
विराटनगर । विराटनगर महानगरपालिकाले सहकारीलाई व्यवस्थित र अनुशासित बनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
सहकारीका अध्यक्ष र व्यवस्थापकलाई बोलाएर सहकारीका ऐन, नियम, चुनौती, आइपर्ने समस्या समाधानका उपायलगायतका विषयमा विज्ञहरुबाट जानकारी गराउन महानगरले सुरु गरेको छ ।
आइतबार सहकारी व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यक्रमसमेत सम्पन्न गरेको छ । महानगरका मेयर नागेश कोइरालाले कार्यक्रमको उद्घाटन गर्दै केही सहकारीका कारण सम्पूर्ण सहकारी बद्नाम भयो ।
उनले सहकारीको मर्म र भावनाविपरीत केही सहकारी सञ्चालन हुँदा समग्र सहकारी नै बद्नाम भएको बताए । अझ राजनैतिक दलका नेताहरुसमेत सहकारीकाण्डमा मुछिँदा सहकारीप्रतिको विश्वास हट्दै गएले सहकारीप्रतिको विश्वास जागृत गराउनुपर्नेमा उनले जोड दिए ।
प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले आफ्नो कार्यक्षेत्रभित्र रहेर लगानी गरेमा सहकारी कहिल्यै नडुब्ने बताए । उनले समयमै साधारणसभा गर्ने र तोकिएका ऐन कानुनअनुसार सहकारी सञ्चालन गरिए समस्या नआउने दाबी गरे ।
बचतकर्ताबाट संकलित रकम सञ्चालकहरुले घरजग्गा, गाडीलगायतका अचल सम्पत्ति जोड्नतर्फ लागेका कारण सहकारी संकटमा गएको पराजुलीले बताए ।
महानगरको आर्थिक विकास समितिका संयोजक तथा वडा नम्बर १९ का वडाध्यक्ष श्याम घिमिरेले सहकारीलाई व्यवस्थित र अनुशासित बनाउन महानगर लागि परेको बताए ।
उनले सहकारीमा समस्या नआओस् भनेर महानगरले बेला–बेला विभिन्न तालिमसमेत सञ्चालन गर्दै आएको जानकारी दिए । सहकारीको पुँजी सही ठाउँमा लगानी गर्ने र गलत व्यक्तिको हातमा जान नदिने हो भने समस्या नआउने उनले भने ।
महानगरभित्र सञ्चालित १ सय ७२ वटा सहकारीमध्ये पहिलो चरणमा ५८ वटा सहकारीका अध्यक्ष र व्यवस्थापक गरी १ सय १६ जना कार्यक्रममा सहभागी थिए ।



















