सहकारी ठगीमा जोडिए एमाले नेता ऋषिकेश पोख्रेल, पत्नी कालो सूचीमा

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भाद्र २६, बुधबार १७:३७

विराटनगर । मोरङमा भएको एउटा सहकारी ठगीमा संसदको सार्वजनिक लेखा समितिका सभापति एवं नेकपा (एमाले)का नेता ऋषिकेश पोख्रेल जोडिएका छन् ।

उनी जोडिएको सहकारीमा करिब १२ करोड रुपैयाँ अनियमितता भएको फेला परेको छ । मोरङको धनपालथान गाउँपालिका–४ कर्सिया बजारमा रहेको उमागौरी कृषि सहकारी संस्थामा भएको सहकारी ठगी प्रकरणमा सांसद पोख्रेलको नाम आएको हो ।

Advertisement

२०६८ सालमा स्थापना भएको सहकारी अहिले संकटग्रस्त छ । १८ करोड ५१ लाख रुपैयाँ कूल पुँजी रहेको सहकारीबाट १२ करोड रुपैयाँ हिनामिना भएको छ । यो सहकारीका संचाकलले ऋण लिन आएका सदस्यको सम्पत्ति अन्य बैंकमा धितो राखेर सहकारीको नाममा ऋण निकाल्ने गरेको फेला परेको हो ।

शम्भुप्रसाद रौनियार अध्यक्ष रहेको सहकारीले सदस्यको जग्गा धरौटी राखेर सहकारीको नाममा विभिन्न बैंकबाट ११ करोड ५६ लाख ७८ हजार रुपैयाँ ऋण लिएको छ । बैंकबाट ऋण लिँदा उनले संस्थाका संचालकदेखि सहकारीसँग ऋण माग्ने साधारण सदस्यको जग्गासमेत बैंकमा धितो राखेको देखिन्छ । त्यो रकम सहकारीका अध्यक्षले मनोमानी ढंगले प्रयोग गरेको पूर्वसंचालक बताउँछन् ।

उमागौरी कृषि सहकारी संस्था ।

संघीय संसदको सार्वजनिक लेखा समितिका सभापति पोख्रेल मोरङको निर्वाचन क्षेत्र नम्बर २ बाट एमालेका तर्फबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । त्यो सहकारीको संचालक उनकी श्रीमती (पत्नी)अञ्जला कोइराला पनि थिइन् । तर, पछिल्लो समय उनले छाडेकी छन् ।

सहकारीले अन्य बैंकबाट लिएको ऋण नतिरेका कारण कोइराला अहिले कालो सूचीमा छिन् । सहकारीकै कारण आफू कालो सूचीमा परेको उनले बताइन् । अध्यक्षले मनोमानी गर्दा आफू समस्यामा परेको गुनासो उनको छ ।

स्रोतका अनुसार कोइराला सहकारीको संचालकमा देखाइएकी सदस्य मात्रै हुन् । सम्पूर्ण कारोबार अध्यक्ष शम्शुप्रसाद रौनियारले र उनका पति सांसद पोख्रेलबीचको सल्लाहमा हुन्थ्यो । पोखरेलकी पत्नी अञ्जला कोइराला शिक्षण पेसामा आबद्ध छिन् ।

सहकारीको कारोबारमा उनको हस्ताक्षर मात्रै प्रयोग हुन्थ्यो । संचालकले उनलाई स्कुलमै पुगेर हस्ताक्षर गराउँथे ।

‘उहाँहरुको सहकार्य निकै राम्रो थियो । सहकारी संचालनमा पोख्रेलले उहाँहरुलाई सहयोग गर्नुुहुन्थ्यो । बैंक तथा अन्य संस्थाबाट ऋण निकाल्न र अनुदान दिन उहाँको भूमिका थियो,’ पोख्रेल र रौनियारनिकट स्रोतले भन्यो ,‘सहकारी डुबेपछि भने सम्बन्धमा खटपट छ । रौनियार सार्वजनिक स्थानमा देखिँदैनन् । भागिरहेका छन् ।’ ठगी मुद्दामा ४ महिनाअघि रौनियार केहीदिन प्रहरी हिरासतमा पनि बसेका थिए ।

अञ्जला सहकारी स्थापनादेखि नै जोडिएकी हुन् । २०७५ सालमा जारी भएको सहकारी नियमावलीले संचालक बस्न रोकेपछि उनले राजीनामा दिएकी थिइन् । तर, उनको राजीनामा स्वीकृत भएन । २०७८ सालसम्म नक्कली हस्ताक्षर प्रयोग गरेको उनको दाबी छ । ‘अडिटर’ले भनेपछि प्रश्न गर्दा मात्रै आफ्नो राजीनामा २०७८ मा स्वीकृत भएको उनले बताइन् ।

सो सहकारीले फिर्ता गर्नुपर्ने बचत २ करोड ३ लाख ५४ हजार १ सय ५६ रुपैयाँ छ । बचतकर्ताले बचत फिर्ता मागेपछि अध्यक्ष रौनियार सहकारीको कार्यालय बन्द गरेर हिँडेका छन् । सहकारीमा अहिले ताला लागेको छ ।

