देश भनेको चारै दिशा
सिमानाले घेरेको भूगोल मात्रै होइन
देश भनेको जनता हो
भाषा, कला र संस्कृति पनि हो ।
देश मजदुर र किसानको हुनुपर्ने हो
व्यापारी र उद्योगीको हुनुपर्ने हो
अभावको भारि बोकेर
मरुभूमि जान विमानस्थलको
प्रतीक्षालयमा टोलाइरहेका युवाहरूको हुनुपर्ने हो
देश भनेको बाकसमा कैद भएर आएको
छोराको शव बुझेर घर फर्किँदै गरेका
बुवाहरूको हुनुपर्ने हो
जनआन्दोलनका घाइतेहरूको हुनुपर्ने हो
शहीदका सन्नतिहरूको हुनुपर्ने हो
देश भनेको सारा जनताको हुनुपर्ने हो
तर देश नेताहरूको भइरहेछ ।
देशलाई सत्ताको डुङ्गामा राखेर
स्वार्थको बाढीले भरिएको नदीमा
वारपार गराइरहेछन् नेताहरू ।
सत्ताको डुङ्गामा धर्मराउँदै
हल्लिरहेको देश डुब्ने चिन्तामा छन्
सारा जनताहरू
नेताहरू भने हरक्षण
सिंहदरबार र शीतलनिवास पुग्ने
सपना देखिरहेछन् ।
यतिबेला सोचिरहेछु–
देश डुब्ने चिन्तामा
छटपटाइरहेका जनताको हो कि
सत्ताको सपना देखिरहेका नेताहरूको हो
आखिर देश कसको हो ?