उमागौरी सहकारी ठगी प्रकरण : ऋणको दायित्वबाट जोगिन ऋषिकेश पत्नी अदालतमा

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कार्तिक ६, मंगलवार १८:२८

विराटनगर । सहकारीको बचत अपचलन आरोपमा कालो सूचीमा परेकी संघीय संसदको सार्वजनिक लेखा समिति सभापति एवं नेकपा (एमाले)का नेता ऋषिकेश पोख्रेलकी पत्नी अञ्जला कोइराला अदालत पुगेकी छन् ।

मोरङको धनपालथान गाउँपालिकाको कर्सिया बजारमा रहेको उमागौरी कृषि सहकारी संस्थाले लिएको ऋणको दायित्वमा आफू नपर्ने दाबीसहित कालो सूचीबाट नाम हटाउन परमादेश माग गर्दै उनी अदालत पुगेकी हुन् । कोइरालाले उच्च अदालत विराटनगरमा रिट दायर गरेकी छन् ।

तलब खातासमेत रोकिएको विषयमा भने अदालतले असोज र कात्तिकको तलब एवं दसैं भत्ता भुक्तानीका लागि असोज १३ गते अन्तरिम आदेश जारी गरेको छ । मुद्दा चैं विचाराधीन छ ।

‘मासिक रुपमा सरकारीस्तरबाट प्राप्त हुने संवत् २०८१ अश्विन र कात्तिक महिनाको तलब र दसैं खर्च सम्बन्धित निकायबाट प्रेसित भएको र बैंकमा प्राप्त भएको देखिने प्रमाणबाट यकिन गरी उल्लेखित दुई महिनाको तलब दसैं खर्चसम्म रोक्का नगरी निवेदकले भुक्तानी माग्न आए खाता सञ्चालन भएको बैंकबाट भुक्तानी दिने व्यवस्था मिलाउनू,’ न्यायाधीश ममता खनाल र नरेशकुमार चौधरीको इजलासले दिएको आदेशमा उल्लेख छ ।

आरएसडीसी लघुवित्त वित्तीय संस्थाको ऋण चुक्ता नगरेपछि लघुवित्तले सहकारी सञ्चालक समितिका अध्यक्ष शम्भुप्रसाद रौनियार, उपाध्यक्ष दिलमाया राई, कोषाध्यक्ष शम्भुप्रसाद सिंह, सचिव आलम अन्सारी मिया, सदस्य अञ्जला कोइराला, आमोद मण्डल र रोशन राजवंशीलाई कालो सूचीमा राखेको थियो । लघुवित्तबाट ऋण लिने निर्णय गर्दा संस्थाका सबै सदस्यले निर्णय पुस्तिकामा हस्ताक्षर गरेका छन् ।

बैठककाे निर्णय पुस्तिका

ऋण लिइसकेपछि सहकारीबाट कोइरालाले २०७८ माघ ५ गते दिएको राजीनामा १० दिनपछि १५ माघमा स्वीकृत भएको थियो । संस्थाको सञ्चालकबाट राजीनामा दिएका कारण संस्थाको ऋणको दायित्व आफ्नो नहुने कोइरालाको दाबी छ ।

तर, उनीसहित सञ्चालक समितिका सदस्यले २०७७ असोज २८ गते, २०७७ फागुन १३ गते र २०७८ असार २४ गते आरएसडीसीबाट ऋण लिँदाको सञ्चालक समितिको बैठकमा हस्ताक्षर गरेको देखिन्छ । संस्थाको सबै काम अध्यक्षले गर्ने भएकाले ऋण लिनलाई हस्ताक्षर गरेपनि अहिले त्यो दायित्वमा आफू जिम्मेवार नहुने उनको तर्क छ ।

अदालतमा सहकारीको तर्फबाट कालिबाबु कामतले दिएको लिखित जवाफमा पनि राजीनामा गरेका कारण कालो सूचीमा राख्न नमिल्ने भनि लेखिएको छ । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले भने सञ्चाकले दायित्वबाट पन्छिन नमिल्ने दाबी गरेको छ ।