सहकारीमा लागेको ताला ।

१८ करोड ४९ लाख कुल पुँजी रहेको वासलातमा १७ करोड ८७ लाख ४२ हजार कर्जा तथा सापट लगानी रहेको देखाइएको छ । सहकारीबाट ठगिएकाहरु न्याय माग्दै प्रदेश सहकारी रजिष्ट्रार कार्यालय पनि पुगेका छन् । उमगौरी सरकारीमा भएको अनियमितता अन्य सहकारीको भन्दा फरक रहेको कार्यालयका निमित्त प्रमुख हरिबहादुर खत्रीले बताए ।

‘ठगी नयाँ प्रकृतिको छ । सहकारीमा ऋण माग्न पुगेका सदस्यहरुको सम्पत्ति बैंकमा राखेर ऋण निकालेको देखिन्छ,’ उनले भने, ‘ऋणीले संस्थामा ऋण बुझाए । संस्थाले बैंकमा नबुझाएको देखिन्छ ।’ खत्रीका अनुसार सदस्यहरु दोहोरो ऋणी भएको देखिन्छ । फरक खालको ठगीको विषयमा उजुरी आएपछि छानबिनका लागि प्रहरीलाई लेखेर पठाइएको जानकारी उनले दिए ।

सहकारी रजिष्ट्रारको कार्यालयमा भएको रेकर्डमा उमागौरी कृषि सहकारी संस्था लिमिटेडको संचालक समितिको ‘डकुमेन्ट’ नै गायब छ । निमित्त रजिष्ट्रार खत्रीका अनुसार २०६८ सालमा सहकारीको तदर्थ समितिको ‘डकुमेन्ट’पछि २०७८ सालको संचालक समितिको ‘डकुमेन्ट’ मात्रै कार्यालयमा उपलब्ध छ ।

१० वर्षको संचालक समितिको विवरण र कागजात छैन । त्यतिबेला सांसद तथा सार्वजनिक लेखा समितिका सभापतिकी श्रीमती सहकारीको संचालक थिइन् । सहकारीले सोही अवधिमा बैंकबाट १२ करोड ऋण लिएको देखिन्छ ।

म पनि पीडित हो : पोखरेल
बचतकर्ता र ऋणीलाई ठगी गरेको उमागौरी कृषि सहकारी संस्थामा जोडिएका पोख्रेलले आफू पनि ठगिएको बताए । रौनियारबाट ठगिएपछि प्रहरीमा जाहेरी दिएको उनको भनाइ छ । ‘मान्छेले दुःख दिनुपर्ने मान्छेमा म एउटा परेछु । इमान्दार हुनु बेठिक भएछ । केही–केही मान्छेले झुक्याए । दुःख दिए । कुरा कानुनी प्रक्रियामा गइसक्यो,’ पोख्रेल भन्छन् ।

ऋषिकेश पोख्रेल 

श्रमती संचालक सदस्य रहेको विषयमा प्रश्न गर्दा भने उनी कड्कीए । ‘उहाँ सञ्चालक रहेको त खै थाहा छैन मलाई । तपाईंहरुले खोजेको चाहिँ किन भन्नुहोस् त यो विषय ? ककसले ऋण लगे त्यो पनि तपार्इंहरु उठाइदिनुहुन्छ ?,’ उनले प्रतिप्रश्न गरे ।

उनले आफ्नो श्रीमतीलाई झुक्याइएको बताए । ‘मेरो ‘मेडम’लाई उसले (शम्भुप्रसाद रौनियारले) सदस्य बनाएको रैछ । पछि थाहा पाएँ,’ उनले भने, ‘सहकारी पीडितमध्ये एउटा म पनि हो । ५ वर्ष भयो छाडेको । स्कुल पढाइरहेको मान्छेलाई भाउजू बस्दा सजिलो हुन्छ भन्दै सही (हस्ताक्षर) गराएर झुक्याए । आफैँ पीडित भएको छु ।’

अध्यक्ष भन्छन् : समस्या समाधन हुन्छ
सहकारी संस्थाका अध्यक्ष शम्भुप्रसाद रौनियारले सरकारीको समस्या सामधान गर्ने प्रयास भइरहेको बताए । सहकारीले लगानी गरेको ऋण नउठेका कारण समस्या भएको उनको भनाइ छ ।

तर, बाहिर हल्ला भएजस्तो समस्या नभएको उनको जिकिर छ । १ कार्यकाल संचालक सदस्य रहेकी पोख्रेल पत्नी अन्जला कोइरालाले राजीनामा दिइसकेको रौनियारको भनाइ छ ।

तपाइको प्रतिक्रिया
झापामा इलेक्ट्रिक स्कुटरको ठक्करबाट तीन महिला घाइते, एक जनाको अवस्था गम्भीर
यस्तो रहनेछ मौसम, कहाँ–कहाँ हुँदैछ वर्षा ?
४६ अर्बको पूर्वपश्चिम सडक धमाधम कालोपत्र
विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?
विराटनगरमा एमएससी विद्यालयस्तरीय टेबलटेनिस प्रतियोगिता
शिक्षामन्त्रीको राजीनामापछि एक महिनादेखिको आन्दोलन फिर्ता
बोलाएको बखत उपस्थित हुने सर्तमा छुटे मुकेश कार्की
स्काउट विघटनविरुद्ध कोशीको विद्रोह, निर्णय फिर्ता नभए आन्दोलनको चेतावनी
पाँच प्रदेशमा सत्ता बाँडफाँट, दुई प्रदेशका लागि थप छलफलको सहमति
अविश्वास प्रस्तावमाथिको छलफलअघि नै मुख्यमन्त्रीको राजीनामा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×