ठेकेदारको लापर्बाहीले धरान जोड्ने २ सडक अलपत्र

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कार्तिक ११, आइतबार ११:३९

विराटनगर । ठेकेदार कम्पनीको लापर्बाहीका कारण धरान जोड्ने २ वटा सडक ५ वर्षदेखि अलपत्र परेका छन् ।

कन्यापोखरीदेखि धरान उपमहानगरपालिका–१५ को निराजन बस्तीसम्मको १६.८७ किलोमिटर र महेन्द्रनगरको बांगे, कालाबन्जार हुँदै धरान जोड्ने १३.५ किलोमिटर सडक लुम्बिनी गजुरमुखी जेभीले अलपत्र छाडेको हो । २ वर्षभित्रमा निर्माण गरिसक्नुपर्ने सडकको प्रगति निराशाजनक छ ।

Advertisement

निराजन बस्तीसम्मको सडकको काम १ वर्षदेखि बन्द छ । पहिरो र भेलले भत्किएको सडकमा गाडी गुड्नसक्ने कुरै छैन । स्थानीय कान्छा राई सडक छिटो भत्काइएको र बनाउन चैं ढिलो गरिएको बताउँछन् ।

दिनैपिच्छे धरान ओहोरदोहोर गर्नुपर्दा सास्ती भोग्नु परेको गुनासो उनको छ । खुट्टाको खत देखाउँदै राई भन्छन्, ‘यहाँ धेरैपटक लडियो । ठेकेदारले काम गरेन । भएको पनि गुणस्तरीय छैन ।’

यो सडक निर्माण सम्पन्न भए डाँडा बजार, नाम्जे र पूर्वका विभिन्न पर्यटकीय क्षेत्रबाट धरानसम्मको दूरी छोटिने छ । अहिले भेडेटार हुँदै पुग्नुपर्छ । गोरेटो भएको स्थानमा कोशी प्रदेश सरकारको लगानीमा सडक निर्माण सुरु गरिएको थियो ।

गोरेटो भत्काएर सडक कालोपत्रे सुरु गरिए पनि काम अघि बढेन । अहिले पहिरोले भत्किएर सडक क्षतिविक्षत भएको छ । ‘सडक बनाउँदा–बनाउँदै छाडेपछि ठाउँ–ठाउँमा पहिरोले भत्किएको छ,’ स्थानीय अमर राई भन्छन्, ‘सडकले गाउँको स्वरुप नै बिग्रियो ।’

स्थानीय सम्राट क्षेत्री वातावरणीय अध्ययन बिना नै जथाभावी खनिएका कारण पहिरोले सडक क्षतविक्षत बनाएको बताउँछन् । ‘जथाभावी पहाड खनेर जबरजस्ती गर्न खोजिएको विकासले विनाश निम्त्याएको छ,’ उनले भने, ‘सडक नै काम नलाग्ने अवस्थामा छ ।’

गजुरमुखी जेभीले निराजन बस्तीसम्मको सडक निर्माणको सम्झौता २०७६ साल असोजमा गरेको हो । ३९ करोड २३ लाख ४१ हजार अनुमानित लागत रहेको सडकको निर्माण सम्पन्न गर्ने अवधि २ वर्षको थियो ।

२०७८ असोज १५ गतेसम्मको समयसीमा पाएको ठेकेदार कम्पनीले ५ वर्ष बितिसक्दा पनि ५९ प्रतिशत मात्रै काम सम्पन्न गरेको छ । सडक आयोजना निर्माणका लागि ३ पटक म्याद थप भइसकेको देखिन्छ ।

पछिल्लो थप भएको म्याद अनुसार निर्माण सम्पन्न गर्नुपर्ने समयसीमा २०८२ असार ३० गतेसम्म छ । ‘यो ठेकेदारले ठेक्का लिएर पेटी ठेकेदारका रूपमा अर्काे कम्पनीलाई काम दियो । त्यो कम्पनीले काम गरेन,’ स्थानीय कान्छा राई भन्छन्, ‘मुख्य ठेकेदार सम्पर्कमै आएनन् । अनि कसरी काम हुन्छ ?’ पेटी ठेक्का दिएर ठेकेदार काठमाडौंमा बसेका छन् । गाउँमा चैं उपभोक्ताले सास्ती खेप्नु परेको उनले बताए ।

बांगेदेखि धरान जोड्ने सडकको दुर्दशासमेत उस्तै छ । यो सडक अलपत्र पार्ने ठेकेदार कम्पनी पनि लुम्बिनी गजुरमुखी जेभी नै हो । ५ वर्षअघि निर्माण सुरु भएको यो सडक अझैसम्म अलपत्र अवस्थामा छ । जसका कारण सर्वसाधारण सास्ती खेप्न बाध्य छन् ।

सडकको केही ठाउँमा कालोपत्रे भएको छ । बाँकी धुलाम्य छ । धुलोका कारण सर्वसाधारणको दैनिकी अस्तव्यस्त बनेको स्थानीय सुभाष बस्नेतले बताए ।

‘ठेकेदारले काम नगर्दा जनताले दुःख पाए । ठेकेदार काम नगरी काठमाडौँ बस्छन् । गाउँमा हामीले धुलो खानु परेको छ,’ उनले भने । २ वर्षभित्र निर्माण सक्नेगरी २०७६ भदौ १२ गते यो सडक निर्माणको सम्झौता भएको थियो । ३७ करोड २३ लाखमा ठेक्का लागेको सडकको लागत भेरियसनसहित पटक–पटक म्याद थप हुँदा ४० करोड २७ लाख पुगेको छ ।

करिब ८० प्रतिशत काम सकिएको यो सडकको साइट अझै ‘क्लियर’ भइसकेको छैन । निर्माण क्षेत्रमा पर्ने केही रुख कटान अनुमति नहुँदा ठेकेदारले बहाना बनाइरहेका छन् । स्थानीयले सडक निर्माण नभएको गुनासो गरेपछि ठेकेदार सन्तोष गौतमले भने,‘ हाम्रो समस्या चाहिँ कसले बुझिदिन्छ ? रुख कटान अझै भएको छैन । हामीले कसरी काम गर्नु ?’

