
कपिलवस्तु । नेकपा माओवादीको महावीर समूहमा रहेका नेताहरुबीच कपिलवस्तुमा चन्दाका विषयलाई लिएर विवाद हुँदा एक जनाको हत्या भएको घटना बाहिर आएको छ ।
महावीर समूहमा रहेका जयप्रकाश यादवको हत्या भएको प्रहरीले जनाएको छ । हत्याको आरोपमा महावीर समूहकै २ जना नेता पक्राउ परेका छन् । नेकपा माओवादीबाट अलग भएको महावीर समूहका जिल्ला नेताबीच चन्दाको विषयमा विवाद हुँदा एक जनाको हत्या भएको पाइएको प्रहरीले जनाएको छ ।
हत्या गरिएका यादव महावीर समूहका कपिलवस्तुको विजयनगर गाउँपालिकाको इन्चार्ज भएको र पार्टीमा उनी परिवर्तन उपनामले चिनिदै आएको प्रहरीको भनाइ छ । यादवको हत्यामा संलग्न आरोपमा पक्राउ पर्नेमा ओखलढुंगाको चिसंखुगढी गाउँपालिकाका ४७ वर्षीय रमेश श्रेष्ठ र कपिलवस्तु वाणगंगा नगरपालिकाकी ४६ वर्षीया मनकला थारू छन् ।
उनीहरूलाई कपिलवस्तु प्रहरीको विशेष टोलीले पक्राउ गरेर शुक्रबार सार्वजनिक गरेको छ । यादवको शव असोज ४ गते कपिलवस्तुको विजयनगर गाउँपालिका–२ भैँसीघाट खोला किनारमा खाल्डोमा पुरेको अवस्थामा फेला परेको थियो ।
घटनाको अनुसन्धान गर्ने क्रममा हत्यामा संलग्न श्रेष्ठ र थारूलाई पक्राउ गर्न प्रहरी सफल भएको कपिलवस्तु प्रहरी प्रमुख एसपी निरञ्जन भट्टले बताए । उनका अनुसार पक्राउ पर्नेमध्ये श्रेष्ठ महावीर समूहको कपिलवस्तु जिल्ला सेक्रेटरी र थारु कपिलवस्तु महिला विभाग प्रमुख हुन्।
प्रहरीका अनुसार मृतक यादवले कपिलवस्तुका विभिन्न क्षेत्रमा अवैध चन्दा संकलन गर्ने गरेका थिए । तर, चन्दा उठाउने गरेको आरोप भने श्रेष्ठमाथि लगाउने गरेको प्रहरीको भनाइ छ । त्यही विवादमा यादवको हत्या भएको प्रहरी बताउँछ । पक्राउ परेकाहरूविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन अनुसन्धान अघि बढाइएको जानकारी एसपी भट्टले दिए ।

























