काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगीमा मुछिएका सबैमाथि अनुसन्धान हुनुपर्नेमा जोड दिएका छन् ।
उनले कांग्रेसका उपसभापति धनराज गुरूङ र एमाले सांसद एवं संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको नाम नै लिएर अनुसन्धान गर्न माग गरेका हुन् । राष्ट्र बैंकका कर्मचारीले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री थापाले ठगी प्रकरणमा जोडिएकाको बकाइदा अनुसन्धान हुनुपर्ने बताए ।
‘कांग्रेसका उपसभापति धनराज गुरूङको संलग्नता सम्बन्धमा बाहिर चर्चा चलेको छ । सहकारीसम्बन्धी संसदीय समितिमा पनि यस विषयमा छलफल भयो । बहस भएकाले थप अनुसन्धान गर्नुपर्छ । म त सरकारलाई यहीँबाट अनुरोध गर्न चाहन्छु । बकाइदा अनुसन्धान गर्नुस्। अनुसन्धान गर्नु पनि पर्छ । एमाले नेता ऋषि पोखरेलको पनि नाम आयो । गर्नुस् अनुसन्धान । यदि गल्ती गर्नु भएको छ भने अभियोजन गर्नुस् र दण्ड दिनुस्,’ थापाले भने ।
ललितपुरको महालक्ष्मीस्थानमा रहेको मितेरी बचत तथा ऋण सहकारी ठगीमा धनराजको नाम मुछिएको छ । मोरङको कर्सियामा रहेको उमागौरी सहकारी ठगीमा ऋषिकेशको नाम जोडिएको छ ।