैलोमा पुगेर वित्तीय सेवा प्रवाह गरिरहेको जीवन विकासले उद्यमशीलता विकास अभियानअन्तर्गत २ हजार ५ सय बढी परिवारलाई सीटी सफारी उपलब्ध गराइसकेको छ ।



