‘विपक्षी (अञ्जला कोइराला)ले निवेदन गर्दा आफूले सहकारीको शेयर सहकारीलाई नै बिक्री गरेको र मिति २०७८–१०–५ गतेका दिन सञ्चालकबाट राजीनामा दिएको र मिति २०७८–१०–१५ गतेका दिन स्वीकृत भएको भनि ब्यहोरा उल्लेख भएपनि ऋण लिँदाको अवस्थामा कबुलीयत गरी ऋण लिने अनि बीचमा ऋणको दायित्व मेरो होइन भन्न मिल्दैन,’ आरएसडीसीले अदालतलाई पठाएको जवाफमा भनिएको छ, ‘सहकारीको शेयर कम्पनीको जस्तो खरिद बिक्री हुने हुँदैन । सहकारीमा भएको बचत निकाली सहकारी छाड्ने व्यवस्था भएपनि आफू बहाल रहेको अवस्थामा बिना धितो लिएको ऋण फरफारक गरे पश्चात जे गरेपनि हुने भएपनि ऋण लिने बेलामा कबुलीयत गरी लिने बीचमा मैले छाडेको कारण मेरो दायित्व होइन छैन भन्न मिल्दैन ।’

अञ्जला कोइराला विराट महेन्द्र रात्रि मावि विराटनगरको शिक्षिका हुन् । लघुवित्तले शिक्षा विकास तथा समन्वय इकाइ मोरङ र विराटनगर महानगरपालिकालाई पनि पत्र लेखेर कर्जा चुक्ता गर्नका लागि सहयोग गर्न आग्रह गरेको थियो ।

२०८० असोज १४ गते आएसडीसीले महानगरलाई पठाएको पत्रमा भनिएको छ ,‘जिम्मेवार पदाधिकारीको हैसियतले वित्तीय संस्थासँग लिएको कर्जा समयमा नै चुक्ता गर्नुपर्ने दायित्व निजको भएकाले त्यस कार्यालय मातहत कार्यरत शिक्षिकालाई वित्तीय संस्थाको कर्जा चुक्ता गर्न सचेत गराइ यस संस्थाको कर्जा असुली प्रक्रियामा सहयोग गरिदिनु हुन सादर अनुरोध छ ।’

लघुवित्तले पठाएकाे पत्र

कोइराला सञ्चालक रहेको बेला सहकारीले आरएसडीसीबाट २०७७ पुस २९ गते ३ करोड कर्जा माग गरेको थियो । त्यसअघि लिएको दुई करोड कर्जा तिरेपछि लघुवित्तले २०७७ फागुन १३ गते सम्झौता गरी २ करोड रुपैयाँ भुक्तान गरेको थियो ।

२०७८ असार १६ गते थप ७५ लाख रुपैयाँ लिएको थियो । गत असोज १० गतेसम्म संस्थाले लघुवित्तलाई तिर्नुपर्ने ऋणको सावाँ ब्याज ३ करोड ४३ लाख ७२ हजार ८ सय ८३ रुपैयाँ छ ।

आरएसडीसी लघुवित्तबाट ऋण लिने व्यवस्थापन भने संघीय सांसद ऋषिकेश पोखरेलले मिलाएको सहकारीनिकट स्रोतले बतायो । सहकारीले आरएसडीसी लघुवित्त, नबिल बैंकसहित अन्य बैंक तथा वित्तीय संस्थाबाट लिएको मध्ये साढे ११ करोड बढी ऋण तिर्न बाँकी छ ।