 

जंगलका रुख देखाएर काम गर्न नसकेको जवाफ दिएका गौतमले बस्ती र बजार क्षेत्रमा भने काम सम्पन्न भइसकेको दाबी गरे । पेटी ठेकेदारलाई जिम्मेवारी दिँदा काम हुन नसकेका कारण आफैं आएर काम गर्ने उनले बताए । सडक नबन्दा धुलो खान बाध्य भएका स्थानीयको आक्रोश सुनेपछि उनले समयमा नै काम सम्पन्न गर्न नसकेकोमा माफी मागे ।

कोशी प्रदेशका मन्त्री र राज्यमन्त्री सहभागी भएको छलफलमा उनले काम सुरु गर्नका लागि मंसिर ५ गतेसम्मको समय मागे । तर, स्थानीयले असहमति जनाए । कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले समन्वय गरेपछि २ वटा सडकमध्ये एउटाको मंसिर १ र अर्कोको मंसिर १० गतेभित्र काम सुरु गर्ने ‘माइन्यूट’ बन्यो ।

अब ठेकेदारले स्थानीय जनप्रतिनिधिको सम्पर्कमा पुगेर तोकिएकै समयमा काम सुरु नगरे प्रदेशले ठेक्का रद्दको प्रक्रिया अघि बढाउने छ । लुम्बिनी गजुरमुखी जेभीले धरान जोड्ने दुईवटै सडक निर्माणको ठेक्का पाएपछि अन्य ठेकेदारलाई पेटी ठेक्का दिएको थियो । ‘सब कन्ट्याक्टर’ले काम नगर्दा समस्या भएको गजुरमुखीका सञ्चालकसमेत रहेका गौतमले बताए ।

तीन पटकसम्म म्याद थप भएपनि निर्माण सम्पन्न नभएको सडकको अनुगमनका लागि शनिबार मन्त्री राई ठेकेदार प्रतिनिधिलाई लिएर आयोजनास्थल पुगेका थिए । आयोजनास्थलमा स्थानीयको आक्रोश सुनेपछि उनले ठेकेदार प्रतिनिधिलाई सोधे, ‘काम सम्पन्न गर्ने कि सम्झौता रद्द गरौं ?’

आयोजनास्थलमा ठेकेदार प्रतिनिधि गौतमले चाँडै काम सुरु गर्ने जवाफ दिए । त्यसपछि मन्त्रीले भने, ‘मिति तोकौं’ । गौतमले तिहार र छठलगतै कात्तिक २८ गतेबाट काम गर्ने बताए । मन्त्री राईले थप दुई दिन समय भयो भन्दै एउटा सडकको मंसिर १ गतेबाट काम गर्न निर्देशन दिए । आयोजनास्थलमा स्थानीयको उपस्थितिमा लिखित निर्णय भयो, ‘मंसिर १ र १० गतेबाट निर्माण सुरु नगरे ठेक्का रद्द गर्ने ।’

मंसिर १ गतेभित्र निर्माण उपकरणसहित स्थानीय जनप्रतिनिधिको सम्पर्कमा पुग्नुपर्ने समयसमीमा ठेकेदारलाई मन्त्री राईले दिएका हुन् । काम नगरे ठेकेदारलाई कारबाहीको प्रक्रिया सुरु गरिने उनले बताए ।

मन्त्री राई प्रदेशका योजनाहरु अध्ययन गर्दा निक्कै समस्या देखिएको बताउँछन् । पटक–पटक म्याद थप भएको रुग्ण योजना धेरै रहेकाले मन्त्री आफैं निर्णय गर्न आयोजनास्थलमै पुगेका हुन् ।

‘मन्त्रालयमा बसेर निर्णय हुँदैन । यस्ता रुग्ण आयोजना बारे आयोजनास्थलमै निर्णय हुन्छ । मन्त्रालयमा फाइल अध्ययन गर्दै जाँदा सडकको अवस्था देखेपछि हामी आफैं ठेकेदारलाई लिएर आएका हौं,’ उनले भने । उनले रुग्ण २ आयोजनाको अनुगमन र छलफलपछि ठेकेदारलाई दिएको समयभित्र काम सुरु नगरे ठेक्का तोड्ने बताए ।

५ वर्षसम्म काम नसकेको बताउँदै उनले आयोजनास्थलमा ठेकेदारले जनाएको प्रतिबद्धतालाई पर्खिएर बस्ने उल्लेख गरे । तोकिएको समयमा काम नगरे ठेक्का तोडेर ठेकेदार कम्पनीलाई कालोसूचीमा राखिने जानकारी मन्त्री राईले दिए ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.