
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि यात्रामा पहिलो फाइनलिस्ट बन्न आज (मंगलबार) लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो साढे ४ बजे सुरु हुने पहिलो क्वालिफायरमा दुवै टोलीको लक्ष्य जित निकाल्दै सिधै फाइनलमा प्रवेश गर्नु हुनेछ । लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष दुई स्थान हासिल गरेका यी टोलीलाई फाइनल पुग्न एक जित आवश्यक छ ।
लुम्बिनी र सुदूरपश्चिमबीचको मंगलबारको प्रतिस्पर्धा अघिल्ला खेलको नतिजाका कारण पनि रोचक बनेको छ । लुम्बिनीले सुदूरपश्चिमविरुद्ध पछिल्ला दुई भेटमा लगातार जित निकालेको छ । गत संस्करणको फाइनलमा सुदूरपश्चिमलाई पराजित गर्दै उपाधि उचालेको लुम्बिनीले जारी संस्करणको लिग चरणमा पनि ७ विकेटले हराएको थियो ।
दुवै खेलमा लुम्बिनीले सुदूरपश्चिमलाई १०० रनको स्कोरसमेत पार गर्न दिएको थिएन । त्यसैले मंगलबारको खेल जित्दै सुदूरपश्चिमसँगको लगातार तेस्रो जित निकाल्ने अवसर लुम्बिनीसामु छ । यता, अघिल्ला दुई हारको बदला लिँदै फाइनलमा पुग्ने चुनौती सुदूरपश्चिमसामु छ ।
लिग चरणको प्रदर्शन हेर्दा दुवै टोलीबीच खासै ठूलो अन्तर छैन । दुवैले समान पाँच खेल जितेका छन् । सुदूरपश्चिमले दुई खेलमा हार बेहोरेको थियो भने लुम्बिनीले एक खेल मात्र गुमाएको छ । लुम्बिनीको एक खेल वर्षाका कारण रद्द भएपछि उसले एक अंक प्राप्त गरेको थियो । यही अतिरिक्त अंकले लुम्बिनीलाई अंकतालिकामा सुदूरपश्चिमभन्दा माथि राखेको हो ।
मंगलबारको खेलमा विजयी हुने टोली सिधै फाइनल पुग्नेछ भने पराजित टोलीले फाइनल प्रवेशको अर्को अवसर पाउनेछ । त्यसका लागि उसले दोस्रो क्वालिफायरको प्रतिस्पर्धा जित्नुपर्नेछ ।



