ती सबै ऋण लिने वातावरण पोखरेलले मिलाएको बताइन्छ । ‘राष्ट्र बैंकमा डेपुटी गर्भनर उहाँको साथी हुनुहुन्छ । राष्ट्र बैंकका कर्मचारीमार्फत भनसुन गरेर ऋण निकालेको हो,’ पोखरेलनिकट एमाले स्रोतले भन्यो, ‘शम्भु उहाँको कार्यकर्ता हो । बैंक तथा वित्तीय संस्थामा उहाँले (पोखरेल) नै पहुँच पुर्याउनु भएको हो ।’

कागजात गायब

मोरङको धनपालथान गाउँपालिका– ४ कर्सिया बजारमा रहेको सहकारीका सञ्चालकले बचतकर्ताको नाममा बैंकबाट ऋण निकालेर व्यक्तिगत कामका लागि प्रयोग गरेको भेटिएको थियो । सस्तो ब्याजमा महिला उद्यमी कर्जा दिलाइदिने भन्दै बैंकबाट सदस्यको नाममा १० लाख कर्जा निकालेर ऋणीलाई २ लाख दिएर ८ लाखसम्म सञ्चालक आफैँले चलाएका थिए ।

नबिल बैंकसँगको सम्झौतापछि उमागौरीले २०७७ सालदेखि महिला उद्यमशील कर्जा दिन थालेको थियो । यो कर्जा लिएका सबै सदस्य सहकारीबाट ठगिएका छन् । ऋणको किस्ता सहकारीमा बुझाएपनि सहकारीले बैंकमा बुझाएन् ।

केही सदस्यले बैंकमा किस्ता तिरिहेका छन् । केहीले भने किस्ता तिरेका छैनन् । सहकारीका कोषध्यक्ष शम्भुप्रसाद सिंहका अनुसार सहकारीले ८५ जनालाई महिला उद्यमशीलता कर्जा लगानी गरेको छ ।

१८ करोड ४९ लाख कूल पुँजी रहेको वासलातमा १७ करोड ८७ लाख ४२ हजार कर्जा तथा सापट लगानी रहेको देखाइएको छ । ५ हजार शेयर सदस्य रहेको सहकारीले फिर्ता गर्नुपर्ने बचत २ करोड ३ लाख ५४ हजार १ सय ५६ रुपैयाँ छ । सदस्य र सञ्चालकको जग्गा धरौटी राखेर सहकारीले बैंक र एउटा लघुवित्तबाट ११ करोड ५६ लाख ७८ हजार रुपैयाँ ऋण लिएको छ ।

लेखा समिति सभापति पोखरेल उमा गौरी कृषि सहकारीबाट आफू पनि ठगिएको बताउँछन् । ‘मेरो मेडमलाई सदस्य बनाएको रैछ । पछि थाहा पाए,’ केही दिनअघि  उनले भनेका थिए ,‘सहकारी पीडितमध्ये एउटा म पनि हो । स्कुल पढाइरहेको मान्छेलाई भाउजू बस्दा सजिलो हुन्छ भन्दै गराए सही (हस्ताक्षर), झुक्याए ।’

२०६८ सालमा स्थापना भएको सहकारीमा ऋषिकेशकी पत्नी अञ्जला दोस्रो साधारणसभाबाट सहकारी सञ्चालक थिइन् । तर, उनी सञ्चालक रहेको कागजात सरकारी निकायबाट गायब छ । प्रदेश सहकारी रजिष्टारमा संस्थाको तदर्थ समितिको विवरण र त्यसपछि कोइरालाले राजीनामा दिएयताको कागजात मात्रै राखिएको छ ।

कोशी प्रदेश सहकारी रजिस्ट्रार कार्यालयका रजिस्ट्रार हरिबहादुर खत्रीका अनुसार कार्यालयमा उमागौरी सहकारी संस्थाको सबै विवरण छैन । सहकारीको कार्यालयमा पनि कागजात नभेटिएको बताउँदै उनले सहकारीको अध्यक्षले कागजात लुकाएको हुनसक्ने बताए ।

clockप्रकाशित मिति:  २०८१ कार्तिक ६, मंगलवार १८:२८
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.