
रौतहट । सशस्त्र प्रहरीले रौतहटबाट नलकटुवा पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ ।
कटहरिया नगरपालिका–३ का २६ वर्षीय कमोद राम चमार र ४४ वर्षीय नेमालाल साह बानिया पक्राउ परेका हुन् । सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम होमागाईंका अनुसार शुक्रवार साँझ गुजारा नगरपालिका–३ धन्सार गेट नजिकैबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
ज ४ प ९८५८ नम्बरको मोटरसाइकलमा सवार रहेका उनीहरुलाई सशस्त्र प्रहरी बल प्रधान कार्यालय, इन्टेलिजेन्ट ब्युरो र सशस्त्र प्रहरी ११ नम्बर हेडक्वार्टर रौतहटबाट खटिएको टोलीले पक्राउ गरेको हो । पक्राउ परेकाको साथबाट एउटा पेस्तोल र ३ राउण्ड गोली बरामद भएको एसपी होमागाईंले बताए ।
पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ ।

























