
विराटनगर । सुनसरी र पाँचथरबाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) र नेपालमा प्रतिबन्धित औषधिसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सुनसरीको हरिनगर गाउँपालिका–५ बाट हरिनगर–६ का १८ वर्षीय साहाजित अन्सारीलाई प्रतिबन्धित औषधिसहित पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
सुरक्षा बेसक्याम्प वसन्तपुरको प्रहरी टोलीले शंका लागी चेक गर्दा उनको साथबाट प्रतिबन्धित औषधि ट्रमाडोल १८ हजार ट्याब्लेट फेला परेका र आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
त्यस्तै, पाँचथरको फिदिम नगरपालिका–२ साम्दिनबाट लागुऔषध ब्राउन सुगरसहित एक जना महिला पक्राउ परेकी छन् ।
भोजपुर अरुण गाउँपालिका–५ की २४ वर्षीया अर्चना राईलाई ब्राउन सुगरसहित जिल्ला प्रहरी कार्यालय पाँचथरको टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेकी राईको साथबाट १ सय ३० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । उनलाई जिल्ला प्रहरी कार्यालय पाँचथरमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























