
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताका खेलमा अनलाइनमार्फत सट्टेबाजी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको राजस्थानस्थित श्रीगंगानगर जिल्लाका ३५ वर्षीय रोहित पथरिया रहेका छन् ।
हाल काठमाडौं महानगरपालिका–१७, ठमेलमा बस्दै आएका पथरियालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले पक्राउ गरेको हो ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जारी एनपिएलका खेलमा अनलाइन सट्टेबाजी भइरहेको सूचनाका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो। सोही क्रममा पथरियालाई पक्राउ गरी उनीसँग रहेका दुई थान मोबाइल फोन जाँच गर्दा अनलाइन बेटिङ साइटमार्फत क्रिकेट खेलमा पटक–पटक सट्टेबाजी गरेको खुलेको प्रहरीले जनाएको छ।
कार्यालयका प्रवक्ता एसपी रामेश्वर कार्कीका अनुसार प्रारम्भिक अनुसन्धानबाट पथरियाले एनपिएलका खेलमा अनलाइन बेटिङ साइट प्रयोग गरी कुल ८ लाख ७५ हजार ४० रुपैयाँ बराबरको कारोबार गरेको देखिएको छ।
पक्राउ परेका पथरियालाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–५ अन्तर्गत दफा १२५ (जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने) सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको प्रहरीले जनाएको छ।

























